केही छुटसँगै सिक्किममा बढ़ाइयो लकडाउन

0
1008

गान्तोक, 12 जूनः सिक्किम राज्यमा केही छुटका साथ लकडाउनलाई आउँदो 21 जूनसम्मका लागि बढ़ाइएको छ।

सिक्किम सरकारको गृह विभागले आज  एउटा निर्देशिका जारी गरी यसबारे जानकारी गराएको छ।

यसपल्टको लकडाउनमा यात्रीवाहक वाहनदेखि लिएर निजी र सरकारी वाहनहरूको अन्तरराज्य आवगमनमा प्रतिबन्ध नै लगाइएको छ।

सबै प्रकारका वाणिज्यिक वस्तुहरू ओसार-पसार गर्ने  मालवाहक वाहनहरूलाई भने अन्तर राज्य आवगमनको अनुमति प्रदान गरिएको छ।

यसरी नै एक-जिल्लादेखि अर्को जिल्लामा व्यक्ति, यात्रुवाहक वाहन, निजी वाहन र सरकारी वाहनको आवगमनलाई बन्द राखिएको छ। यद्यपि सेना, सुरक्षाकर्मी, वाणिज्यिक वस्तु ओसार-पसार गर्ने वाहन, पेट्रोलियम उत्पाद, स्वास्थ्य विभाग, पुलिस र अग्निशमन विभागसँगै अन्य आपत्कालीन सेवाका वाहनलाई भने प्रतिबन्धबाट बाहिर राखिएको छ।

जिल्लाभित्र सबै यात्रुवाहक एवम् सरकारी वाहनलाई अड-इभनको नियमअनुसार चलाचल गर्नसक्ने अनुमति दिइएको छ भने दुईचक्के सवारी साधनमा भने एकजनालाई मात्र अनुमति छ।

शपिङ कम्प्लेक्स र शपिङ मलबाहेक सबै लाइसेन्सधारी दोकानहरू, वाहन शोरूम, अटो ग्यारेज, टायर रिपेयर दोकानहरू बेलुकी 5 बजीसम्म खुल्ला राख्न सकिने अनुमति प्रदान गरिएको छ।

निजी व्यापारिक केन्द्रहरू पचास प्रतिशत स्टाफको साथमा सञ्चालन गर्न सकिनेछ भने होम डेलिभरी सामग्रीहरू पनि बेलुकी 5 बजीसम्म सञ्चालन गर्न सकिने निर्देशिकामा उल्लेख छ।

सबै जिम, सेलुन, स्पा, पार्लरले पनि बेलुकी 5 बजीसम्मलाई 50 प्रतिशत स्टाफका सञ्चालन गर्नसक्नेछन्।

यसैगरी सबै रेस्टुरेन्ट, फास्ट फूड सेन्टर, मिठाई दोकान, बेकरिज आदिलाई बेलुकी 8 बजीसम्म पचास प्रतिशत सिट राखेर सञ्चालन गर्नसक्ने बताइएको छ।

सिनेमाघर, डिस्को, स्विमिङ पुल, मनोरञ्जन उद्यान थिएटरलाई भने सञ्चालनको अनुमति छैन।

धार्मिक एवम् राजनीतिक भेलाहरू प्रतिबन्धित छ। मलामीमा बीसभन्दा बढ़ी मानिसलाई भाग लिने अनुमति छैन।

स्थानीय श्रमिक लगाएर निजी निर्माणका कामहरू भने गर्न सकिनेछ भने एमजी नरेगाको काम गर्नका लागि भने सम्बन्धित बीडीओको रिपोर्टअनुसार ताजा कोविड रिपोर्ट नआएका वार्डहरूमा जिल्लापालले अनुमति दिनेछ।

कृषि र बागवानीसित सम्बन्धित सबै काम गर्ने अनुमति छ।

सबै फार्मास्युटिकल कम्पनी 100 प्रतिशत स्टाफका साथ कोविड निर्देशिकालाई पालनसहित सञ्चालन गर्न सकिनेछ।

अन्य कारखाना एवम् उत्पादन केन्द्रले भने पचास प्रतिशत स्टाफका साथ सञ्चालन गर्नसक्नेछन्।

सबै सरकारी कार्यालय पचास प्रतिशत स्टाफका साथ सञ्चालन हुनेछन्।

यहाँ कोविड 19-को निर्देशिकालाई कडाइका साथ पालन गरिएको हुनुपर्नेछ।

आपत्कालीन सेवाबाहेक प्रतिदिन राति 9 बजीदेखि बिहान 6 बजीसम्म मानिसहरूको साथै वाहनहरूको आवगमन प्रतिबन्धित छ। रात्रि कर्फ्युमा वाणिज्यिक मालवाहक वाहनहरूलाई भने लोडिङ-अनलोडिङका लागि अनुमति दिइएको छ।

65 वर्षदेखि माथिका व्यक्तिहरू अनि दश वर्षमुनिका बालक-बालिकाहरू साथै गर्भवती महिलाहरूलाई भने सङ्क्रमणको जोखिमबाट बच्न घरमै बस्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here