वरिष्ठ नाटककार लक्ष्मण श्रीमलको निधन, भोलि अन्तिम संस्कार गरिने

0
2542
वरिष्ठ नाटककार लक्ष्मण श्रीमल।

सिलगढ़ी, १२ अप्रेल : वरिष्ठ साहित्यकार एवं नाटककार लक्ष्मण श्रीमल (७६) अब हामीबीच सशरीर रहेनन्। शुक्रबार बिहान लगभग 2 बजे नेपाली नाट्य साहित्यमा एउटा बेग्लै स्पेस बनाएका श्रीमलको निधन भएको हो।

पारिवारिक सूत्रका अनुसार उनी धेरै समयअघि बिरामी थिए। केही दिनअघि उनलाई सिलगढ़ीस्थित निओटियामा भर्ती गरिएको थियो, जहाँ आज बिहान उनको मृत्यु भएको हो। श्रीमलले आफूपछि श्रीमती, एक छोरा र तीन छोरी छोड़िगएका छन्।

प्राप्त जानकारीका अनुसार भोलि (शनिबार) सिलगढ़ीमा उनको अन्तिम संस्कार गरिनेछ। १२  दिसम्बर १९४३ -मा तीनधारेको राजबारीमा जन्मेका उनले सन् १९७४ -मा  घामफूल (लघु उपन्यास) प्रकाशित गरी दह्रोसँग नेपाली साहित्यमा प्रवेश गरेका उनी भारतेली नेपाली नाटक विधाका एक मूल खाँबो नै थिए।

‘कर्फ्यु’ नाटक सङ्ग्रहका लागि सन् २००७ मा अकादमी पुरस्कारद्वारा सम्मानित श्रीमलका लगभग १७ वटा कृति प्रकाशित छन्, जसमा ९ वटा नाटक विधाका कृति छन्।

पछिल्लो समय श्रीमललिखित नाटक सुनको औंठीले अत्यधिक चर्चा पाएको थियो। तीनधारेमा जन्मेका उनी लामो समयसम्म खरसाङमा बसेका थिए। भिक्टोरिया बोइज स्कुलमा शिक्षण पेशामा आबद्ध थिए।

शिक्षण पेशाबाट अवकाश ग्रहण गरेपछि उनी सिलगढ़ीको चम्पासरीमा बसाइँ सरेका थिए। यता, उनको मृत्युले भारतीय नेपाली साहित्यमा पुनः शोकको लहर छाएको छ।

केही दिनअघि मात्र वरिष्ठ साहित्यकार असित राईको निधन भएको थियो। दुई साता नबित्दै भारतेली नेपाली साहित्यले पुनः एकजना वरिष्ठ साहित्यकार गुमाउनुको पीड़ा सहन परेको छ।

श्रीमलका प्रकाशित कृतिहरू

घामफूल (लघु उपन्यास),  श्रीमलका कविताहरू (कविता सङ्ग्रह), प्रणय वेदना (नाटक), वनदेवता (एकाङ्की नाटक सङ्ग्रह),  श्रीमलका नाटक (पूर्णाङ्की नाटक सङ्ग्रह), कर्फ्यु (एकाङ्की नाटक सङ्ग्रह), एउटा परिच्छेदपछि एक नाटक (नाटक), आज परिवेश अल्मलिएका क्षणहरू (एकाङ्की नाटक सङ्ग्रह),  त्यो, जो होइन (एकाङ्की नाटक सङ्ग्रह), म अमूर्त परिवेश हिँड़िरहेको छु (कविता सङ्ग्रह), कथा शेष भएको छैन (रेडियोनाटक सङ्कलन), भारतीय नेपाली एकाङ्की (सङ्कलन र सम्पादन), हर्कजङ्गसिंह छेत्री (व्यक्ति र कृति), भारतीय नेपाली नाटक सञ्चयन, टुङ्गो बेटुङ्गोका कुराहरू (लेख सङ्कलन) र केही भूमिका : केही समीक्षा (लेख सङ्कलन)।

जनसंवाद परिवार साहित्यकार लक्ष्मण श्रीमलको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here