कालेबुङ, 12 जुलाई : सिक्किम र कालेबुङलाई सिलगढ़ीसँग जोड़्ने राष्ट्रिय राजमार्ग 10 -मा करिब 40 घण्टापछि वाहनहरूको आवागमन सुचारू भएको छ। बिहीवार बिहानै कालीझोड़ा नजिक सेती झोड़ामा गएको ठूलो पैह्रोको कारण राजमार्गमा यातायात पूर्ण रूपले ठप्प बनेको थियो। आज बेलुकी 6 बजीदेखि राजमार्गमा यातायात खोलिएको हो। यद्यपि सड़कमा थुप्रिएको पैह्रो पूर्ण रूपले हटाइ नसकिएको पनि बताइएको छ। बाटो बन्द भएपछि हिजो बिहानैदेखि राजमार्गका दुवैतिर वाहनहरूको लामो ताँती लागेको थियो।
पैह्रो हटाउने काममा हिजैदेखि विभागका तीनवटा जेसीबी मशिन खटिएका थिए। आज बिहान केही क्षण मुसलधारे पानी परेपछि पैह्रो हटाउने काम रोकिएको थियो। तर पानी रोकिएसँगै विभागले फेरि पैह्रो हटाउने कार्यमा विभाग जुटेको थियो। जानकारीका अनुसार आज बिहान परेको पानीले पनि सेतीझोड़ामा हिजै पैह्रो गएकै ठाउँमा पैह्रोे झरेको थियो। पैह्रो पूर्ण रूपले हटाउन नसकिए पनि थुप्रिएको पैह्रोलाई केही सम्याएर वाहनहरू गुड़्ने सक्ने बाटो खोलिएको छ। विभागले पैह्रो हटाउने कार्य भने जारी राख्नेछ। यसैबीच आज धेरै यात्रुहरू ट्रान्सिप गरी सिलगढ़ी गएको पनि देखियो।
विभागका कार्यकारी अभियन्ता अनुप मैतीले यसबारे बोल्दै भने, “आज जाममा फँसिएका वाहनहरू राहत दिनका लागि सड़कमा थुप्रिएको पैह्रोलाई सम्याएर यातायात सुचारु गरेका हौं। यदि मौसमले साथ दिएको खण्डमा भोलि हामी पूर्ण रूपले पैह्रो हटाएर सड़कका दुवैतर्फबाट वाहनहरूको आवागमन सुचारु बनाउनेछौं।”
अर्कोतिर आवश्यकीय कार्यका लागि सिलगढ़ी-गान्तोक तथा सिलगढ़ी-कालेबुङ यात्रा गरिरहेका मानिसहरूले बिरिक डाँड़ाबाट लाटपञ्चर हुँदै कालीझोड़ा भएर यात्रा गरे। अधिकतर वाहनहरू यसै मार्ग भएर गुड़ेका थिए भने केही केही वाहनहरूले टिस्टाबाट जोरबङ्ग्लो निस्केर खरसाङ निस्केर सिलगढ़ीको यात्रा गरे।
उल्लेखनीय, पछिल्लो एक सातादेखि लगातार परिरहेको पानीको कारण गएका साना-ठूला पैह्रोले घरी घरी बाधित बनिरहेको राष्ट्रिय राजमार्ग-10 बिहीवार दिनभरि ठप्प रहेको थियो, जसको कारण यात्रुहरूले अत्यधिक समस्या भोगेको थिए।
कालीझोड़ा नजिक सेतीझोड़ामा गएको ठूलो पैह्रोको कारण सिक्किम-कालेबुङलाई सिलगढ़ीसँग जोड़्ने राष्ट्रिय राजमार्ग-10 हिजैदेखि पूर्ण रूपले ठप्प बनेको थियो। पैह्रो सेतीझोड़ामा मात्र झरेको होइन, तर काली मन्दिर र सेभोक पुलिस आउटपोस्ट नजिक पनि झरेको थियो। यद्यपि यी दुई ठाउँमा झरेको पैह्रो ससानो रहेकोले विभागले हिजो दिउँसै हटाएर उल्लिखित दुई ठाउँमा राजमार्ग सफा गरेको थियो। तर, सेती झोड़ाको पैह्रो ठूलो र लगातार झरिरहेकोले पैह्रो हटाउने कार्यमा विभागलाई समय लागेको थियो।