दार्जिलिङ, १२ जुलाई : दार्जिलिङका सांसद राजु विष्ट आज खरसाङको गौरी शङ्कर पुगेर शहीद हवलदार वेध्यान राईका परिवारलाई भेटे। यसअवधि उनले शहीद राईलाई श्रद्धाञ्जली अर्पण गर्नका साथै परिवारप्रति समवेदना प्रकट गरे। सांसद विष्टसँग खरसाङका विधायक बीपी बजगाइँ र अन्य भाजपा नेता थिए।
यसभन्दा अघि उनी आज बिहान रोहिणी पुगेर शहीद हवलदार मिलन तामाङको परिवारसँग भेट गर्नका साथै शहीद तामाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्मरणरहोस्, पछिल्लो २९ जुनको मध्यराति मणिपुरको नोने जिल्लामा गएको भयावह पैह्रोको चपेटमा परी खरसाङको गौरीशङ्कर निवासी शहीद वेध्यान राई र रोहिणीनिवासी मिलन तामाङलगायत अन्य गोर्खा जवान शहीद बनेका थिए।
यसैबिच, विष्टले आज एक प्रेस विज्ञप्ति जारी भनेका छन्, ‘हाम्रो दार्जिलिङ, कालेबुङ, तराई अनि डुर्वस एउटा सानो क्षेत्र भए पनि, देशको विकास र देश रक्षामा हाम्रो क्षेत्रवासीको योगदान अतुलनीय छ । यस क्षेत्रका प्रत्येक परिवारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यी जवानहरुका रूपमा आफ्ना परिवारका सदस्यलाई गुमाएका छन्। मैले हाम्रा वीर जवानहरुका परिवारलाई आश्वस्त गरेको छु, भारत सरकार र भारतीय सेनाले उनीहरुलाई केही कमी हुनदिने छैन। अनि उहाँहरुले मलाई पनि उहाँहरूकै परिवारका एक सदस्यको रूपमा लिएर दुःख-सुख साझा गर्ने आग्रह गरेको छु, म सधैँ हाम्रा शहीदहरुका परिवारका साथमा हुनेछु।’