दार्जीलिङ, 12 जून : ‘भारतीय जनता पार्टी (भाजपा) बङ्गाल विभाजनको पक्षमा छैन’ भन्ने मुकुल रायको बयानको समाचारलाई दार्जीलिङका सांसद राजु विष्टले झूटो र प्रायोजित बताएका छन्।
बङ्ग्ला समाचार-पत्रले छापेको उक्त समाचारमा आफ्नो समेत नाम उल्लेख गरिएको, तर आफूलाई भने यसबारे आफूलाई भने कुनै जानकारी नरहेको विष्टको भनाइ छ। पछिल्लो लोकसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-को समर्थनमा ऐक्यबद्धता जनाउने दार्जीलिङ पहाड़का विभिन्न राजनीतिक पार्टीलाई लिएर बुधवार दार्जीलिङमा एक सर्वदलीय सभा सम्पन्न भयो।
उक्त सभा सकिएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विष्टले ‘भाजपा बङ्गाल विभाजनको पक्षमा छैन’ भन्ने बयानको स्पष्टीकरण दिए। उनले उक्त ‘प्रायोजित र झूटो समाचार’ समाचार छाप्ने बङ्ग्ला समाचार -पत्रको नाम नलिई उक्त समाचार पत्रले राज्यसत्ता र यसका पृष्ठपोषकहरूलाई सहयोग पुर्याउनका लागि ‘प्रायोजित’ रूपमा छापेको पनि दाबी गरे।
“मुकुल रायको बयान आएपछि मैले उनीसँग कुरा गरे। उनको नाम उल्लेख गरेर एउटा बङ्ग्ला समाचार-पत्रले बयान छाप्यो। त्यसमा मेरो पनि नाम उल्लेख गरिएको छ। मैले के भने, त्यो मलाई नै थाह छैन”, सांसद विष्टले भने। विष्टको दाबीका अनुसार गोर्खाल्याण्डसम्बन्धी मुकुल रायको बयान 2013 सालको हो। जतिबेला उनी तृणमूल कङ्ग्रेसमा थिए। यो बयानका लागि उक्त पत्रिकाले न त मुकुललाई ‘कन्फर्मेशन’ गर्यो। “2013 -को बयान निकालेर आज न्युज बनायो। र तुरुन्तै त्यो बङ्ग्ला समाचार-पत्रले समाचार छाप्यो र एकघण्टाभित्र नेपाली भाषामा अनुवाद भएर तत्कालै पहाड़मा वितरण भयो”, सांसदले थपे, “त्यसपछि उक्त बयानमाथि जीटीए र गोजमुमो नक्कलीका नेताहरूले बयान दिन शुरु गरे। उक्त न्युज ‘फेक’ हो। न मैले त्यस्तो कुनै बयान दिएको छु, न त मुकुल रायले दिएका छन्। मैले मुकुल रायसँग कुरा गर्दा उनले ‘म गोर्खाको सम्मान गर्छु। र दार्जीलिङ पहाड़को स्थायी समाधानका लागि हामी मिलेर काम गर्नुपर्छ’ भनेका छन्। मुकुल रायको यो कुरा मलाई सबैभन्दा राम्रो लागेको छ।”
यद्यपि उनले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक स्थायी समाधान गोर्खाल्याण्ड नै हो भन्ने कुराको घुमौरो उत्तर दिएका छन्। यसका साथै सांसदले जीटीए चुनाउबारे आफ्नो बयानको स्पष्टीकरण दिए।
उनले भने, “यसपालिको चुनाउमा तृणमूल कङ्ग्रेस समर्थित विनय तामाङपन्थी गोजमुमोको ठूलो हार भयो। हामी चाहन्छौं, उनीहरू (विनयपन्थी मोर्चा)-ले जीटीए भङ्ग गर्नुपर्नेछ। वास्तवमा जीटीएमा बस्ने उनीहरूसँग कुनै अधिकार नै छैन। जीटीएको कुर्सीमा चुनाउ भएर बसेका मानिसहरू छैनन्। ममता ब्यानर्जीले चयन गरेका मानिसहरू जीटीएमा छन्। यस्ता मानिसहरूले जीटीएमा राज गर्नु अन्याय हो। यो कानूनविरुद्ध हो। जीटीएको कुर्सीमा जनताले निर्वाचित गरेका मानिसहरू बस्नपर्नेछ।”
सांसदले थपे, “विनय-अनितहरूले म्युजिक चियरजस्तै कुर्सी साटी साटी बसिरहेका छन्। अस्ति एकजनाले जीटीएका राज गरे, अहिले अनित थापा छन्। आज उनीहरू सबैमा हारे तापनि जब त्रिपक्षीय वार्ताको हामी कुरा गर्नेछौं, त्यसबेला ममता ब्यानर्जी र तृणमूलले जीटीए ‘हामीसँग छ’ भनेर देखाउने गर्छन्। यदि जीटीएको चुनाउ चाँड़ै गराए, जीटीएको चुनाउमा पनि उनीहरूलाई पराजित गरी देखाइदिन्छौं। र पहाड़का जनता तृणमूल, विनय-अनितसँग छैनन् भन्ने प्रमाण गरेर देखाइदिनेछौं। यसै प्रमाणका लागि जीटीएको चुनाउ हुनुपर्छ भनेर मैले भनेको हुँ।”
गठबन्धनमा रहेका पार्टीहरूका लागि चुनाउ अनिवार्य र आवश्यकीय नरहेको तथा जीटीएको चुनाउ होस् भन्ने पनि नचाहेको, औ पहाड़को समस्याको दीर्घकालीन समाधानका लागि अघि बढ़्ने निर्णय लिएको पनि उनले बताए। यद्यपि विनय-अनितले जीटीए भङ्ग गर्नुपर्ने सांसद विष्टले दोहोर्याए।
अर्कोतिर उनले आजको बैठकमा ‘न्यूनतम साझा मुद्दा’-माथि मिलेर काम गर्ने तथा गठबन्धन कम्तीमा पाँच वर्षसम्म यथावत राख्ने कुरामा सहमत भएको बताए। विष्टले चुनाउमा जनतालाई दिएका वाचाहरू सबै मिलेर यो पाँचवर्षभित्र पूरा गर्न काम गर्ने विषयमा एकमत भएको पनि बताए।
यसका साथै अहिले गोर्खाल्याण्डका लागि पोस्टर टाँसिरहेको विनय तामाङपन्थी गोजमुमोका नेताहरू साँच्चै दार्जीलिङ पहाड़को समस्याको दीर्घकालीन समाधान चाहन्छन् भने आफूहरूसँग मिलेर काम गर्नसक्ने बताए। अर्कोतिर पत्रकार सम्मेलनलाई विधायक नीरज जिम्बाले पनि सम्बोधन गरे।