रतन पाण्डे ‘पारतन’-को प्रश्न विचार लोकार्पित

0
1722
कार्यक्रममा सरस्वती बन्दना प्रस्तित गर्दै गायिका सोनु राई।

दार्जीलिङ, 12 जनवरी : युवा  लेखक रतन पाण्डे ‘पारतन’-को कविता सङ्ग्रह प्रश्न विचार सार्वजनिक भएको छ। शनिवार दार्जीलिङ नेपाली साहित्य सम्मेलनको भवनमा आयोजन गरिएको एक साहित्यिक कार्यक्रमबीच आज रतन पाण्डे ‘पारतन’-कृत उक्त कविता सङ्ग्रह कार्यक्रम अध्यक्ष सचेन राई दुमी,  प्रमुख अतिथि डा. कविता लामा र विशिष्ट अतिथि कृष्ण प्रधान र लेखककी आमा शिवकुमारी पाण्डे र अन्यको बाहुलीबाट लोकार्पण गरियो।

साहित्यकार सबिता थापा सङ्कल्पले सञ्चालन गरेको यो लोकार्पण समारोहमा स्वागत सम्भाषण सुमित्रा थामी ‘अविरल’-ले राखेकी थिइन्। लोकार्पित कृति ‘प्रश्न विचार’-माथि साहित्यकार कृष्ण प्रधानले समीक्षात्मक टिप्पणी राखेका थिए भने गायिका सोनु राईले कविता सङ्ग्रहमा समावेश गरिएको र कृतिकै शीर्षक रहेको ‘प्रश्न विचार’ वाचन गरिन्। यसभन्दा अघि सोनु राईले कार्यक्रमको शुरुमै सरस्वती बन्दना गाएकी थिइन्।

छोटो अवधिका लागि आयोजित यो कार्यक्रममा कृतिकारको पक्षमा उनकी छेमा पेम्फा छेत्रीले आफ्नो मन्तव्य राखेकी थिइन्। लेखक इजरायलमा कार्यरत् हुनाले आजको लोकार्पण कार्यक्रममा उपस्थित हुनसकेका थिएनन्। उनले आफ्नो मन्तव्य ‘अनलाइन’-मार्फत् उपस्थित सबैसँग साझा गरेका थिए।

प्रमुख अतिथि डा. कविता लामाले आफ्नो सम्बोधनमा  नयाँ नयाँ कृति प्रकाशित भइरहनु नेपाली साहित्यकै लागि शुभ सङ्केत रहेको बताइन्। साथै उनले प्रश्न विचार कविता सङ्ग्रहका लागि कृतिकार रतन पाण्डे ‘पारतन’-लाई बधाई दिँदै भविष्यमा अझ राम्रा राम्रा कृति प्रकाशनका लागि शुभकामना दिइन्। कार्यक्रमकै अवसर पारेर भर्खरै सिलगढ़ीबाट नन्दी तिवारी स्मृति साहित्य युवा पुरस्कार प्राप्त गरेकी स्रष्टा सुमित्रा थामी ‘अविरल’-लाई वरदान समूहको पक्षबाट सम्मान पनि जनाइएको थियो।

यसअवसरमा दार्जीलिङ तथा सिलगढ़ी क्षेत्रका साहित्यकारहरूलगायत सामाजिक सङ्गठन नमस्ते फाउण्डेशनकी अध्यक्ष पिङ्की विश्वकर्म, सचिव योगिता राई, प्रख्यात चित्रकार सूरज मोक्तान आदिको उपस्थिति थियो। यो लोकार्पण कार्यक्रम वरदान समूहको तत्वावधानमा आयोजन गरिएको थियो। कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नका लागि गायक शङ्कर रायगाइँले पनि गीत प्रस्तुत गरेका थिए।

उल्लेखनीय छ, युवक लेखक रतन पाण्डे ‘पारतन’ वैदेशिक रोजगारीका कारण इजरायलमा रहे तापनि साहित्य लेखनमा आफूलाई सक्रिय राखेका छन्। उनका फुटकर लेखहरू सामाजिक सञ्चालन निरन्तर प्रकाशित भइरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here