चियाश्रमिकहरूलाई बन्दावधिको क्षतिपूर्ति दिने ममताको घोषणा, पर्जापट्टा र डीआई फण्डको समस्या जीटीए चुनाउअघि समाधान गर्ने दाबी

0
1165
चोकबजारमा चुनावी जनसभालाई सम्बोधन गर्दै ममता ब्यानर्जी।

दार्जीलिङ , ११ अप्रेल : तृणमूल उम्मेदवार अमरसिंह राईको समर्थनमा दार्जीलिङको चोकबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै तृणमूल सुप्रिमो ममता ब्यानर्जीले आगामी विधानसभा चुनाउमा पहाड़का तीनवटै विधानसभा सीटमा तृणमूलले विनयपन्थी गोजमुमोका उम्मेदवारलाई सघाउने वचन दिइन्।

लोकसभामा गरेको सहयोगको सट्टामा तृणमूल कङ्ग्रेसले विधानसभामा गोजमुमोलाई सहयोग गर्ने उनले स्पष्ट पारिन्। चोकबजारमा भेला भएका बाक्लो जनसमुदायलाई सम्बोधन गर्दै ममताले भनिन्, “लोकसभा चुनाउमा तृणमूलले पश्चिम बङ्गालका ४२ वटै आसनमा जीत गर्नुपर्छ। किनभने दिल्लीमा सत्ता हत्याउनुछ।”

 शुरुमा नेपाली भाषामा ‘तपाईँहरूको कस्तो हुन्छ? तपाईंहरूको बहुमूल्य भोट तृणमूल उम्मेदवार अमरसिंह राईलाई दिएर विजयी गराउनुहोस्’, भनेर आफ्नो सम्बोधन शुरु गर्ने ममताले गोर्खा सेनाको वीरताको प्रसङ्ग पनि उप्काएका थिइन्।

आफ्नो सम्बोधनमा उनले पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा भएको १०४ दिने पहाड़ बन्दको क्षतिपूर्ति दिने घोषणा गरिन्। अहिले आचार संहिता लागू भएको कारण कुनै प्रकारको घोषणा गर्न नसकिने भएको तर मानवताको नातामा दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई बन्दावधिको क्षतिपूर्ति दिने वचन दिइन्।

यसका साथै उनले जीटीए चुनाउअघि नै गोर्खाहरूको सुरक्षा र चिह्नारी सङ्कटको समस्या, चियाकमान र सिन्कोना बगानको पर्जापट्टा र डीआई फण्डको समस्या समाधान गर्ने पनि बताइन्। मुख्यमन्त्री ममताका अनुसार यसका लागि एक रिभ्यु कमिटी गठन गरिसकिएको र रिपोर्ट आएपछि जमिनको सर्वेक्षण गरिने जनाइन्।

आफ्नो सम्बोधनमा उनले भाजपामाथि धेरैपटक कटाक्ष गरिन्। साह्रो गाह्रो पर्दा दार्जीलिङ नआउने भाजपा चुनाउ जितेर भाग्ने गरेको ममताको भनाइ थियो। ‘‘म चुनाउको समय मात्रै दार्जीलिङ पहाड़ आएको होइन’’, चुनाउको समय दार्जीलिङ पहाड़ आउने भाजपाका शीर्ष नेतृत्वप्रति ममताको कटाक्ष थियो।

-म सयौंचोटि दार्जीलिङ आएकी छु। किनभने म दार्जीलिङ पहाड़को विकास, बेरोजगारहरूका लागि रोजगार दिन चाहन्छु’’, तृणमूल सुप्रिमोले थपिन्, ‘‘तर भाजपाले दार्जीलिङ पहाड़ र गोर्खा जातिका लागि के दियो? दार्जीलिङबाट एसएस अहलुवालिया सांसद बने, उनले दार्जीलिङलाई के दिए?’’

उनले मञ्चबाट ‘चौकीदार चोर हो’ –को नारा पनि लगाइन्। साथै मणिपुरबाट आएका भाजपाका उम्मेदवार चुनाउ जितेको खण्डमा फेरि दार्जीलिङबाट हराउने दाबी गरिन्। जसरी अहलुवालिया हराएका थिए।

जनसभालाई विनय तामाङले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here