घर समाचार पद्मश्री सानु लामाको निधन

पद्मश्री सानु लामाको निधन

0
33

सिलगढी, १२ जुलाईः कथाकार-गीतकार पद्मश्री सानु लामा अब हामीबिच सशरीर रहेनन् ।
उनको आज १२ जुलाईका दिनको बिहान लगभग ६.३० बजे सिलगढीको एक नर्सिङ होममा उपचाराधीन अवस्थामा निधन भएको हो ।
पारिवारिक सूत्रका अनुसार रुघाखोकी लागेपछि उनलाई तीन दिनअघि गान्तोकको सोचेग्याङस्थित एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो, तर उनी सिकिस्त बनेपछि हिजो सिलगढी रेफर गरिएको थियो ।
१५ जून १९३९ मा गान्तोकको विकास क्षेत्रमा जन्मेका सानु लामा कथा र गीत लेखनमा प्रसिद्ध छन् ।
उनका कथा सम्पद, गोजिका, मृगतृष्णा, सूर्यको तेस्रो किरण, दुख्नु उत्तिकै छ गरी पाँचवटा कथा सङ्ग्रह तथा हिमाचुली मास्तिर, आँगन परतिर, जोसमणि सन्त परम्परा अनि साहित्य जस्ता कृति प्रकाशित छन् ।
नेपाली कथा लेखनमा छुट्टै अवकाश बनाएका सानु लामा १९९३ सालमा मृगतृष्णा कथा सङ्ग्रहका लागि साहित्य अकादमी पुरस्कारले सम्मानित भएका थिए ।
यसैगरी उनी २००५ मा दीर्घकालीन साहित्य सेवाका भारतको चौथो नागरिक पुरस्कार पद्मश्री पुरस्कारले सम्मानित भएका थिए ।
सानु लामा नेपाली साहित्यका विशिष्ट र चर्चित कथाकार मात्र मात्र , उनी त अत्यन्त चर्चित गीतकार पनि हुन् । सङ्ख्यात्मक रूपमा उनले थोरै गीत लेखेका छन्, तर ती सबै गीत अत्यधिक कर्णप्रिय छन् । कालजयी बनेका छन् । उनले लेखेका बालापनको आँगन त्यागेर बोलको गीत, जुन गीतलाई अरुणा लामाले स्वर दिएकी छन्, अत्यन्त मार्मिक र कर्णप्रिय छ ।
त्यसै उनले लेखेको जहाँ बग्छ टिस्टा रङ्गीत सिक्किमको राज्य गीत हो । साहित्यकार सानु लामाको निधनले नेपाली साहित्य सङ्गीत र समाजमा अपुरणीय क्षति पुगेको छ । नेपाली साहित्यिक र सङ्गीतिक जगतमा शोकको लहर छाएको छ।
उनी अब हामीबिच नश्वर शरीरमा नरहे तापनि कृति र कर्मले हामीबिच युगौँसम्म बाँचिरहनु हुनेछ ।
साहित्यकार लामाको पाथिव शरीर गान्तोक लैजाने तयारी गरिँदैछ ।
दार्जिलिङ टक्स परिवार साहित्यकार लामाको निधनमा गहिरो शोक प्रकट गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

कुनै टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here