दार्जीलिङ, 12 जनवरीः विमल गुरुङपन्थी युवा मोर्चा सहसचिव सञ्जीव लामाको राजीनामा नगरिने भएको छ। हिजो लामाले विमलपन्थी मोर्चाबाट राजीनामा दिएका थिए।
यद्यपि उनले राजीनामाका कारण भने खुलाएका थिएनन्।
अर्कोतिर, विमलपन्थी युमो केन्द्रिय समितिले स्वीकार नगर्ने निर्णय गरेको कार्यकारी अध्यक्ष नोमन राईले बताएका छन्।
हिजै राति युमो अध्यक्ष प्रकाश गुरुङ, कार्यकारी अध्यक्ष नोमन राईलगायत अन्य शीर्ष नेतृत्वहरूमाझ गहन छलफल गरेपछि नै लामाको राजीनामा स्वीकार नगर्ने निर्णय गरिएको बताइएको छ।
नोमन राईका अनुसार यस विषयमा झट्टै एक सभा डाकेर यो आपतकालीन समस्याको हल निकाल्ने निर्णय लिइएको पनि उनले बताएका छन्।
‘गोर्खा जनमुक्ति युवा मोर्चाका लागि सहसचिव सञ्जीव लामा एक कुशल नेतृत्व मात्र नभएर धरोहर हुन् भन्ने हाम्रो टेक छ’, नोमन राईले थप भनेका छन्, ‘हामी कुनै पनि हालतमा सञ्जीव लामालाई गुमाउन चाहँदैनौँ।’
उल्लेखनीय छ, हिजो सञ्जीव लामाले आफ्नो राजीनामा-पत्र विमल गुरुङलाई पठाएका थिए। यद्यपि पार्टीबाट राजीनामा दिनुका कारण भने उनले खुलाएका छैनन्।