कालेबुङ, १२ जूनः कालेबुङ जिल्लामा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणका मामिला प्रतिदिन बढ़्दै गइरहेको छ।
यसैक्रममा आज पुनः चारजना नयाँ मामिला थपिएको छ। कालेबुङकी जिल्लापाल आर विमलाका अनुसार यी चारजना सङ्क्रमितमध्ये तीनजना गोरुबथान खण्डका तथा एकजना कालेबुङ खण्ड २ -का हुन्।
उनका अनुसार सङ्क्रमितमध्ये तीनजना युवती र एक युवक छन्।
तीनैजना युवती गोरुबथान खण्डअन्तर्गत् निम बस्ती, दालिम बस्ती, र गोरुबथान फरेस्ट बस्तीका हुन्। उनीहरूका ट्राभल हिस्ट्री चेन्नई, मुम्बई र दिल्ली रहेको बताइएको छ।
त्यसैगरी कालेबुङ खण्ड –दुईका कोरोना सङ्क्रमित युवक पेदोङ प्राथमिक स्वास्थ्य उपचार केन्द्रअन्तर्गत गीतडाब्लिङनिवासी हुन्। उनी केही दिनअघि चेन्नईबाट फर्केका थिए।
जिल्लापालका अनुसार पछिल्ला ६ जूनका दिन यी चारैजनाको स्वाब टेस्टको नमूना सङ्ग्रह गरी टेस्टका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) पठाइएको थियो भने आज उनीहरूका टेस्ट रिपोर्ट पोजिटिभ आएको हो। जानकारीका अनुसार उनीहरूको रिपोर्ट पोजिटिभ आए तापनि कुनै लक्षण भने देखिएको छैन् अर्थात् उनीहरू एसिम्प्टोमेटिक कोरोना सङ्क्रमित रहेका छन्।
उल्लेखनीय छ, पछिल्लो २ जूनयता कालेबुङ जिल्लामा एकपछि अर्का गरी कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ।
हिजो मात्र गोरुबथान खण्डअन्तर्गत विभिन्न गाउँका ११ जना र कालेबुङ हाट बजारनजिक रेली रोडनिवासी एक युवती गरी कुल १२ जना कोरोना सङ्क्रमित बनेका थिए।
अहिले जिल्लामा एक्टिभ केस ३२ रहेको छ भने पछिल्ला २ जूनयता १० जना स्वस्थ भई घर फर्किसकेका छन्।