एक पर्यटकको शव बरामद

0
1513
इनोभा दुर्घटनामा मृत्यु भएका पर्यटक अमन गर्ग ।

सिलगढ़ी, 12 जुलाई : बुधवार बाघपुलनजिक इनोभा दुर्घटना हुँदा टिस्टा नदीमा बेपता बनेका तीन पर्यटकमध्ये एक पर्यटकको शव शुक्रवार अपराह्न  बरामद भएको छ। बुधवार अपराह्नदेखि लगातार खोजीकार्यपछि आज एउटा शव जलपाइगढ़ीको गजलडोबास्थित टिस्टाबाट बरामद गरिएको हो।

अस्ति अपराह्नदेखि बेपता बनेका तीन पर्यटक र एक चालकसहित वाहनको खोजीमा एनडीआरएफ, पुलिस र स्थानीय राहत एवं बचाउँ टोलीहरू लगातार जुटेका छन्। एकजना पर्यटकको शव बरामद भए तापनि अन्य तीनजना अझै बेपता बनेका छन्।

यसैबीच बरामद शव अमन गर्गको रहेको परिवारका सदस्यहरूले चिह्नित गरेका छन्। उनी राजस्थान कोटा निवासी हुन्। पुलिसले शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाएको छ। यद्यपि लगातार परिरहेको पानीको कारण टिस्टाको जलस्तर बढ़िरहेकोले खोजी कार्यमा समस्या उत्पन्न भइरहेको छ। आज बिहान पनि मुसलधारे पानी परेको कारण खोजीकार्य केही घण्टा बाधित बनेको थियो।

उल्लेखनीय छ, तीन पर्यटक बोकेर सिलगढ़ीबाट गान्तोकतिर गइरहेको डब्ल्यूबी 73 ई 2940 नम्बरधारी इनोभा बाघपुल नजिक दुर्घटनामा परी सोझै टिस्टा नदीमा खसेको थियो। त्यसपछि वाहनमा सवार, अमन गर्न, गौरव शर्मा र गोपाल नरवानी गरी तीन पर्यटक तथा वाहनका चालक राकेश राई बेपता बनेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here