सिलगढ़ी, 12 अप्रेलः चियाकमान खुला राख्ने सरकारी आदेशलाई रातोरात प्रचार गरी भोलिपल्टै श्रमिकहरूलाई काम लगाउने मालिकवर्गले 24 मार्चदेखि लकडाउन भएपछिको पूर्ण वेतन श्रमिकहरूलाई दिनुपर्ने सरकारी आदेशलाई भने किन देखाउँदैन भन्ने प्रश्न जोइन्ट फोरमका सदस्य एवं सिटु नेता समन पाठकले गरेका छन्।
25 प्रतिशत श्रमिकसँग कमान खुला राख्ने राज्य सरकारले हिजो निर्देश जारी गरेपछि यसमाथि प्रतिक्रिया व्यक्त गर्दै पाठकले श्रमिकहरूले पाउनुपर्ने वेतनको कुरा उठाएका हुन्।
यसका साथै उनले पछिल्ला 6-7 दिनभित्र राज्य सरकारले तीनवटा निर्देश जारी गरिसकेको र कोभिड-19 को महामारीलाई रोक्न लकडाउन गरिएको बेला राज्य सरकारले घरी घरी चियाकमान खुला राख्ने निर्देश जारी गरिनु श्रमिकहरूप्रति हेल्चेक्राइ गरिरहेको बताए।
“हिजो 25 प्रतिशत श्रमिकसँग पत्ती टिप्नुपर्ने जुन निर्देश जारी गऱ्यो, त्यसले आज धेरैजसो चियाकमानमा यो निर्देशलाई लागू गर्ने कोशिश गऱ्यो”, उनले थपे, “हाम्रो स्पष्ट भनाइ छ, पहिला 24 मार्चदेखि लकडाउन समयको वेतन दिइनुपर्छ, किनभने वेतन दिइनुपर्ने पनि सरकारको निर्देश छ।”
अर्कोतिर पाठकले 25 प्रतिशत श्रमिकले चियाकमानमा कहाँ र कुन प्रकारले काम गर्छन्, त्यो कार्य पद्धति स्पष्ट पार्नका साथै ती ती 25 प्रतिशत श्रमिकहरूसँगै रहल 75 प्रतिशत श्रमिकहरूको वेतन पनि सुनिश्चित हुनुपर्ने माग गरेका छन्।
यसैगरी श्रमिकहरूलाई काममा लगाउनअघि नै उनीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गरिनुपर्ने, वेतन समयमै दिइनुपर्ने तथा कुनै पनि श्रमिकलाई जबर्जस्तीपूर्वक दबाउ दिएर काममा लगाइन नपाइने पनि उनले बताएका छन्।
सबैभन्दा पहिला चियाकमानहरूले यी कुराहरूका निर्देशिका तयार गरुन्, त्यसपछि मात्र निर्देशिका तयार गरुन्, त्यसपछि मात्र 25 प्रतिशत श्रमिकलाई काममा लगाएर पत्ती टिप्नु काम लगाउन्’’, समन पाठकले भनेका छन्।