राम्रै खालको कथा

0
1527

सञ्जीव छेत्री

बिहानभरि ठूलो, मुसलधारे पानी परेकै दिन पारेर हिँड़िछ त्यो।

निकै बेरसम्म खोजिबस्यो बूढ़ाचाहिँले एक्लै। फेरि भाइचाहिँलाई भन्यो।

दाजु र भाइ भएर र एक छिनमा चाल पाएपछि बहिनी र बुहारी पनि भएर यताउता खोज-तलाश गरे।

अलि बेरमा, गाउँका एक-दुई छिमेकी मान्छेहरूले पनि थाहा पाएपछि पत्तो लाग्यो- ‘गतिलै एउटा पोको बोकेर जाँदै गरेकी थिइछ।’ – बाटोमा, घरको अलि तल भेट्नेहरूले भन्दा।

‘‘कल गरिहेर न।’’- कसैले भनेपछि नम्बर डायल गऱ्यो बूढ़ाचाहिँले।

‘‘अघिदेखि गरेको। लाग्दैछ लाग्नु त।’’ – भन्यो।

नोकियाको ‘एन’ मेटिएर पढ्दा ओकियामात्र भएको फोनबाट सात-आठचोटि फोन लाउँदा पनि कुनै प्रतिक्रिया नभएपछि- ‘‘अहँ, उठाएन। उठाउँदै उठाउँदैन।’’ भनेर हाल्यो गोजीभित्र।

‘‘आमालाई र छेमालाइम् गरेँ। गा’कै हैन रैछ त्याँम्।’’ – ससुरालीमा पनि सोधेको रहेछ अघि नै।

सम्भाव्य सबै जान सकिने र जाने गरेका आफन्तहरूसँग सोधखोज गरिसकेपछि बहिनी र बुहारीले भने-

‘‘बाझेको थियो?’’

‘‘अहँ।’’- भन्यो उसले। अलिलि ठाठाकठुठुक परेको त अस्तिकै महिना- सम्झ्यो।

* * *

एउटा अनौठो मनस्थितिसँग उसको दिन शुरू भयो अब।

‘‘अर्कोसँग त गएन?’’- एक मनले सम्झ्यो। र त्यसैलाई अर्को मनले पछ्याइपठायो। फेरि एक छिनमा सप्पै मनले त्यसैलाई पछ्यायो।

‘‘फोन पनि कम्ती हैन। आउनु पनि आउनु…’’ अघि रनबहादुर बडीले भनेको सम्झिपठायो।

अचानक सम्झ्यो धेरैवटा नाम। एकेक गर्दै-केटाहरूको, अधबैँसे, विवाहित, अविवाहितहरूको। एउटा नाम र अनुहारमा आइपुगेपछि टक्क अडियो ऊ। धेरैचोटि उसका घरतिर आइरहने त्यस पच्चीस-छब्बीसको केटाको नम्बर छ कि छैन- हेऱ्यो फोनमा।

‘‘एइ कहाँ छस् अहिले?’’- फोन गऱ्यो।

‘‘मो घरमै छु। किन?’’ – जवाब आयो।

‘‘आइज है एता।’’ – भन्यो र सम्झ्यो – ‘आयो भने के गर्नु?’

‘‘भ्याएँ भने।’’ – उताबाट भनेपछि उसलाई पनि एक खालको ढुक्क भयो।

नआएकै राम्रो जस्तो मान्यो उसले।

‘‘खाजा खानु आउनू है दाजु।’’ – बुहारीले बोलाई।

‘‘ल ल।’’ – भन्यो र अर्कोसँग भाग्नुको सम्भावनाबाट स्वास्नीलाई तानिनिकाल्यो। हाल्यो अब अर्को सम्भाव्यताभित्र- ‘कतै बेच्नेहरूले फकाई-फुस्लाई त पारेन?’

यत्तिबेला चाहिँ उसलाई आफूभित्र केही खसेको र मन गह्रौं भएको अनुभव टड्कारोसँग आभास भयो।

त्यो बडीले भनेको ‘फोन गर्ने’ कतै केटी बेच्ने पो हो कि – सम्झेर तर्सियो ऊ। झस्को परयो।

के गरूँ गरूँ भयो उसलाई।

फोन झिक्यो।

रिङ लाग्यो। लागिबस्यो।

उठाएन कसैले।

‘हैन त्यसो हो भने त फोन स्वीचअफ हुनुपर्ने।’

– सम्झेर सान्त्वना दियो आफैलाई।

‘न कतै फ्याँकिराखेको छ।’

– सम्झेर तर फेरि आत्तियो।

यिनै द्विविधा र अन्तरद्वन्द्वमा लीन ऊ हुँदाहुँदै पहिलो कक्षामा पढ्दै गरेको छोरो आइपुग्यो। नजीकै स्कूलबाट खाजा खान।

‘आ, जेसुकै भइबसोस्।’ – सम्झेर खालातखुलुत पारिपठायो अहिलेसम्मका सोचाइ र छोरोलाई मूलघरतिर लिएर हिँड्यो – खानेकुरा खान।

‘‘हाम्रोमा किन नपकाको बाबा?’’- भरै खाइसकेर घरमा आइवरी स्कूल जाने बेलामा सोध्यो नानीले।

‘‘आमा उता गाको छ कि, मैले भ्याइनँ नि त अन्त।’’ – भनिदियो।

‘‘मामाकोमा? ए।’’ – सोधेर आफै आश्वस्त पनि भइहालेर स्कूलतिर लागिहाल्यो छोरो।

रन्दाको धार निकालेर उध्याउन थाल्यो ऊचाहिँ।

खासै कस्तो घटना हो यो र कस्तो प्रतिक्रिया प्रदर्शन गर्नुपर्ने? – नजानेको जस्तो हुँदै गरेको उसले – आरा पनि झिक्यो उसका हात-हतियार बोक्ने झोलाबाट र रेती लाउन शुरू गऱ्यो।

‘‘के गर्दैछस् माइला? आजु गोइनस् काममा?’’ – बाटो परेकोले त्यतैबाट आएका नरबहादुर बडाले सोधिहाले उसलाई।

‘‘गोइनँ हौ बडा।’’ – नहेरी उसले भन्यो।

नउभोस् र बात नगरोस् बडाले जस्तो लागेको थियो साँच्चै सरासर गयो बूढ़ो।

ढुक्क मान्यो उसले।

अघि आउने र चाल पाउनेहरूले के भने होलान् उसलाई? के सोचिराखेका र कुरा गरिराखेका होलान् उसका परिवारका बारेमा? – लाग्यो अहिले उसलाई।

‘बेसी नै छुट दिएछु।’ – भन्यो आफैसँग।

‘‘दुःखम् त केइ थेन। के थ्यो र दुक्ख?’’ – माइली बडीले अघि भर्खर भनेकोलाई दोहोऱ्यायो।

‘अघि बिहानसम्म कस्तो राम्रो थियो’ – आफैले आकलन गरयो उसले।

कुन-कुन ठाउँमा कतिबेला प्वाल पर्छ जिन्दगीमा, कसैले जानिनसक्नु – भन्ने लाग्यो उसलाई।

‘प्वाल पनि कस्तो – ह्वाङ्गै दुलो।’ – गनगनायो।

‘एकपल्ट फोन उठाएम् त हुन्थ्यो।’

– अझै सुर्ता लागिबसेको छ। निकालेर त्यही फोन फेरि डायल गऱ्यो उसले उसलाई नभनी सुइत्त हिँड़ेकी स्वास्नीको नम्बर-

‘उठाउनु नि एकपल्ट त…’ नउठाउँदा फोन – उसले फेरि सोच्यो।

फेरि लगायो। लाग्यो। उठाएन कसैले। उध्याउँदै गरेको हतियार थन्कायो।

‘दुई पो बजिसकेछ गाँठे!’ – भन्यो आफैसँग। ‘घाँस एक त्यान्द्रो छैन गोठमा।’

हँसिया निकालेर दैलो बन्द गरिवरी घुरेनबाट हरियो लहलह उसकी स्वास्नीले रोपेकी सिमी बारीबीच हुँदै पल्लो बारीतिर लाग्यो ऊ।

निकै गाह्रो उसलाई भइराखेकै हो यतिबेला। सोच्न, काम गर्न, निर्णय लिन। सपनामै जस्तो ऊ काम गरिरहेको भएको छ।

‘किन गएको होला? कता गएको होला? कोसँग गएको होला?’ – प्रश्नहरूमै अल्झिबसेको आहत लोग्ने भएको छ ऊ यत्तिबेला।

एकपल्ट रिसाएर उता माइत पुगेपछि भने सालोको फोन आएको सम्झ्यो। पोहोरको कुरा। अप्ठ्यारो मान्दै उठाएको उसले फोन। सालोले भन्यो- ‘‘दिदी आइपुग्यौ है भेना, नसुर्ताउनू।’’

यसपल्ट भने पटक्कै फोन नउठाउनुले, एउटा नमिठो र नराम्रो आशङ्काले मनमा बिस्तारै एउटा गाढ़ा दाग दुःखाइरहेछ उसको।

प्रतिपल एउटा गह्रौंपना बढ्दै गइरहेछ ऊभित्र।

जसोतसो एकपल्टलाई हाल्नु पुग्ने घाँस काटिसकेर गोबर सोहोऱ्यो अनि घरतिर हिँड्यो ऊ।

ऊभित्रको द्वन्द्व र आशङ्काको मुस्लोले अब भने पुरै विकराल स्वरूप लिइसकेको थियो भन्ने अब उसका अनुहारभरि डम्मै भइसकेको थियो।

भए नभएका कुरा मनमा खेलाउँदै आँगनमा आइपुगेको उसले अचानक स्कूललबाट ट्युशनसमेत पढ़ेर आइपुगेर सेतो सर्ट र टाइमात्र खोलेर लुगा सुकाउने अग्लो तारमा झुण्ड्याएको र एउटा प्लास्टिकको नयाँ खेलौना बन्दुक ट्यार-ट्यार बजाउँदै कुदिरहेको छोरा देख्यो।

उसले नसोचेको दुईवटा झोला पनि दैलोको अलि परतिर पानीले नभिज्ने गरी घरको पेटीमा टाँसेर राखेको उसको मिस्त्री काम गर्ने काठको घोड़ामाथि राखेको पनि देख्यो।

हतार-हतार उसले सोध्यो-

‘‘कोल्ले ल्याइदेको?’’

‘‘आमाले।’’ – ट्याररर पाऱ्यो त्यो बन्दुक बाउपट्टि ताकेर।

के भनुँ-भनुँ, के गरूँ-गरूँ भयो उसलाई।

‘‘खोई आमा?’’

‘‘टोइलेटमा।’’

पाइखानाको ढोका खुल्यो। स्वास्नी निस्की।

‘‘काँ गा’कोथ्यौ?’’ – रिस पनि भएको र अधिकार पनि भएको भाकामा सोध्यो। लोग्नेले स्वास्नीलाई।

‘‘गत्तिलो पोका बोकेर पो जाँदैथ्यौ हरे त?’’ – पनि थप्यो।

‘‘बजार हौ। खै चाबी दिनु।’’ – उसको प्रश्नलाई टार्न चाहेकी जस्तो लाग्यो उसलाई।

चाबी निकालेर आफै दैलो खोल्यो।

भित्र पसेपछि पनि उसलाई डङ कि डङ सोध्छु जस्तो लागेका कुराहरू बरर निस्केनन् मुखबाट उसको।

‘‘पोकामा चैँ के थियो?’’ – फेरि सोध्यो उसले।

आफैलाई हाँस-हाँस उठेको जस्तो पनि भयो ऊ यो सोधिसकेर।

स्वास्नीचाहिँ उतापट्टि के के गर्दै थिई।

‘‘लु भन्नु, के थ्यो होला?’’ – उसले उतैपट्टिबाट भनी।

‘‘कोन्तनी।’’ – झोँक्कियो। नराम्रो-नराम्रो भनुँजस्तो लाग्यो उसलाई। तर भनेन।

‘‘लिनु चिया।’’- चिया पकाएर, सिँगड़ा पनि ल्याइदिएकी रहिछ बजारबाट। सिँगड़ा मन पराउने बूढ़ालाई। दुईटै दिई।

‘‘खान्नाँ मो। कोस-कोसले किन्देको सिँगड़ा।’’ – भन्यो।

‘‘नबौलाऊ है। मान्छेले सुन्यो भने के भन्छ?’’

‘‘मान्छेले के भन्छ? भनिसक्यो बाबु मान्छेहरूले त। आबो कुन मुख पो देखाउनु उनारूलाई।’’

लज्जा, ग्लानि, रिस, आक्रोश, पराजयजस्ताहरूसित यो थियो।

‘‘कोल्ले के भन्यो?’’ – स्वास्नी।

‘‘औ, चोरको ठूलो सोर नगर है। अहिले…..’’

‘ट्याररर’ – छोरो बन्दुक बजाउँदै कोठामा पस्यो। बाउको रिस रोकियो।

आमाले दिँदै गरेको चकलेट पनि नथापी फेरि त्यो ट्यार-ट्यार पार्दै कुदिगयो।

‘‘हन के भयो हौ आजु तिमीलाई? एस्तो रिस त देखाउँथेनौ त।’’

– भनिसक्न पनि स्वास्नीले राम्रो नपाई उसले भन्यो-

‘‘त्यै रिस नदेखाएर त तैँले मेरो टाउकोमा टेकिस् त।’’

अब भने यो रूपको लोग्नेलाई कहिले नदेखेको स्वास्नीचाहिँलाई स्थिति नराम्ररी बिग्रिँदै गएको राम्ररी थाहा भयो।

सधैँ त्यति खोजीनिती नगर्ने लोग्नेलाई उसले चाहिँदो कुराहरूमात्र बताउने गरेकी हो।

आज भने तर उसको लोग्नेलाई ठूलै आघात परेको बुझी।

‘हिजै भन्नुपर्ने थिएछ।’ – सम्झी।

‘‘मो काँ गा’को थेँ भनेर सोधेको हैन?’’ – भनी उसले।

बूढ़ा बोलेन।

‘‘इः यो गर्नु।’’ – ग्रामीण ब्याङ्कका नयाँ दुईवटा पासबुक निकालेर लोग्नेको अघिल्तिर राखिदिई। हेऱ्यो।

‘‘पोका बोकेर जानुपर्छ अन्त एकाउन्ट खोल्नु चैँ?’’ – फेरि भन्यो।

‘‘तिम्रो बाजे केको पोका-पोका गरिबस्छ। अलैँची लगेको हैन क्याउ बेच्नु।’’ – हाँसी – ‘‘घरिम् पोका, घरिम् पोका।’’ – पनि भनी। हाँसी।

भुक्क नै परिबसेर पनि मुसुमुसुचाहिँ हाँस्यो त्यो।

‘‘काइँला सरकोमा मन्थली राखेको आठ हजार पान सौमा आठ हजार र अलैँचीको पैँतीस सौ गरेर जम्मा साँड़े एघार हजारमा छः हजार हाम्रो नाममा र पाँच हजार पान सौ नानीको नाममा हालेको छु।’’

– सन्तुष्ट स्वास्नी त्यसबेला।

‘‘तिमीलाई त जत्ति भनेम् त्यै त हो। – सरकोमा पनि मैले राखेर त हो।’’ – भन्दै एउटा सिँगड़ा टिपेर लोग्नेलाई खुवाइदिई। आँ गरेर आधा टोक्यो पनि उसले। रहेको आधाबाट एक गाँस उसले पनि टोकी।

‘‘मलाई चैँ किन नभनी गाको अन्त?’’ – बूढ़ाले सोध्यो।

‘‘झुक्काएर तर्साइदिऊँ भनेको थिएँ नि।’’- हाँसी त्यो।

‘‘औ सुन त।’’ – सामान्यप्रायः भइसकेको लोग्नेले बिस्तारै सोध्यो-

‘‘म त प्रायः काममा गइहाल्छु। तिमीलाई क-कसको फोन आउँछ भन त।’’

स्वास्नी तीन छक परी। ‘के भन्नुपर्ने’- पनि उसमा सुद्धि नरहेको जस्तो उसले भनी- ‘‘किन?’’

‘‘हैन अरूरूले के के भन्दोरैछ नि त। आजुम् भन्दैथ्यो।’’

स्वास्नीलाई एउटा सरल लोग्नेले गह्रौं पारिदियो।

‘‘अब कसको भन्नु? नाम-नम्बर चेक गऱ्यो भने थाहा भैहाल्छ त। किन अर्काको कुरा सुनिबस्नु? उता घरबाट आउँछ, तिम्रो आउँछ, बेसी त कम्पनीकै आउँछ।’’

-बिस्तारै संयमित भएर भनी उसले। अनि गनगनाई। मुरमुरिई-

‘‘उनारूको फोन छैन अन्त किसिम रकम भन्छ।’’

बूढ़ाचाहिँले अचानक सम्झेर सोध्यो-

‘‘अन्त आजु मेरो फोन चैँ किन नउठाको?’’

‘‘त्यै त। बिहान हत्तारमा लानु बिर्सेछु। साइलेन्ट बनाएर त्यहीँ सिरानीमा राखिसुतेको। औ सुन न, मलाई त अहिले पो कस्तो नराम्रो लाग्यो- बित्थामा गोएछु नि?’’- आड खोजी लोग्नेको।

‘‘आबो भइगोयो त। फोन चैँ तर सिरानीमा छैनई। मैले कत्ति हेरेको। छैन।’’

बूढ़ाले भन्यो-

‘‘उता घरमा पनि फोन गरेर के भन्छौ, भन।’’

‘‘उत्ता घरमा’म् फोन गऱ्यौ?’’ – अत्तालिई ऊ।

‘‘अन्त! सुर्ता हुँदैन?’’ – बूढ़ा। लोग्ने। पति।

‘‘हेत् हौ। गाउँतिर पनि?’’ – निक्कै लाज मानी उसले।

‘‘अन्त चैँ।’’

– झन् लजाई। अप्ठ्यारो मानी।

‘‘फोन चैँ तेसो भा काँ परेछ हेर न।’’

धुइँधुइँती दश-पन्ध्र मिनट त्यहीँ खोजेर हेर्दा फोन पसेको रहेछ सिरानीको खोलभित्र। सिरानीमुनि घुसार्दा सायद।

‘‘आम्मामामामा! एक सौ अट्ठाइस मिस्कल!’’

– छक्कै परी।

‘‘होला नि, पचासजस्तो त मेरै होला।’’

– बूढ़ाले भन्यो।

‘‘लु याँ आउनू।’’ – स्वास्नी।

‘‘आबो हेर्नु है – मलाई कस-कसको फोन आउँदो रैछ – यो आमाको उन्नाइस मिस्कल, भाइको अडतीस मिस्कल, तिम्रो सैँतालीस, छेमाको नौ, यो थुप्रो वान वान भा’को कम्पनीको, कम्पनीको त तीन भइसकेछ, गीताको दुई, याँको भाइको छः नरेन बडाको चार… ई! भाइको अझै फोन आउँदैछ।’’

‘‘उठाऊ न। सुर्ताइरा’को होला।’’

‘‘अँ। अन्त के भन्नु?’’

‘‘घरमै छु भन न।’’

‘‘आफै भन्देऊ।’’

‘‘खै लेऊ।’’

* * *

‘‘रात परिसक्यो गाँठे। मो घाँस हालेर आउँछु। खोई एउटा सिँगड़ा लेऊ-लेऊ।’’

– उसले भन्यो।

‘‘अहिले खाऊ न। म तताइराख्दिन्छु चिया पनि।’’

दूध दुहुने बाल्टी बोकेर ऊ गोठतिर लाग्यो।

* * *

आजको दिनलाई राम्ररी निर्क्यौल गर्नै नसकेको भइबसेको रहेछ यत्तिबेला।

भरै उसले स्वास्नीलाई सोध्यो-

‘‘औ, आजुको दिन राम्रो कि नराम्रो हौ, हाम्रो?’’

स्वास्नीले भनी-

‘‘कत्तिवटा कुरा त राम्रै भयो नि, तिम्रो मनमा शङ्काहरू थिएछ।’’

– यो व्यङ्ग्यलाई उसले जायज ठान्यो क्यार – केही भनेन।

‘‘आबोदेखि चैँ मनको बाघलाई बेसी बढ्नु नदिनू। देखाइहाल्नू मलाई। ल?’’

– पनि भनी स्वास्नीले।

मुसुमुसु हाँस्यो ऊ।

‘‘डल्लै खाऊ, सप्पै…’’ – आधामात्र भात खाएर छेउमा राखेको खेलाउने बन्दुक बोकेर सुत्ने कोठातिर कुदिहालेको छोरालाई कराई आमाले।

‘‘भौजू आएछ त।’’ – देवर आइपुगेछ।

‘‘काँ गाको थियौ?’’ – स्थिति सामान्य नै देखेपछि उसले पनि सामान्य लवजमा नै सोध्यो।

उसले लोग्नेलाई हेरी।

‘‘बौलाएर हिनेको। सिँगड़ा ल्याउनु गा’को हरे अलैँची बेचेर।’’ – भन्यो लोग्नेले।

हाँसु कि रिसाऊँ भयो भाइचाहिँ।

‘‘कस्तो सुर्ता पारेको? कमसेकम भनेर त जानुपर्छ। कि फोन उठाउनुपर्छ।’’ – रिसायो देवर।

भाउजूले केही भनिन।

लोग्नेचाहिँले भन्यो अन्तमा –

‘‘आबो भई त गोयो, छोड्दे न। सधैँ नराम्रै मत्तै हुन्छ भन्नोम् त छैन।’’

(नोटः सञ्जीव छेत्रीको यस कथालाई आधार गरेर ‘सकस’ नाममा एउटा लघु चलचित्र पनि बनिसकेको छ।  कुशल घिमिरेको निर्देशनमा बनेको यस चलचित्रलाई युट्युबमा Riyang Namthing Entertainment च्यानलमा गएर हेर्न सकिन्छ। भिड्यो लिंक :  https://youtu.be/Rk60VTqlAjw)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here