-अजित बस्नेत
कला ईश्वरको दान हो
कलाकार उनैका सन्तान
कला ईश्वरको फूल हो
सुवास कलाकारको प्राण।
आकार हुँदैन-वस्तुगत होइन, विषयगत रूप हुन्छ, सौन्दर्यको अमूर्त गुण हुन्छ; एउटै निश्चित परिभाषा हुँदैन-परिवर्तनशीलता समयको आँगनमा खेल्ने अवधि घटना, परिस्थिति, परिवेश, बचाइ, भोगाइका आधारमा कला निर्माताहरूका अध्ययन, अनुभव, आस्था, आदिको योग गर्दा निस्केको परिणामकै अर्थमा परिभाषा बन्नसक्छ, फेरि समयान्तरसितै फेरिन्छ परिभाषा; यसो भन्दा भन्दै पनि सौन्दर्य र चेतनाको मर्मस्पर्शी शाब्दिक भनाइ नै कला वा कविताको परिचय हो कि! हुन्छ कि! निबन्धकार देवकोटाले उहाँका अध्ययन-अनुभवका आधारमा समयले दिएको खुराक ग्रहण गर्नुहुँदै भन्नुभएको छ-
कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाश हो………… कला सपनामनि हिँड़्दछ; जादूसँग खेल्दछ; नवीनतासँग मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफै मस्त छ। (लक्ष्मी निबन्ध सङ्ग्रह, साझा प्रकाशन, विसं २०१८, पृष्ठ ११५)
कला कला लागि र कला जीवनका लागि मानिने दुई धारणामध्ये ‘कला जीवनका लागि’ भन्ने मतसितै साइनो गाँसेर ‘कला जन-जीवनका मन शान्तिका लागि’ भनेर जीवनको यथार्थ पक्षसित सम्बन्ध राख्दै सृजना गरिएको कलाका रूपमा कविता नै जन-जीवनका कलात्मक अभिव्यक्ति मान्न सकिन्छ। साहित्य निर्माणमा संलग्न जन-जीवनका दुःख-द्वन्द्व मन बाँड़्दै मानव समूहका हितैषी भएर कलमी खेतीमा समर्पित पूज्यनीय व्यक्तिगणले आ-आफ्नै समयका स्थिति-परिस्थितिका धेरै तीता थोरै मीठा अनुभव प्रकट गरेका कृतिहरू नै समय सापेक्ष साहित्य-का कार्यमा बाँचेका हुन्छन्; यसैले कला वा साहित्य-निर्माणमा समयको भूमिका अविस्मरणीय हुन्छ।
कुरामा कुरा
कवयित्री योगिता राईको समयबोधले सुनाएका कुरा सुनेर दुई-चार कुरा गर्न मन लाग्यो; उठेका कुराले समयबोध-मा सङ्ग्रहित कविताहरूमा भनिएका कुरा यिनै हुन्, यति नै हुन् भनेर निष्कर्ष दिन सकिन्न, सचेत छन् पाठकवर्ग, स्वअध्ययनका आधारमा आ-आफ्नै दृष्टिकोण विश्लेषण, सम्प्रेषण हुन्छन्; हेराइमा समानता नहुनसक्छ, कवयित्रीको मनका आँखाले पढ़ेर, हेरेर छानेर, दिनु भएको प्रस्तुति उहाँका उमेर अनुसार सम्मान गर्नुपर्छ।
कलमी खेतीको थालनीदेखि, विभिन्न पत्रपत्रिका, कविगोष्ठी आदिबाट काव्य यात्राको क्रममा विसङ्गति, विवशता, विशृङ्खता आदि माथि अध्ययनसित सम्पर्क राख्नु हुँदै आज ३५ पुष्पको एउटा सौन्दर्यपूर्ण हार आफैद्वारा २०१९ मा प्रकाशित ९६ पृष्ठमा जीवन नामदुङका मार्मिक अभिव्यक्ति, केही कविताहरूमा योगिता, आफ्नै कुरा, आभार, कविताक्रमपछि पृष्ठ १३ देखि थालिएको कविता लहरमा सबैभन्दा लामा दुई कविता त्यो मजस्तै मान्छे अनि उजुरी पाँच पृष्ठमा, सबैभन्दा छोटा कविताहरू हामी १५ पङ्क्ति, दार्जीलिङ-दुई १६ पङ्क्ति, इच्छा १७ पङ्क्ति, जिउँदो हुनुको प्रमाण दे १८ पङ्क्ति आदिको सँगालो समयबोध आधुनिक नेपाली कविता यात्रामा एउटा सफल उपलब्धि हो- एउटा थप योगदान।
३५ पुष्पमा सुवास सौन्दर्य के कस्ता छन्, सामान्य हेराइमा मलाई लागेका कुरा-
त्यो मजस्तै मान्छेः
ईश्वर एक छन्, एउटै छ घाम, पृथ्वी एउटै छ। ईश्वरका श्रेष्ठ रचनाहरूमा मानिस एउटै प्रकृतिका काख, माया, धुकधुकी, यात्रा, प्राण समान छन्; विडम्बनावादीहरू वर्गीय स्वार्थका आँखाले प्रकृतिको नियम भङ्ग गर्छन्, ईश्वर ईश्वर भन्दै मानवताको अपमान गर्छन्; सङ्गीत सम्राट् अम्बर गुरुङले गीतकारका रूपमा भन्नुभएको छ-
उ पनि त कोही
पराया त होइन,
रातै रगत बग्छ,
रङको पानी होइन।
सरलातिसरल शब्द बनोटमा कवयित्री योगिता राईले मानवीय विषमताप्रति यसरी व्यङ्ग्य प्रहार गर्नु भएको छ-
च्यातचुत परेको लुगा
चोटैचोटको जुत्ता लगाएर
खाली पेट हिँड़िरहेछ
त्यो मजस्तो मान्छे। (पृष्ठ १३)
कर्म क्षेत्र, रङ-रूप व्यवसायको दृष्टिले मानिस बेग्ला बेग्लै देखिएलान्, तर जन्मदेखि मृत्युसम्म हिँड़्ने यात्रामा कोही भिन्न छैनन्, अझै थप्नु भएको छ-
मजस्तो सुरक्षित घरै नभएको
त्यो मजस्तो मान्छे। (पृष्ठ-१५)
सावित्रीः
समय छ गतिशील, उपलब्धिहरू छन् परिवर्तनशील। आफ्नो यात्रामा समर्पित छ समय, कार्यमा सङ्कल्पित। पर्खन जान्दैन, फर्कन मान्दैन। परिवर्तनशीलताको नाउँमा नैतिकताको हत्या गर्ने स्वार्थीहरू पनि छन्, गतिशील। मानवीय गुण र धर्ममा कालो पोतेर रमाउने गर्छन् स्वार्थी मान्छेहरू। कवयित्री असन्तोष यस्तो छः-
समयलाई सानो टुक्रा मागिन् सावित्रीले
नसुनेझैं गरी हिँड़िरह्यो समय
यमराजले जस्तो पर्वाह नगरी
…………………………………………
एउटा जोड़दार हुरी चलाइमागिन्
हावाले पनि कुरै खाएन उसको
बरू फूल, रूखपात र जूनसँग
हावा आफ्नै धुनमा इत्रिरह्यो। (पृष्ठ १८-१९)
नैतिकताको ह्रास हुन्छ; घर, घर रहँदैन, श्मशान बन्छ; देवीहरूका स्थानमा कसैलाई पुजिन्छ, नारी हृदयको अनावश्यक तिक्तताले अनुभव गरेपछि सतित्व खोज्ने र खोसाउनेहरूको अधिपत्य जम्छ। कठै सावित्री हार्नु पर्दा कवयित्री थप्नुहुन्छ-
उ पनि हिँड़्न चाहिन् समयसँगै (पृष्ठ-१८)
हाँस्नुको अर्थः
हाँस्नु प्राकृतिक देन हो। यस्तै हो रुनु पनि। उमेरको भिन्नतासँगै हाँस्नु पनि फराकिँदै जान्छ। जाँदोरहेछ; दिन सधैँ एकनासको नहुँदो रहेछ। भन्नुहुन्छ कवयित्री-
जुन बेला बाइँचुरीका टुक्राहरू
हाम्रा गोजीभरि हुन्थे
र अर्कोतिरको गोजीमा हुन्थे
मसिना ढुङ्गा गड्डीहरू (पृ. २०)
…………………………………………..
हाँस्नुको अर्थ त्यसबेला
साँच्चै जीवन थियो। (पृ. २१)
………………………………………………..
यसबेला हाँसिरहेका छौं हामी
आ-आफ्नै निर्धारित सीमाभित्र
सतर्क भएर। (पृ.२३)
उजेलीः
नारीका घाउ, दुःख, पीर, रोदन अर्की नारीले आत्मसात गर्नु कवयित्रीको धर्म हो। यो सहजता अनुभव नै यसको कविताको स्वर हो-
के भो?
बोल्दिनौ तिमी
कि उत्तर नै हराइपठायौ (पृ. २४)
……………………………………..
हिजो अस्ति मात्रै हो उजेली
फक्रक्क फक्रेको गुलाब झैं तिमीले
आफ्नो नयाँ जीवन थालेकी (पृ. २५)
कवि रिमालले समाजद्वारा शोषित नारीलाई उकास्न चेतना जगाइदिनुभएको छः-
यो गाउँमा, यो शहरमा स्वस्थ र स्पष्ट गर्भधान हुनुपर्छ
यहाँ बुद्ध जन्माउनु पर्छ। यहाँ लेनिन जन्माउनु पर्छ।
यसरी नै कवयित्रीले नारीलाई नयाँ मार्गदर्शन गर्नु भएको छ-
जसरी डराउँछौ, त्यति हराउँछौ
हिँड़ निर्धक्क छाती फुकाइ
चुनौतीको फराकिलो बाटो (पृ. २६)
कसः
प्रत्येक बिहान प्रत्येक व्यक्ति चिया पिउँछन्, तर प्रत्येक बिहान हिलो र हिउँसँग सम्झौता गर्दै चियाबारी पुगेर, गफ वा गिलास बनाउने शिल्पीले कारखानामा हात दुखाएर चिनी उत्पादन गर्ने श्रमिकवर्गले उखूबारीमा पसिना र पानीले रुझेर आँसु पसिना र रगत चुहाउने श्रमिकवर्गप्रति हार्दिक प्रेम जगाउँदै महङ्गो दामको चियापत्ती किन्ने धनीवर्गलाई चुनौती दिनुभएको कवयित्रीले-
छुटेन कहिल्यै त्यो कस
छुटिँदैन पनि कहिल्यै
जुनीभर चियापत्ती टिप्दा टिप्दै बसिसकेको
आमाको कमाने हातको कस। (पृष्ठ-२८)
……………………………………………….
छुटिन्छ त केवल
आमाको उज्यालो आश
काल्पनिक सुखको बास। (पृ.२९)
चियाबारीकै दयनीय स्थितिको चित्रणकै क्रममा चियाबारीमा हाम्रा पूर्खाका आँसु, पसिना, रगतमा भिझेर हुर्केका चियाका बोटहरूबाट प्राप्त सुवास स्वादले प्राप्त गरेको विश्व बजारका निर्माताहरूमाथि यति अन्याय, शोषण र हेला; लाज पचेका अधिकारीमाथि नकारात्मक दृष्टि राख्नु हुँदै कवयित्रीले मन दुखाउनु भएको छ- डोकोहरू नामकरण गरिएको कवितामा-
निस्तो आँखा वरिपरि बोकेकाहरू
आफूलाई ढाक्ने आश्वासनको घूम प्वाल परेपछि
समस्याको बर्खाले निथ्रुक्क भिज्दै/रूझ्दै
मेलो मेला लाग्न आतुरिरहन्छन्। (पृ.३०)
+++++++++++++++++++++
खर्च थाप्न प्रत्येक शनिबार भीड़ लाग्छन्
जीवन चलाउनमा धौ धौ परे तापनि
त्यति खर्चमा नै रमाउनुपर्ने। (पृ.३१)
नसकी नसकी सहनु पर्ने वाध्यता, विशृङ्खलता आदिको शब्दचित्र हो, छैटौं कविता डोकोहरू।
उजुरीः
आर्थिक विषमताविरुद्ध विद्रोह सुनाउँछन्, कवयित्रीका शब्दहरू; बाबुको कारुणिक जीवनान्त्यमाथि सोधनी गर्नु भएको छ-
मेरो स्वर्गवासी बाबुको
खुट्याउन नसक्ने रोग
र त्यसको अपुग उपचारको कारण (पृ. ३५)
………………………………………………………….
गुरुङ धुराको मलाया बड़ालाई
अझै कति तिर्नुछ बाँकी ऋण
मेरो दिवङ्गत बाउले? (पृ. ३५)
मेरो गाउँ:
भौतिक सभ्यता-परम्पराले ग्रस्त छ शहर, प्राकृतिक आशिषले अझै पनि स्वस्थ छ गाउँ-
मेरो गाउँको सन्तोकी अनुहारमा
साँच्चै प्राकृतिक आकर्षण छ। (पृ. ३६)
शहर वा सिङ्गै राष्ट्रको आधार गाउँ (बस्ती) हो, कोदालो-फरूवा चलाउने हातको मायाबिना शहरको रङ रूप खल्लो हुन्छ, रूखो हुन्छ- थाह छ सरकारलाई; यति जान्दा जान्दै पनि सरकारको उदार दृष्टि यहाँसम्म पुग्न सकेको छैन र कवयित्री मन विचलित हुन्छ-
मेरो गाउँको मनभरिको ल्याण्डस्केप भने
अझसम्म कुनै सरकारी क्यामेराले
खिच्नै भ्याएको छैन। (पृ. ३८)
अझै व्यङ्ग्य प्रहार गरिएको छ-
मेरो गाउँको देश छ शहरमा
अनि प्रधानमन्त्री छ देशमा।
तर मेरो गाउँ देशमा छैन
अनि गाउँ प्रधानमन्त्रीको होइन। (पृ.३९)
समय छ गतिशील; यसको गुण छ परिवर्तनशीलता, नयाँ विचार, भावभावना, मानवीय मनको उत्थान आदि यसका विशेषता हुन्। तर ध्वाँसो लागेर रोगमुक्त बन्न नसकेको मन, स्वार्थको बादलयुक्त हाम्रो मन, जातपातको धाराबाट मुक्त हुन असमर्थ सामाजिक विषमतामाथि व्यङ्ग्य प्रहार हो जात- यो नवौ कविता; सामाजिक विषमताको हाँसो उठाउँदै यो कविता यसो भन्छ-
हेर तैंले छालालाई
जुत्ताको आकार नै नदे
बरू त्यो लासको छाला काढ़िदे। (पृ.४०-४१)
महाकवि देवकोटाको मुना मदनप्रति कवयित्रीको गहिरो आस्था छ- अड़कल काट्न सकिन्छ।
म विश्व जितेको मानवः
बाह्य युद्ध लड़िन्छ, जितिन्छ; कहिले हारे पनि धीरता र साहस बटुलेर पुनः जितिन्छ, तर मनको समर भूमिमा हारेपछि युद्ध जित्ने त के! युद्धै नगर्ने स्थिति हुन्छ, अनन्त शक्ति प्राप्त योद्धा विश्व अधिकारी भए पनि आजको ध्वंशात्मक प्रवृत्तिमा केन्द्रित मनमा कहाँ ईश्वरको आशिष, कहाँ मानवताको बास! यस्तो भत्किँदो स्थितिमा विचलित कवयित्री भन्नुहुन्छ-
म विश्व जितेको मानव
तर अहिलेघरी म आफ्नै
मानवताको गृहयुद्धमा
प्रत्येक क्षण हारिरहेछु।
यसरी हार्नु भएको असहायबोध गर्दै थप्नु भएको छ-
हारिरहेछु।
हारिरहेछु। (पृ.४२)
साहित्य अभिव्यक्ति मूल अर्थ सबै पाठकवर्गले समान रूपमा व्यक्त गर्न गाह्रो हुन्छ; मत-मतान्तर भइरहन्छ। मानवताका लागि सङ्घर्षरत् तपशीहरूको हार हो कि! विश्व वीर जातिमा देखिएको शिथिलता अथवा स्वच्छ मुनिका विरह!
मेरो पुरानो स्कूलः
पवित्र शिक्षाको धर्ममा ह्रासोन्मुखता देखिँदैछ हिजो आज। शैक्षिक धर्मले मानवताको दिव्य सन्देश दिनेगर्छ- दिइरहेको थियो; यस्तै पवित्र शिक्षा आफू त पवित्र छँदैछ, तर प्रयोगकर्ताका हातमा अपवित्र बन्दैछन्, विशेष गाउँ-बस्तीका पाठशालाहरू; हेलाको पात्र भएको छ-सरकारी प्राठमिक पाठशाला; कवयित्रीको असन्तुष्टि-
भ्रष्टाचारले चिथोरेको कुरूप अनुहार
जीर्ण र अस्वस्थ शरीर बोकेको
मेरो पुरानो स्कूलले
आफ्नो पुरानो रूप र समय
फर्काइमाग्न सक्दै नसक्ने भएछ। (पृ.४४)
++++++++++++++++++++
मेरो पुरानो स्कूलबाट
सरस्वती माताले पनि
बसाइँ सरेछन् कि कसो? (पृ. ४५)
अनास्था, व्यङ्ग्य, विरोध आदिसँग असन्तुष्ट शब्द-लहर राख्ने क्रममा अल्पविराम लगाउनु हुँदै प्रणय सूत्रतिर ढल्कनु भएको छ; प्रणय प्रीतिको न्यानोपनको स्वर पाइन्छ कविता इच्छामा-
हरेक पातका टुप्पा टुप्पामा बसी
तिम्रो न्यानो स्पर्शको
प्रतीक्षामा बस्ने
म शीतका थोपाहरू बनूँ। (पृ. ४६)
अवचेतन मनमा लुकेर बसेका एषणा प्रकट गर्ने कलाकार वा कविलाई मनोरोगी व्यक्तिको उपमा दिएका छन्। मनोविज्ञानका पिता डा. सिमन्ड फ्रायडले। कवयित्रीको पुरानो इच्छाको उद्घाटन भएको छ यस कवितामा।
अनुरोधः
१२औं कविताको भाव-भावनासितै साइनो सम्बन्ध स्थापना गर्न मन पराउँछ, यो १३औं कविता पनि-
उसै त मलाई पनि
कहाँ मन पर्नु
यो बजारभित्र
एक्लोपनको चिसो चिहान। (पृ.४७)
चिसो चिहानले श्मशान होइन, अव्यवस्थित स्थान, विसङ्गतिपूर्ण स्थान वा मानवीय मूल्यरहित ठाउँको भाव छोएको बुझिन्छ।
यस्तो निस्सासिँदो परिवेशबाट उन्मुक्ति प्राप्त गर्ने कल्पनासितै स्वच्छन्द उड़ानको कामना प्रकट गर्छन् यी पङ्क्तिहरू-
तिम्रो स्पर्श पाउन अघि नै
मेरो मुहारलाई मनपरी
स्पर्श गरिरहने खलनायक केशराशीलाई
लाखेस गर्दै थान्को लगाइदिनू। (पृ. ४८)
मेरो व्यक्तिगत हेराइ हो- अन्तिम सत्य, निष्कर्ष होइन, सीमान्त तोकिएको होइन।
तिमीलाई थाहा छ के सानु?
सम्झनाले मन रमाइलो बनाउँछ कि, रमाइलो मनले सम्झना मलिलो बनाउँछ? कि यी दुवै एकार्काका अभिन्न पाटा हुन्? कवयित्रीका दृष्टिमा सम्झनु वा सम्झना गर्नु विरह वेदनाले थुनुवा पारेको मन स्वतन्त्र हुनु हो; विसङ्गतिबोधबाट स्वच्छन्द हुनु हो- यो सत्य सानुलाई थाहा होला र-
तिमीलाई थाहा छ के सानु?
तिमीलाई सम्झिनु भनेको-
म गदगद रमाउनु हो
…………………………………………………..
दूध भुलुक्क उम्लेर
चुह्लाभरि पोखिनु हो
भात डढ़ेर भुर्कुट कालै हुनु हो
………………………………………………….
लाटा…….
तिमीलाई सम्झिनु भनेको
म उदाङ्गो मन बनाएर
खुशीले रमाउनु हो। (पृ. ५०-५१)
११औँ कवितासम्म विसङ्गति-विवशता, शोषण-रोदन आदि भावभावना केही बेर पर सारेर १२औं, १३औं र १४औं कवितामा भावपक्षको परिवर्तनशीलता गतिशील कवयित्रीको परिचय हो।
पुग नपुग, एउटाले नपुग, तीन दर्जन पुष्पहरूका विभिन्न स्वाद-सुवास-सौन्दर्यको सङ्गम समयबोध, समसामयिक अर्थ, अनास्था, उद्घोषणा, बाध्यता, विशृङ्खलता, विसङ्गति, व्यङ्ग्य, शोषण आदिका शाब्दिक कलात्मक प्रयोग कवयित्रीका विशेषता, सफलता ग्रहणयोग्य छन्- खोक्रो प्रशंसा होइन भने अनावश्यक स्तुति पनि। समसामयिक कविताहरूमा सबल भावपक्ष हुँदाहुँदै पनि भाषिक क्लिष्टता देखिँदैछ- सबैका सबै कृतिमा होइन, केही कृतिकारका केही कृतिमा। अर्थ, उद्देश्य, क्रिया, वचन, लिङ्ग आदिका प्रयोगद्वारा विषयवस्तुका स्पष्टीकरणका लागि कवयित्रीको लेखकीय धर्म दुर्बल छैन- बधाई छ।
प्रसिद्ध कवि समालोचक डा. जीवन नामदुङबाट अभिव्यक्त केही कविताहरूमा योगिताका कविता शक्तिबारे भन्नुभइसकेको छ-चाम्रा कविताहरू हाम्रा (जनमानसका) हुँदैनन्, बरू हाम्रा स्मृतिपटलमा रहिरहने कविताहरू लगभग योगिता राईका कविताहरूजस्तै हुन्छन्। (पृ.३)
अझै थप्नु भएको छ-यस सङ्ग्रहका ३५ कवितामा कुनै एक यस्तो कविता होस्, जसलाई योगिताको संवेदनाले झङ्कृत नपारेको होस्। (पृ. ५)
यस्तो अनुभव डा. जीवन नामदुङले जस्तो देख्नु भयो, त्यस्तै लेख्नुभयो। सानै उमेरमा पनि परिपक्व काव्य दक्षताद्वारा प्रभावित सशक्त नारी हस्ताक्षर डा. वीणा हाङ्खिमद्वारा अभिव्यक्त भनाइ- माधुर्यपूर्ण शैलीकी धनी, उनका कविता सरलता, सरसताका साथै गहनताले परिपूर्ण छन्।……………… उनको लेखन चिरञ्जीवी बनोस्। (आवरण पृष्ठबाट)
शास्त्रवादी नीतिविरुद्ध नयाँ आन्दोलनको स्वर गुञ्जन थालेको समयमा शास्त्रवादी समूहले जर्मनेली दार्शनिक लेसिङ (Gothold Ephraim Lessing) लाई चुनौती दिँदै कविता के हो त सोधनी राख्दा लेसिङको उत्तर- कविता बोल्दो-चल्दो चित्र हो भन्दै कविका सशक्त कल्पना र सुन्दर भावका आधारमा मानवीकरण (personification) गरिएको सशक्त अभिव्यक्ति कविता हो भन्ने अर्थ दिएका छन्। समयबोधमा यो गुण निश्चय प्राप्त छ।
काव्य सौन्दर्यलगायत भाषिक शुद्धिकरणमा पनि कवयित्री असफल हुनुहुन्न। गीतिगुणको छेउमा उभिने कविता तिमीलाई थाहा छ के सानु? –मा विषयवस्तु अनुसार शब्दलहरको प्रयोग पाइन्छ।
गतिशील छ संसार-प्रगतिशील छन् उपलब्धिहरू। दैनिक जीवनका सहजता, सुगमताका लागि धेरै थोक थपिरहेको, उपलब्धिसितै रोग-शोक पनि थोपिरहेकै; युगमा प्राप्ति र हानि जेजस्ता थपिऊन्, थोपिऊन्, जीवन यात्रा हिँड़िरहेकै छ। विभिन्नता यति हो-जातीय गरिमा गौरव, गतिशील हुँदैछ कि गतिहीन? जातीय अस्तित्वका पुजारीहरू संलग्न हुन्छन्-जातीय परिचयको विस्तारमा। यस्ता गरिमा गौरवका संरक्षणार्थ स्वभाषाको भूमिका ठूलो हुन्छ। भाषाबिना जातिको अस्तित्व रहँदैन। अझै झर्रा शब्द वाक्यांश (phrase) आदिले जातीय परिचय झन् उज्यालो बनाउँछन्। यस्तो झर्रा शब्द, वाक्याश, उखान आदिका प्रयोगमा उपन्यासकार-कथाकार शिवकुमार राई अदित्य हुनुहुन्छ। हाम्रा जातिका विभिन्न जातले कथ्य भाषाका आधारमा साहित्य निर्माण गर्दा प्रयोग गरिने शब्द, वाक्यांश कवयित्री योगिता राईका पङ्क्तिहरूमा यस्ता छन्-
फाटाकफुटुक, हुट्हुटी, जाँगर, झकझकाउने, च्यातचुत, आइय्या आमा, भलपैह्रो, ढुक्क, धपक्क, धुरूधुरू, लम्पसार, कुरै खाएन, इत्रिरह्यो, पैंचो, भुर्र उड़ेको, जिस्क्याउँथ्यो, बेस्सरी भट्ट्याउँथ्यो, रमाइ-रमाइ, साक्खै, फिस्स, छर्लङ्गै, नजिम्ल्याऊँ, कोल्टे, कुचुक्क, ठक्क, कुइनेटो, जुनीभरि, गाड़ेघाउ, झिटिमिटी, डोकोहरू (डोकाहरू) निथ्रुक्क, थाप्लोमा, धौ धौ, छेक-थुन, पाता कसेको, थुनुवा, टुङ्गो, खुट्याउँदै, घारी (पिप्ली-घारी), सन्तोकी, धस्कने, फलैंचा, लिरिक लिरिक, घिटघिटे, कात्रो, जोरजाम, थाँती, पधेंरोतिर, चिथोरेको, न्यानो, डुबुल्की, चिहान, धुकढुकी, झसङ्ग, लाखेस, बुट्टे, गुम्लुङ्ग, गदगद, भुलुक्क, भुर्कुट, छपक्कै, गुटुमुटु, गुम्स्याउनु, जिरिङजिरिङ, रनक्क, भक्कु, अबेर, आतुरिएका, जुठेल्ना, ठुस्केर, नाक लागेको, गुहार, बेरमाइलो, बुरूरू, लछेप्रै, सुटुक्क आदि आदि।