सिलगढ़ी, १२ जनवरीःपछिल्लो मङ्गलवारदेखि बेपता बनेका चार्टर्ड अकाउण्टेण्ट किशन अग्रवाललाई पुलिसले उद्धार गरेको छ।
जानकारीका अनुसार सिलगढ़ी र बिहार पुलिसले संयुक्त अभियान चलाएर शनिवार अबेर राति अग्रवाललाई बिहार-उत्तर प्रदेश सीमा गोपालगञ्जबाट उद्धार गरिएको हो।
सिलगढ़ी पञ्जाबीपाड़ानिवासी यी चार्टर्ड अकाउण्टेण्ट मङ्गलवार बिहानै आफ्नै घरबाट बेपता बनाएका थिए। त्यसपछि घरपरिवारलाई अपहरणकारीहरूले फोन गरी 5 करोड़ रुपियाँको माग गरेका थिए।
यसपछि सिलगढ़ी पुलिसले उनको खोजीकार्यलाई तीव्र पारेका थिए। सिलगढ़ी पुलिस कमिश्नरेटको नेतृत्वमा स्पेशल टीम गठन गरी अनुसन्धान र खोजी कार्यलाई थप तीव्र बनाइएको थियो।
यसैबीच चार्टर्ड अकाण्टेण्ट किशन अग्रवालको अपहरणमा संलग्न रहेको आरोपमा पुलिसले चारजना व्यक्ति पनि पक्राउ गरिएको पुलिसले बताएको छ। पुलिसका अनुसार चारैजना आरोपीलाई मुजफ्फरपुर पुलिस थानाअन्तर्गत मोतीनगर क्षेत्रबाट पक्राउ गरिएको हो।
पुलिस सूत्रका अनुसार सिलगढ़ीबाट अपहरण गरी अग्रवाललाई बिहारको भागलपुरमा राखिएको थियो भने पुलिसले त्यहाँ छापामारी गर्ने सूचना पाएपछि उनलाई त्यहाँबाट गोपालगञ्जमा सारिएको थियो।
अपहृत चार्टर्ड अकाउण्टेण्ट अग्रवालको फोन ट्राक गर्दा नियमित अन्तरालमा उनलाई अपहरणकारीहरूले स्थान सारिरहेको पत्तो लागेको पुलिस सूत्रले बताएको छ।
बेपता बनेका अग्रवालसहित पक्रा परेका चारै व्यक्तिलाई सिलगढ़ी पुलिसले आइतवार रातिसम्म सिलगढ़ी ल्याइपुऱ्याइने सम्भावना छ। पुलिसका अनुसार पक्रा परेका आरोपीहरूबाट हातहतियार र ४० लाख रुपियाँ नगद राशि पनि जफत गरिएको छ।