25 प्रतिशत श्रमिकसँग चियाकमानमा काम शुरुः अन्योल उस्तै

0
1153

दार्जीलिङ, 12 अप्रेलः सरकारले चियाकमानमा 25 प्रतिशत श्रमिक लगाएर काम शुरू गराउने अनुमति दिएपछि चियाश्रमिकहरू असमञ्जसमा परेका छन्।

काममा जाँदा कतै कोरोना भाइरस सङ्क्रमणको मुखेञ्जी परिँदैन? भन्ने आशङ्का छ।

काममा नजाँदा रोजी नपाउने डर। यसैले वर्तमान समय विशेष चियाश्रमिकहरूको लागि पक्कै अन्योल र असमञ्जसताको माहोल बनेको छ।

आखिर, चियाश्रमिकहरूको अवस्था अझै कति सय वर्षसम्म यस्तै द्विविधाको स्थितिमा अल्झिरहनुपर्ने हो।न न्यूनत्तम रोजीको सुविधा, न ठूलो रकमको व्यवस्था।

दैनिक रोजीको भरमा जीवन धान्न पर्ने चियाश्रमिकहरू आजदेखि फेरि दोधार बन्दै चियाकमानभित्र पस्न बाध्य बनेका छन्।

राज्य सरकारले दुई दिनअघि एक निर्देश जारी गरी चियाकमानहरूमा 15 प्रतिशत श्रमिकलाई काममा लगाउऩ सकिने अनुमति प्रदान गरेको थियो भने हिजो फेरि अर्को निर्देशिका जारी गरी 25 प्रतिशत चियाश्रमिकलाई काममा लगाउऩ सकिने अनुमति प्रदान गरेको छ।

जसका अनुसार नै विशेष चामोङ ग्रुपले आफ्नो अधीनमा रहेका चियाकमानहरूमा आजदेखि काम लगाउन शुरू गरेको छ।

यद्यपि, कामको समय चियाश्रमिकहरूमा सामाजिक दूरी, सफाइ आदिलाई ध्यान दिइएको चियाकमान प्रबन्धनपक्षले बताएको छ।

यस चियाकमानका केही श्रमिकहरूले आफूहरूलाई मास्क प्रदान नगरिएको बताए पनि चियाकमान प्रबन्धनपक्षले भोलिदेखि नै सम्पूर्ण चियाश्रमिकलाई मास्क प्रदान गर्ने भएको बताएको छ।

जसका लागि आवश्यक लुगा ल्याइएको र आज रातिसम्म 400 वटा मास्क तयार गरिने भएको पनि बताएको छ।

चियाकमान प्रबन्धकले आफ्नो नाम प्रकाश नपार्ने शर्त राख्दै यस चियाकमानमा 300 जना श्रमिक रहे तापनि करिब 20 प्रतिशत सधैं अनुपस्थित रहने गरेको बताए।

यसैले जति चियाश्रमिकहरू छन्, उनीहरूलाई 25 प्रतिशतको दरले पालैपालो काममा लगाउने योजना बनाइएको छ।

उनले फर्स्ट फ्लसको चिया आधासरो नै स्वाहा भएको बताउँदै रहल चियाको गुणस्तर पनि शुन्य नै हुने बताए।

उल्लेखनीय छ, दार्जीलिङ पहाड़का चियाकमानहरूमा लगभग फरवरीको अन्तिम सातादेखि 15 मईसम्म फर्स्ट फ्लसको चिया उत्पादन हुन्छ। जसको विश्‍व बजारमा धेरै नै माग र मूल्य छ।

आज आइतबार, तरै पनि किन काम लगाइयो? भन्ने प्रश्‍नको उत्तरमा चियाकमान प्रबन्धकले जनवरीको एक दिन यहाँका चियाश्रमिकहरूलाई अधिक पानी परेको कारण छुट्टी प्रदान गरिएको थियो, त्यो कामको सट्टा नै आज यहाँका श्रमिकहरूलाई काममा लगाइएको हो।

हाल दार्जीलिङ पहाड़मा चामोङ ग्रुपका 13 वटा चियाकमान छन्, जसमध्ये अधिकांशमा आजदेखि चियापत्ती टिपाइको काम शुरू भएको छ।

यसबाहेक जयश्री टी कम्पनी, गुडरिक अधीनस्थ चियाकमानहरूमा भोलिदेखि काम शुरू गरिने भएको छ। हाल जयश्री टी कम्पनी अधीनस्थ तकभर चियाकमानमा 1,636 चियाश्रमिक छन्, जसमा 60 प्रतिशत श्रमिकहरू अनुपस्थित रहेको छ।

यसैले 40 प्रतिशत श्रमिकहरूलाई सरकारको नियमका अनुसार, व्यवस्थित ढङ्गले काममा लगाउन उति गाह्रो पर्नेछैन।

यी 40 प्रतिशत श्रमिकलाई कसरी काम लगाउनुपर्ने हो भन्नेबारे स्थानीय श्रमिक सङ्गठनहरूसित पनि सल्लाह गरिनेछ। यद्यपि, सरकारको निर्देश र अनुमतिमा नै चियाकमानहरूको सञ्चालन शुरू भए तापनि चियाकमान मालिकपक्षले चियाश्रमिकहरूको स्वास्थ्य सुरक्षा, सफाइ आदिमाथि पूर्णरूपले ध्यान दिन आवश्यक छ।

र, प्रत्येक चियाकमानमा सरकारको दिशानिर्देशका अनुसार सामाजिक दूरी पालनसँगै सफाइ र मास्कको पनि उचित व्यवस्था गर्न नितान्त जरूरी छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here