अन्तर्राष्ट्रिय नर्स दिवसः केही फ्रन्टलाइन वारियर्सका अनुभव र अनुभूति

0
1542

कोरोना भाइरसको वैश्विक महामारीबीच अहिले सबैभन्दा जोखिम उठाएर दत्तचित्त र समर्पित भई आफ्नो कर्तव्य निर्वाहन गरिरहेकी नर्सहरूकै लागि सम्मान र समर्पणको दिन हो, १२ मई।

१२ मई अर्थात् अन्तर्राष्ट्रिय नर्स दिवस। अहिले कोरोना कालले नर्सहरूको कर्तव्य, दायित्व, समर्पण, योगदान र बलिदानलाई अझ चहकिलो बनाएको छ।

आजका दिनमा जुन जोखिम उठाएर यी योद्धाहरूले कोरोनाविरुद्ध लड़ाइँ लड़िरहेका छन्, त्यो शब्दमा निश्चय नै बखान गर्न मिल्दैन। हामी सम्झन र कल्पना मात्र गर्न सक्छौँ, किनभने परस्परको सम्पर्कले सारिहाल्ने कोरोनाविरुद्धको लड़ाइँमा उनीहरू नै अग्रिम मोर्चामा छन्। यसैले जोखिमलाई नजिकबाट उनीहरूले देखिरहेका छन्। भोगिरहेका छन्।

कोरोना सङ्क्रमितको उपचारमा उनीहरूले नै अहोरात्र खटिरहेका छन्। ‘प्राइमेरी कन्ट्याक्ट’-को भयलाई आँखीओझेल गरेर कर्तव्य निर्वाहन गरिरहेका छन्। घर-परिवारका माया र सम्झनालाई मन र आँखामा सजाएर बिरामीहरूलाई ‘चाँड़ै स्वस्थ बन्नु पर्छ है’ भन्ने ऊर्जा थपिरहेका छन्। कोरोना सङ्क्रमित बिरामीहरूलाई निको हुनका लागि प्रोत्साहित गरिरहेका छन्। ढाढस दिइरहेका छन्।

पीड़ा र भयलाई मुस्कानले जितिरहेका छन्। यस्तो गर्नु ठ्याम्मै सहज भने छैन। यस्तो गर्नसक्नु लरतरो कुरा पनि होइन। उल्टै ठाउँ ठाउँमा तिरस्कार र छिःछिः दूर दूर सहिरहेका छन्। माया र सम्मानको सट्टा कति ठाउँमा ढुङ्गा-मूढ़ा पाइरहेका छन्। यद्यपि उनीहरू कर्तव्यमा लीन छन्। आफ्नो ड्युटीदेखि किञ्चित विमुख बनेका छैनन्।

आखिर नर्सहरू भनेकै सेवा र समर्पणको प्रतिमूर्ति हुन्। यसैले अहिलेको यो कोरोना महामारीमा डाक्टरहरूजस्तै नर्सहरूको भूमिका पनि उतिक्कै महत्त्व छ।

आफ्नो ज्यानलाई जोखिममा हालेर नर्सहरू अहिले कोरोना सङ्क्रमित मानिसहरूको उपचारमा तल्लिन छन्। उपचारमा उनीहरूले दिन-रात एक गरिरहेका छन्। किनभने कुनै पनि अस्पतालमा बिरामीको सबैभन्दा नजिकमा  नर्सहरू नै हुन्छन्।

उल्लेखनीय छ, अन्तर्राष्ट्रिय नर्सेस डे २०२१-को थीम नै ए भोइस टु लिड.. ए भिजन फर फ्युचर हेल्थकेयर रहेको छ। यो थीमले भविष्यका स्वास्थ्य सेवामा नर्सहरू नेतृत्वकारी भूमिका र योगदानलाई थप महत्त्वपूर्ण बनाएको छ।

यसैले पनि  मेडिकल सेवा र बिरामीहरूको उपचारमा नर्सहरूको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ।

आज यिनै सेवा र समर्पणको प्रतिमूर्ति नर्सहरूका सम्मानका दिन अन्तर्राष्ट्रिय नर्सेस डेको अवसरमा जनसंवादले विश्वभरिका नर्सहरूको सम्मानमा केही नर्सका अनुभव-अनुभूति र सन्देशलाई यहाँ साझा गरिरहेको छ-

(नोटः जनसंवादले छोटो समयमा सम्पर्क गर्नसकेका नर्सहरूका अनुभव र अनुभूतिलाई यहाँ समेटिएको छ। यद्यपि जनसंवाद ती सम्पूर्ण नर्सका त्याग, योगदान, कर्तव्य, सेवा र बलिदानलाई उच्च कदर र सम्मान गर्दछ। सबै नर्समा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना व्यक्त गर्दछ।)

आफ्नो कर्तव्यदेखि नर्सहरू कहिल्यै पछि सर्दैनन्  : सोनाम छोडेन (कम्युनिटी हेल्थ अफिसर, डा. ग्राम्स होम्स सुस्वास्थ्य केन्द्र)

सोनाम छोडेन।

सम्पूर्ण नर्सलाई अन्तर्राष्ट्रिय नर्स दिवस (नर्सेस डे)-को म हार्दिक शुभकामना व्यक्त गर्दछु। नर्सहरू भनेका जस्तै परस्थितिमा पनि समाजका लागि जुझ्न सक्ने अदम्य साहस , सेवा र त्यागका प्रतीक हुन्। आफ्नो कर्तव्यदेखि नर्सहरू कहिल्यै पछि सर्दैनन्। विमुख हुँदैनन्।

अहिलेको वैश्विक महामारीमा हामी नर्सहरूले आफ्ना कर्तव्य पूरा गर्न कुनै असर छोड़ेका छैनौँ। आफ्नो ज्यानको पर्वाह नगरी प्रतिदिन  सबै प्रकारका कर्तव्य पूरा गर्नका लागि निष्ठापूर्वक खटिरहेका छौँ। आफ्न कर्तव्यलाई निष्ठापूर्वक निर्वाहन गरिरहेका गरिरहेका छौँ।

रोगीहरूलाई प्रतिदिन स्याहार सुसार, औषधि आदिको देखभाल, टीकाकरणलगायत घर घरमा गएर बिरामीहरूका जाँच गर्नका साथै उनीहरूलाई घरैमा औषधि उपलब्ध गराउने  कार्य गरिरहेका छौँ।

यो हाम्रो कर्तव्य हो, जुन कर्तव्यलाई पूरा गर्दा हामी आत्मसन्तुष्टि पाउँछौँ। जस्तै विषम परिस्थितिमा पनि हामी कर्तव्य पथबाट विमुख हुँदैनौँ/ हुनेछैनौँ।

म नर्स हुनुमा गर्व अनुभव गर्दछुः  सेविका दियाली (खरसाङ अस्पताल)

सेविका दियाली।

आज अन्तर्राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा म मेरा सबै नर्स दिदी-बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको यो विशेष र महत्त्वपूर्ण दिनमा म आफूले आफैलाई नर्स हुनुको धेरै गर्व अनुभव गर्दछु।

आजको कोरोना महामारीको विकट समयमा हामीले आफ्नो घर परिवारलाई सुरक्षित राखेर पनि आफ्नो कर्तव्य पालनमा कुनै त्रुटिबिना, आफ्नो कार्य गरिरहेका छौँ। प्रतिदिन हाम्रो कोशिश आफ्नो कर्तव्यमा शतप्रतिशत दिन सकूँ। हाम्रो कर्तव्य र सेवाभावमा कुनै कमी नरहोस्।

यसका साथै आजका विशेष दिनमा ती सबै मानिसलाई घरभित्रै बसिदिने, आफै र आफ्नो परिवारलाई सुरक्षित राख्ने पनि अपील गर्दछु।

नर्सहरूबिना स्वास्थ्य सेवाको कल्पना पनि गर्न सकिँदैनः अनुप्रभा छेत्री (उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल)

अनुप्रभा छेत्री।

अन्तर्राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा जम्मै प्रतिकूल परिस्थिति सहेर पनि आफ्नो कर्तव्य निर्वाहनका लागि अग्रिम पङ्क्तिमा अहोरात्र खटिरहने ती सबै नर्सहरूलाई म शुभकामना व्यक्त दिँदछु।

कोरोनाको यो वैश्विक महामारीमा विषम परिस्थितिको सामना गरेरै बिरामीहरूको सेवामा नर्सहरूले सधैँ एकजुटतासँग आफ्नो कर्तव्य पूरा गरिरहेका छन्। कहिल्यै आफ्नो ड्युटीबाट उनीहरू पछि हटेका छैनन्/हट्नेछैन।

कोरोना महामारीका कारण अहिले जुन परिस्थिति सिर्जना भइरहेको छ, सधैँ फ्रन्ट लाइन रहेर कार्य गर्नुपर्ने नर्सहरूले जुन अवस्था सहिरहेका छन्/झेलिरहेका छन्, त्यो सबैले बुझिदिऊन्। महसुस गरिदिऊन्। किनभने कतिपय बिरामी, तिनका आफन्त र अभिभावकहरूबाट नर्सहरूले कठोर वचन र गालीसमेत सुन्नपर्ने/सहनुपर्ने विडम्बना पनि नभएका होइनन्। यद्यपि हामी नर्सहरू ती तुच्छ र कठोर वचनलाई पनि बेवास्ता गरी बिमारीहरूका सेवामा खटिरहन्छौँ। वास्तवमै भन्नु हो भने, नर्सहरूबिना स्वास्थ्य सेवाको कल्पनै गर्न सकिँदैन।

यसैले म संसारभरका ती सम्पूर्ण नर्सहरूलाई आजको यो विशेष दिनमा शुभकामना टक्राउँदछु। यो परिस्थितिविरुद्ध हामी एकजुट भएर लड़ौँ। एकजुट भएरै जित्यौँ।

नर्सहरूका समर्पण र सेवाभाव साँच्चै उदाहरणीय छ: सिर्जना राई (हात्तीमारी ग्रामीण अस्पताल, मालदा)

सिर्जना राई।

शुरूमै म ती सम्पूर्ण नर्समा अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। नर्सहरू भनेका आफ्ना कर्तव्य र रोगीहरूका सेवामा समर्पित भएर हरेक क्षण खटिरहने सेवाका पर्याय हुन्। उनीहरूका कठोर परिश्रम र स्वार्थरहित सेवा मानवसेवाकै लागि हुन्, जसका सेवा र समर्पणका कारण रोगीहरूका मुहार मुस्कान फुल्ने गर्दछ। जीवनबाट हार खाइसकेकाहरू पुनः जिउने उत्साह र ऊर्जा आफूभित्र जगाउने गर्छन्।

विशेषगरी यो महामारीका समय सबै प्रकारका जोखिमहरूसँग जुझेर मानिसहरूका जीवन रक्षाका लागि नर्सहरू जुन प्रकारले आफ्नो कर्तव्यमा तल्लिन छन्, त्यो साँच्चै उल्लेखनीय छ। अतुलनीय छ। त्याग, समर्पण र सेवाका प्रतिमूर्ति नर्सहरूप्रति साँच्चै धन्यवादी हुनैपर्छ।

यो महारामीका समयमा फ्रन्टलाइन वारियर्स (अग्रिम योद्धा) भएर आफैले अनुभव र अनुभूत गरेको कुरा के भने, फ्रन्टलाइन वारियर्सले अहिलेको महामारीसँग जुन प्रकारले लड़िरहेका छन्, त्यो साँच्चै गाह्रो कार्य हो। सजिलो ठ्याम्मै छैन। किनभने एकजना फ्रन्टलाइन वारियर्सले बिरामी र उनीहरूका आफन्तहरूले भोगेका/सहेका पीड़ा शब्दमा वर्णन गर्न सकिँदैन। यस्तो परिस्थिति फेरि फेरि  कहिल्यै नआओस्। एकजना फ्रन्टलाइन वारियर आफ्ना घर परिवारबाट टाढ़ा रहेर सम्पूर्ण जोखिमसँग जुझेर जहिल्यै आफ्ना कर्तव्यमा दृढ़सङ्कल्पित रहन्छन्। सेवा र समर्पणका यो भाव साँच्चैकै उदाहरणीय छ। फेरि पनि म अन्तर्राष्ट्रिय नर्स दिवसका उपलक्ष्यमा सप्पै सप्पै नर्सहरूलाई शुभकामना व्यक्त गर्दछु।

कोरोना महामारीको सामना गर्नु कति गाह्रो छः सिनोरा राई (उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल)

सिनोरा राई।

अन्तर्राष्ट्रिय नर्स दिवसका यो विशेष र महत्त्वपूर्ण दिनमा आज यो कोरोना महामारीसँग जुझिरहेका ती सम्पूर्ण नर्सहरूलाई सम्झिरहेको छु। उनीहरूले झेलिरहेका जोखिम र सङ्घर्षलाई नजिकबाट अनुभूत गरिरहेको छु। किनभने म पनि उनीहरूजस्तै नर्स हुँ। कोरोना महामारीसँग लड़िरहेको फ्रन्टलाइन वारियर हुँ। यसैले म संसारभरका ती सम्पूर्ण नर्सहरूलाई अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।

नर्सिङ स्कूलका विद्यार्थी हुँदा महामारीबारे पढ़ेका थियौँ। त्यतिबेला भविष्यमा यस्तो महामारीको सामना गर्न पर्छ भन्ने कहिल्यै लागेको थिएन। तर, पछिल्लो वर्षदेखि  जुन प्रकारले कोरोना महामारीको जसरी सामना गरिरहेका छौँ, त्यो कतिसम्म गाह्रो र पीड़ापूर्ण हुन्छ भन्ने मैले व्यक्तिगत रूपमा के कुरा अनुभव गरेको छु। यसको डर र जोखिम कतिसम्म हुँदो रहेछ, त्यसलाई म आफैले सामना गरेको छु।

सीमित संसाधनसँग सधैँ अग्रिम पङ्क्ति उभिएर कोरोनाविरुद्ध लड़िरहेका नर्सहरूको सङ्घर्ष, दृढ़ता र  समर्पण कतिसम्म छ भन्ने कुरालाई विश्वले बुझिसकेको छ। नर्सहरूका त्याग र आफ्नो कर्तव्य पालनप्रतिको इमानदार सबैले अनुभूत गरिसेकका छन् भन्ने मलाई लाग्छ।

पछिल्लो वर्ष कोविड वार्डमा कोरोना सङ्क्रमित बिरामीहरूको स्याहार सुसार गर्दा जति डर लागेको थियो, त्योभन्दा बढ़ी डर यसपालिको दोस्रो लहरमा लागेको छ। किनभने यसपालिको अवस्था र स्थिति केही डरलाग्दो छ। यसैले पनि म एकजना नर्सका रूपमा यो विशेष दिनमा मानिसहरूलाई घरभित्रै सुरक्षित बसिदिने, मास्क उचित प्रकारले लगाइदिने, बिनाकाम घरबाट बाहिर ननिस्किदिने, भीड़भाड़ भएका ठाउँहरूतर्फ जानबाट जतिसक्दो जोगिने अपील गर्न चाहन्छु। किनभने यो महामारीको रोकथामका लागि सम्पूर्ण मानिसले सतर्क रहन अत्यावश्यक छ। सबै सजग भए मात्र यो महामारीलाई रोक्न सकिन्छ।

यसैले सम्पूर्ण जोखिम झेलेर घर-परिवारबाट टाढ़ा बसेर, डरलाई पर पन्साएर दिनरात आफ्नो कर्तव्य पालनमा लागिपर्ने ती सम्पूर्ण नर्सहरूलाई पुनः एकपटक म अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।

नर्सहरूका लागि आज विशेष दिन होः सफिरा लेप्चा (उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल)

सफिरा लेप्चा।

अन्तर्राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा मलाई नर्सिङ शिक्षा दिने ती सम्पूर्ण गुरु र शिक्षण संस्थानप्रति म आभार प्रकट गर्दछु। साथै अन्तर्राष्ट्रिय नर्स दिवसको सम्पूर्णलाई शुभकामना व्यक्त गर्दछु।

कर्तव्य, सेवा र समर्पणका परिचायक मानिने नर्सहरूका लागि आज विशेष दिन हो। वर्तमानमा कोरोना महामारीविरुद्ध लड़िरहेका नर्सहरूका लागि आजको दिन उनीहरूका सेवा कर्तव्य र त्याग र समर्पणलाई नजिकबाट नियाल्ने दिन पनि हो।

नर्सिङ स्कूलका शुरुमा दिनको प्रश्नै नर्सिङ के हो भन्ने थियो। तर बिस्तारै समय बित्दै जाँदा नर्सिङ के हो, नर्सहरूका कठोर परिश्रम, सेवा, कर्तव्य, अनुशासन, समर्पण के के हुन्, यसका निर्वाहनका लागि कतिसम्म तत्पर रहनुपर्छ भन्ने कुरा पनि बुझ्दै आएका हौँ। आज आफू नर्स हुनुका बेग्लै आत्मसन्तुष्टि छ। गर्व छ।

हामीले आफूलाई हृदयबाटै हेरचाह गरौँ, हाम्रो सेवाबाट मानवता झङ्कृत होस्, अरूलाई राम्रो व्यक्ति बन्न प्रेरित गरौँ, हाम्रो पेशालाई माया गर्न सकौँ, अरूबाट स्वीकृतिको आशा नगरौँ, बरू आफैलाई स्वीकार गरौँ। हामी नर्सहरूले आफ्ना कार्यहरूबाट समायोजन गरेका अनुभव वास्तवमै यही हो भन्ने मलाई लाग्छ। हाम्रो सामूहिक स्वर यही बनोस्।

अन्त्यमा कोरोना महामारीको यो विकट समयमा सम्पूर्ण प्रतिकूल परिस्थितिहरूको सामना गरिरहेका आफ्नो कर्तव्यमा एकचित्त सम्पूर्ण नर्सहरूलाई फेरि पनि अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना व्यक्त गर्दछु।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here