खरसाङ, 12 अप्रेल : “म देशका सेनाका जवानहरूप्रति गर्व गर्छु, तर प्रधानमन्त्री नरेन्द्र मोदीजस्तो सेनाको नाममा भोट माग्दिन”, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रबार भनिन्। उनी खरसाङमा अमरसिंह राईको पक्षमा एउटा चुनावी जनसभालाई सम्बोधन गरिरहेकी थिइन्।
सर्वसाधारणको ठूलो भीड़लाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, “लोकसभा चुनाउपछि गोर्खाहरूको राष्ट्रिय चिन्हारीको समस्यालाई समाधान गर्न एउटा निर्दिष्ट कार्य गर्नेछु। भारतीय सेनामा गोर्खा रेजिमेन्टप्रति म गर्व गर्छु। तर चुनाउको बेला नरेन्द्र मोदीजस्तो म हाम्रा सेनाको नाममा भोट माग्दिन। सेना उच्च तहमा हुन्छ। उनीहरू आकाशका तारा जस्ता हुन्छन्। उनीहरूलाई यति तल झारेर अपमान नगर।”,
यसअवधि ब्यानर्जीले भाजपा र नरेन्द्र मोदीप्रति कटाक्ष पनि गरिन्। महाराष्ट्रमा मङ्गलबार एउटा चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा मोदीले नयाँ भोटरहरूलाई उनीहरूको पहिलो भोट बालाकोट हवाई आक्रमणका जवान तथा पुलवामामा मारिएका शहीदहरूप्रति समर्पित गर्न आह्वान गरेका थिए।
“धेरै पूर्व सेना प्रमुखहरूले यसप्रकारले सेनाको राजनीतिकरण गरिएकोमा विरोध जनाएका छन्। म उनीहरूका विचारलाई समर्थन जनाउँदछु। अमित शाह वा अहलुवालियाहरू आउँछन्, जान्छन् तर हाम्रो रक्षा गर्ने सेनाहरू हाम्रो जीवनका अभिन्न अङ्ग हुन्छन्”, ब्यानर्जीले भनिन्।
दार्जीलिङ लोकसभा समष्टिबाट एसएस अहलुवालिया भारतीय जनता पार्टीका विदाइ सांसद हुन्। दार्जीलिङ संसदीय चुनाउका लागि निर्णायक मतदाता रहेका गोर्खाहरूलाई आह्वान गर्दै ब्यानर्जीले भनिन्, “गोर्खाहरूको पहिचान र गौरवको रक्षा गरिनुपर्छ भन्ने स्थानीय मागको म सम्मान गर्दछु। तपाईंहरूको जातिको रक्षाको लागि तपाईंहरूको निर्दिष्ट मागबारे मलाई थाहा छ। यो न्यायोचित माग हो। हामी बङ्गाली हौं। हाम्रो पनि आफ्नै पहिचान छ। त्यसैले गोर्खाहरूको पहिचानले पनि मान्यता पाउनुपर्छ। यसमा कुनै खराब कुरा छैन।”,
उनले अझ भनिन्,“जब गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को सम्झौता भयो, त्यसबेला मेरो सरकार नयाँ थियो। त्यसभन्दा अघि सम्झौतालाई राम्रोसँग हेर्ने मौका मैले पाइनँ। चुनाउपछि हामी गोर्खाहरूको पहिचानको समस्या समाधान गर्नेछौं अनि गोर्खाहरूलाई उनीहरूका सम्मानित हक दिनेछौं।”
दार्जीलिङ लोकसभाबाट मणिपुरी राजु विष्टको नामाङ्कन भरेकोमा भाजपाको आलोचना गर्दै ब्यानर्जीले भनिन्,“उनीहरूले स्थानीय उम्मेदवार वा भूमिपुत्र दिएनन्, जबकि हाम्रो पार्टीले तपाईंहरूका आफ्नै उम्मेदवार उठाएको छ। तपाईंहरूले दार्जीलिङका यत्तिका मानिसहरूबीच पनि एकजना उम्मेदवार दार्जीलिङमा पाउनुभएन र मणिपुरबाट ल्याउनुपरेको?”,उनले प्रश्न गरिन्।
अमरसिंह राईलाई भोट दिन उनले जनतालाई अपील गरिन्। अहलुवालिया र गोजमुमो नेता विमल गुरुङको आलोचना गर्दै सबैले सङ्कटको बेला दार्जीलिङलाई छोड़ेर भागेको ब्यानर्जीले आरोप लगाइन्।
पहाड़मा शान्ति कायम राख्न आग्रह गर्दै उनले भनिन्,“चिया बगानका श्रमिकहरूको निम्नतम हाजिरा, पर्जा-पट्टाको अधिकार जस्ता मुद्दाहरूमा सरकारले इमानदारीपूर्वक काम गरिरहेको छ।”