अन्तर्राष्ट्रिय नर्स दिवसः अनुभव र अनुभूतिमा केही नर्स

1
1807

कोरोना भाइरसको वैश्विक महामारीबीच अहिले सबैभन्दा जोखिम उठाएर दत्तचित्त र समर्पित भई आफ्नो कर्तव्य निर्वाहन गरिरहेकी नर्सहरूकै लागि सम्मान र समर्पणको दिन हो, १२ मई।

१२ मई अर्थात् अन्तर्राष्ट्रिय नर्स दिवस। अहिले कोरोना कालले नर्सहरूको कर्तव्य, दायित्व, समर्पण, योगदान र बलिदानलाई अझ चहकिलो बनाएको छ।

आजका दिनमा जुन जोखिम उठाएर यी योद्धाहरूले कोरोनाविरुद्ध लड़ाइँ लड़िरहेका छन्, त्यो निश्चय शब्दमा बखान गर्न मिल्दैन। हामी सम्झन र कल्पना मात्र गर्न सक्छौं। किनभने परस्परको सम्पर्कले सारिहाल्ने कोरोनाविरुद्धको लड़ाइँमा उनीहरू नै अग्रिम मोर्चामा छन्। यसैले जोखिमलाई नजिकबाट उनीहरूले देखिरहेका छन्। भोगिरहेका छन्।

कोरोना सङ्क्रमितको उपचारमा उनीहरूले नै अहोरात्र खटिरहेका छन्। ‘प्राइमेरी कन्ट्याक्ट’-को भयलाई आँखीओझेल गरेर कर्तव्य निर्वाहन गरिरहेका छन्। घर-परिवारका माया र सम्झनालाई मन र आँखामा सजाएर बिरामीहरूलाई ‘चाँड़ै स्वस्थ बन्नु पर्छ है ल’ भन्ने ऊर्जा थपिरहेका छन्।

पीड़ा र भयलाई मुस्कानले जितिरहेका छन्। यस्तो गर्नु ठ्याम्मै सहज भने छैन। यस्तो गर्नसक्नु लरतरो कुरा पनि होइन। उल्टै ठाउँ ठाउँमा तिरस्कार र छिःछिः दूर दूर सहिरहेका छन्। माया र सम्मानको सट्टा कति ठाउँमा ढुङ्गा-मूढ़ा पाइरहेका छन्। यद्यपि उनीहरू कर्तव्यमा लीन छन्। आफ्नो ड्युटीदेखि किञ्चित विमुख बनेका छैनन्।

आखिर नर्सहरू भनेकै सेवा र समर्पणको प्रतिमूर्ति हुन्। यसैले अहिलेको यो कोरोना महामारीमा डाक्टरहरूजस्तै नर्सहरूको भूमिका पनि उतिक्कै महत्त्व छ।

आफ्नो ज्यानलाई जोखिममा हालेर नर्सहरू अहिले कोरोना सङ्क्रमित मानिसहरूको उपचारमा तल्लिन छन्। उपचारमा उनीहरूले दिन-रात एक गरिरहेका छन्। किनभने कुनै पनि अस्पतालमा बिरामीको सबैभन्दा नजिकमा  नर्सहरू नै हुन्छन्।

यसैले पनि  मेडिकल सेवा र बिरामीहरूको उपचारमा नर्सहरूको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ।

आज यिनै सेवा र समर्पणको प्रतिमूर्ति नर्सहरूका सम्मानका दिन अन्तर्राष्ट्रिय नर्सेस डेको अवसरमा जनसंवादले विश्वभरिका नर्सहरूको सम्मानमा केही नर्सका अनुभव र सन्देशलाई यहाँ साझा गरिरहेको छ-

(नोटः जनसंवादले छोटो समयमा सम्पर्क गर्नसकेका नर्सहरूको अनुभव र अनुभूतिलाई यहाँ समेटिएको छ। यद्यपि जनसंवाद ती सम्पूर्ण नर्सका त्याग, योगदान, कर्तव्य, सेवा र बलिदानलाई उच्च कदर र सम्मान गर्दछ। सबैमा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना व्यक्त गर्दछ।)

समर्पण र सेवाले जित्नु छः पूर्णिमा थापा (सिस्टर इनचार्ज, खरसाङ अस्पताल)

पूर्णिमा थापा।

अहिलेघरी विश्वभरि कोरोना भाइरसका कारण मानिसहरू त्रसित छन्। कोरोना महामारीले सबैलाई सताएको छ। सबैलाई आफ्नो प्रकोपमा परेको छ। कसै पनि यसबाट अछुत छैन। हामी नर्सहरूका लागि कोरोना महामारी अझ जोखिमपूर्ण बनेको छ। किनभने शुरुमै कुनै बिरामीको सम्पर्कमा आउने हामी नर्सहरू नै हुन्छौं।

यद्यपि हामीअघि ठूलो कर्तव्य र जिम्मेवारी छ, जसलाई जस्तै जोखिममा पनि हामीले निर्वाह गर्नु नै पर्छ। यो नै हामीले हाम्रो पेशालाई दिने न्याय पनि हो। हामीबाट विश्वले सदैव यस्तै कर्तव्य र जिम्मेवारीको आशा राखेको हुन्छ।

आज नर्स दिवसको अवसरमा हामी हाम्रो सेवा र कर्तव्यलाई अझ  दृढ़तापूर्वक निर्वाहनका लागि प्रतिबद्ध र समर्पित बन्ने प्रण गरौं। किनभने सेवा नै हाम्रो धर्म हो।

नर्स हुनुमा गर्व गर्छुः अञ्जली राई (एनबीएमसीएच)

अञ्जली राई।

कोरोना भाइरसविरुद्ध लड़ाइँ जितेपछि मलाई लाग्यो, नर्स हुन त सबैभन्दा ठूलो गर्वको कुरा रहेछ। नर्सिङ पेशाले दिने आत्मसन्तुष्टि अहिले बुझिरहेको छु म।

मलाई लाग्छ, हामी नर्सहरूको कर्तव्य भनेको सेवा हो। सेवाकै कारणले हामी चिनिँदो रहेछौं। कोरोना भाइरसविरुद्ध करिब २० दिनको लड़ाइँप्रति मभित्र यो सेवाको भाव र कर्तव्यप्रति समर्पण अझ दोब्बर बनेको छ। आज अन्तर्राष्ट्रिय नर्स दिवसका दिन म ती सबै नर्सलाई सम्झिरहेको छु, जसले अहिलेको कोरोना महामारीमा निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहेका छन्। कोरोना सङ्क्रमितहरूको उपचारमा बिना डर र सङ्कोच सेवा पुऱ्याइरहेका छन्। अन्तर्राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा म ती सम्पूर्ण नर्सलाई शुभकामना दिँदछु।

कोरोना महामारीलाई जित्ने प्रण गरौं: रेशमा सुन्दास (सिस्टर ट्युटर, एनटीसी जलपाइगढ़ी)

रेशमा सुन्दास।

कोरोना महामारीले अहिले सबैलाई आतङ्कित बनाइरहेको अवस्था छ। यो आतङ्कित अवस्थामा कोरोना भाइरसविरुद्ध लड़्ने हामी फ्रन्टलाइन वारिर्यस हौं। यसैले यसबाट हुने जोखिम पनि हामीले सबैभन्दा नजिकबाट भोग्ने गर्दछौं।

मैले पनि जलपाइगढ़ी अस्पतालमा ड्युटी पर्दा कोरोना भाइरसको आतङ्कलाई नजिक अनुभूत गरेको हुँ।  तर हाम्रो कर्तव्यले त्यो आतङ्कलाई पराजित गर्नै पर्नेछ। हामी नै डराएर कर्तव्य भाग्यौं भने हामीले नर्स हुनुको पहिचान गुमाउने गर्छौं। नर्स हुनु भनेको जस्तै जोखिम र कठिनाइमा पनि सेवालाई निरन्तर दिनु हो। यसैले आज अन्तर्राष्ट्रिय नर्स दिवसको म मजस्तै ती सबै नर्सलाई सम्झिरहेको छु। उनीहरूले अहिलेको महामारीमा अलिकति पनि विचलित नभई पुऱ्याइरहेको सेवामा गर्व महसुस गरिरहेको छु। विश्वभरका नर्सहरूलाई अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। कोरोना महामारीलाई जित्ने हामी सबैले प्रण गरौं।

सुरक्षित बसौं, कोरोनालाई परास्त गरौं: लज्जु छेत्री (सिनियर नर्स दार्जीलिङ जिल्ला अस्पताल)

लज्जु छेत्री।

विश्वले आज कोरोना भाइरसको महामारी झेलिरहेको छ। हजारौंको सङ्ख्यामा मानिसहरू कोरोना भाइरसबाट सङ्क्रमित भइरहेका छन्। सयौंले प्रतिदिन ज्यान गुमाइरहेका छन्।

यस्तो विपदको अवस्थामा फ्रन्टलाइन वारियर्सको योगदान र त्याग अत्यधिक ठूलो छ। विशेषगरी विश्वभरका नर्सहरूले कोरोना भाइरसविरुद्ध ठूलो युद्ध लड़िरहेका छन्। कोरोना भाइरसलाई परास्त गर्नका लागि उनीहरूको योगदान र भूमिका महत्त्व रहेको छ।

हामी नर्सहरूको जीवन कर्तव्य र सेवामा समर्पित हुन्छ। यसैमा बित्छ। आज कोरोना महामारीमा यो सेवा र कर्तव्य अझ महत्त्वपूर्ण बनेको छ। अस्पतालमा जाँच गर्नआउने बिरामीहरूको सम्पर्क सबैभन्दा पहिला नर्सहरू नै आउने गरेकाले आजका दिन विश्वभरि धेरै नर्स कोरोना सङ्क्रमित बनेका छन्। धेरैले यो युद्धमा आफ्नो ज्यानको बलिदान पनि दिएका छन्। धेरैले कोरोनालाई परास्त गरी स्वस्थ बनेका छन्।

यसैले पनि आज अन्तराष्ट्रिय नर्स दिवसको अवसरमा मजस्तै विश्वभरका नर्सहरूका योगदान, सेवा, कर्तव्य र बलिदानलाई स्मरण गर्न अत्यावश्यक ठान्दछु। सबैलाई शुभकामना व्यक्त गर्दछु।

नर्सिङ पवित्र सेवाः रेखा राई (सिस्टर ट्युटर, एनबीएमसीएच)

रेखा राई।

 कोरोना भाइरसको प्रकोपले वर्तमानमा  विश्व नै आतङ्कित भनौं पक्षाघातको अवस्थामा पुऱ्याएको छ। यो महामारीले धेरै क्षति गरिरहेको भए तापनि धेरै कुरा सिकाएको छ।  रोगले कुनै पक्षपात गर्दैन। धनी, गरीब, बलशाली, दुर्बल कुनैको भिन्नता रोगले गर्दैन। रोगले जस्तै कसैको भिन्नता गर्न नजान्ने संसारमा भएको एउटा नाम हो, नर्सिङ।

नर्सिङ पवित्र शब्द अनि यस कार्यमा योगदान दिने सदस्यहरू सम्मान योग्य अवश्यै हुन्। तर बिडम्बना समाजको आँखामा यस पेशमा जुटेका नारीहरूले अहिले पनि तिरस्कार र शङ्कालु  नजरबाहेक अरू केही नपाएका/नरहेका घटनाहरू सुन्न-पढ़न र भोग्न पाउँछौं। रोगीहरूको सेवामा दिन रात एक गरी आफ्नो अनि परिवारको खुशीको सम्झौता गरी लागिपरे तापनि समय समयमा  उनीहरू माथि नराम्रो दृष्टि, अपशब्द,  अनि आरोप नलागेको भने होइन। तर शुरुमै मैले भने नि नर्सिङ शब्द नै पवित्र छ, जसका कारण अनेकौं तिरस्कारपूर्ण शब्द, आरोप पनि रोगीहरूको निरन्तर निःस्वार्थ सेवा पुऱ्याउनअघि बाधा बन्दैनन्।

अन्तर्राष्ट्रिय नर्सेस डे- प्रत्येक वर्ष १२ मईमा विश्वभर मनाइने दिवस। प्रत्येक वर्ष  यो दिवस आउँछ-जान्छ। प्रायः मानिसहरूलाई यस दिवसबारे ज्ञान पनि छैन, अनि खोज्ने र जान्ने कोशिश पनि गर्दैनन्। तर यस वर्षको १२ मई सायद अन्य बितेका वर्षहरूभन्दा बेग्लै होला कि भन्ने मेरो विचार रहेको छ।

रोगीहरूलाई आफ्नो ज्यानको वास्ता नगरी सेवा दिने नर्सहरूलाई सायद अब भने सम्मानको दृष्टिले हेर्लान् कि! सेवा नै धर्म हो भन्ने हाम्रो  मूल मन्त्र। यसैले अन्य धार्मिक अग्रजनले जत्तिकै सम्मान यो सेवा धर्ममा  जुटेका सदस्यहरूले सम्मान, माया र हौसला पाउने हुन् कि!

नर्सिङ एक मर्यादित र सेवा भावनाले प्रेरित पेशा होः विजया सिंह (नर्स खरसाङ अस्पताल)

विजया सिंह।

आज अन्तर्राष्ट्रिय  नर्स दिवस। यस अवसरमा सम्पूर्ण परिसेविका साथीहरू साथै सबैमा हार्दिक बधाई एवं शुभकामना। सन् १९७४ को जनवरी महिनामा विश्व सङ्गठनले फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन अर्थात् १२ मईलाई अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा मनाउने निर्णय गरेको हो। भनौं आज फ्लोरेन्स नाइटिङ्गेलको  जन्म दिन पनि हो। फ्लोरेन्स नाइटिङ्गेललाई आधुनिक नर्सिङ आन्दोलनका  जन्मदाता पनि मान्न सकिन्छ।

दया र सेवाकी प्रतिमूर्ति फ्लारेन्स नाइटिङ्गेल आफ्ना परिसेविकाहरूका लागि प्रेरणाको स्रोत हुन्।  परिसेविका नर्सिङ एक मर्यादित र सेवा भावनाले प्रेरित पेशा हो। नानी, आमा, वृद्ध र रोगीहरूको सेवामा जीवन समर्पित गर्छन्, परिसेविकाहरूले।

यस्तै भावनाहरूबाट प्रेरित भएर आज विश्वभरकै मानिसहरूलाई सङ्क्रमित पारेको कोरोना भाइरसजस्तो महामारीविरुद्ध लड़्न सबै परिसेविका अग्रिम पङ्क्तिमा  रहेर काम गरिरहेका छन्।  हामी परिसेविकाहरू सेवा भावनामा यति समर्पित हुन्छौं, जसका कारण हामी कोरोनाजस्तो सङ्क्रमित रोगीहरूको सेवा गर्न पनि पछि हट्दैनौं।

हामी सबैलाई थाह छ, यो सङ्क्रमित भाइरस हो। तर सेवा एवं त्याग हाम्रो कर्तव्य सम्झेर हामी आफ्नो ज्यानको  पर्वाह नगरी सेवामा समर्पित भएर अघिल्लो पङ्क्तिमा खटिरहेका छौं। यसैअनुसार म स्वयं पनि कोभिड-१९ अस्पतालमा कोभिड-१९ सङ्क्रमित रोगीहरूको सेवा गरेर फर्किएकी हुँ। मलाई मेरा देशवासीको आशीर्वाद एवं शुभकामनाका कारण  यस रोगबाट सङ्क्रमित भइनँ। सेवा  गर्न म कहिल्यै पछि पनि हटिन। विश्वसँगै हाम्रो देशमा आइपरेको यस कोरोना सङ्क्रमणसँग जुझ्न मैले मेरो दायित्व सम्झें।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here