मञ्च सिक्किमले उठायो तीनजना निर्दलीय उम्मेदवार

0
518

गान्तोक, १२ मार्चः आउँदो विधानसभा चुनाउका लागि मञ्च सिक्किमले आज तीनजना निर्दलीय उम्मेदवारका नाम घोषणा गरेको छ ।

मञ्चले घोषणा गरेका तीनजना उम्मेदवार हुन् – कैलाश प्रधान, रूपेन कार्की अनि प्रवीण उप्रेती।

मञ्च सिक्किमले कैलाश प्रधानलाई अप्पर तादोङ, रूपेन कार्कीलाई मल्ली र प्रवीण उप्रेतीलाई याङथाङबाट खडा गरेको छ।

केही सामाजिक सङ्गठनका प्रतिनिधि र प्रगतिशील युवाहरूले खडा गरेको मञ्च हो – मञ्च सिक्किम, जसले राज्यका सामाजिक र राजनीतिक मुद्दालाई उठाउँदै आइरहेको छ।

कैलाश प्रधान

सामाजिक मुद्दामा सधैँ सचेत रहने कैलाश प्रधान एकजना मानिएका वास्तुकार हुन्।

वास्तुकलामा उनको अनुभव लामो छ।

कैलाश प्रधान ती व्यक्ति हुन्, जसले स्मार्ट सिटी योजनाका नाममा राजधानीका रुखहरू कटाइविरुद्ध सिक्किम उच्च न्यायालयमा याचिका दर्ता गरेका थिए। उनी 2021 मा गान्तोक नगरनिगमको चुनाउ पनि लडेका थिए।

रूपेन कार्की

उच्च शिक्षा आर्जन गरेका रूपेन कार्की सिक्किम प्रोगेसिप युथ फोरमसँग सम्बन्धित छन्।

राज्यका सामाजिक, राजनीतिक, आर्थिक बेतिथि र विसङ्गतिविरुद्ध आवाज चर्को बनाउँदै आएका उनी भौतिकशास्त्रमा एमएस्सी गरेका हुन्।

साथै उनले शान्ति अनि द्वन्द्व अध्ययन तथा व्यवस्थापनमा स्नातकोत्तर पनि गरेका छन्।

प्रवीण उप्रेती

प्रगतिशील विचारका प्रवीण उप्रेती युवा सामाजिक अभियन्ता हुन्। सुरुमा सिक्किम प्रोगेसिप युथ फोरमसँग सम्बन्ध रहेका उनी अहिले फोरमबाट छुट्टिएका छन्।

गेजिङ महाविद्यालय भवनको मागमा गरिएको विद्यार्थी आन्दोलनमा अत्यन्त सक्रिय प्रवीण उप्रेती महाविद्यालयबाट निष्कासनमा पनि परेको थियो।

उल्लेखनीय छ, मञ्च सिक्किमले राज्यका अन्य निर्वाचन क्षेत्रबाट पनि निर्दलीय उम्मेदवार उठाउने रणनीति बनाइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here