विष्टको स्पष्टीकरणबाट भाजपाले हामीलाई हेर्ने दृष्टिकोण उजागर : विनय

0
1356
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 12 अगस्त : पछिल्ला केही दिनयता लगातार रूपमा सांसद राजु विष्टमाथि प्रस्न तेर्साउँदै आएका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पुनः एकपटक उनीमाथि कटाक्ष गरेका छन्।

तामाङका अनुसार महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड निर्माणको वाचा गरी पहाड़वासीको भोट र गोर्खाहरूको सहानुभूति बटुल्ने भाजपाका वर्तमान सांसद राजु विष्टले गोर्खाल्याण्ड शब्दबारे जुन स्पष्टीकरण दिएका छन्, त्यो डेढ़ करोड़ गोर्खाका लागि दुःखद् र चिन्ताको विषय हो।

‘गोर्खाल्याण्ड शब्दमाथि स्पष्टीकरण दिनलाई होइन, पहाड़वासीले विष्टलाई गोर्खाल्याण्ड निर्माणका लागि जिताएका हुन्’, विनयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘अहिले आएर गोर्खाल्याण्डबारे जुन प्रकारको शब्दावली उनले प्रयोग गर्दैछन्, त्यसले पहाड़वासीसँगै गोर्खाल्याण्डप्रेमी गोर्खाहरूको भावनालाई ठेस पुऱ्याउने काम भएको छ।’

अर्कोतिर तामाङले विष्टको स्पष्टीकरणले हामीलाई हेर्ने भाजपाको दृष्टिकोणलाई फेरि उजागर गरेको बताएका छन्।

‘उनको भनाइमा ‘गोर्खाल्याण्ड’ शब्द गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा नै जोड़िएकोले यसै शब्दले नै सम्पूर्ण गोर्खाको अस्तित्व बोकेको छ भन्नु थियो भने चुनाउमा यत्रो नाटकबाजी किन गरियो?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘भारतीय जनता पार्टीको गोर्खा र गोर्खाल्याण्डप्रतिको मनोभाव बुझेर नै राजु विष्टले यस्तो बयान दिएका हुन्। यसैले भाजपा गोर्खाल्याण्डप्रति इमानदार छैन। गोर्खाहरूप्रति देखाउँदै आएको सहानुभूति देखाउटी र राजनीति हो।’

विनयले थप भनेका छन्, ‘विष्टको स्पष्टीकरण गोर्खाल्याण्डका लागि इमानदारपूर्वक सङ्घर्ष गर्दैआएका हामी हतोत्साही बनाएर यस मागबाट सदैव वञ्चित गराउने रणनीति हो। तर, भाजपाको यस प्रकारको स्वार्थपूर्ण राजनीतिले हाम्रो सङ्घर्षलाई बिथोल्न सक्ने छैन। गोर्खाल्याण्ड करोड़ौं गोर्खाको सपना र अन्तिम लक्ष्य हो। तर, यही मागको आड़मा भाजपाले आफ्नो राजनैतिक स्वार्थ मात्रै पूरा गर्दै आएको छ। हामी हाम्रो सपना र अन्तिम लक्ष्यको सङ्घर्षलाई अघि लिएर जान कटिबद्ध छौं।’

उनले गोर्खाल्याण्ड मागसित राष्ट्रिय चिनारी, अस्मिता अनि भावना जोड़िएको हुनाले लामो समयदेखि आफूहरू सङ्घर्षरत् रहेको ठोकुवा गरेका छन्। ‘यही माग पूरा गर्नका लागि हाम्रा सन्तानहरूले ज्यान गुमाइसकेका छन्। यस क्रममा भाजपाले दिएको वाचा अनुरूप पहाड़वासीले तीन-तीनजना सांसद दिइसकेका छन्’, विनयले भनेका छन्, ‘तर, जतिपटक गोर्खाल्याण्डका लागि पहाड़वासीले साथ दिएका छन्, उतिपटक नै विश्वासघात र सपना र भावनामाथि आघात पुऱ्याउने काम भाजपाले गरेको छ। यसचोटि पनि यसले त्यही इतिहास दोहोऱ्याउन शुरु गरेको छ।’

यसका साथै भाजपा सांसद विष्टले गोर्खाल्याण्ड शब्दबारे स्पष्टीकरण दिनुभन्दा भाजपा बङ्गाल विभाजन गरी छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण गर्ने पक्षमा छ/छैन भन्ने स्पष्टीकरण दिनुपर्ने तामाङले बताएका छन्।

‘स्थायी समाधान के हो? त्यसको खुलासा गरुन्। गोर्खाल्याण्ड छोड़ेर अन्य विकल्पका लागि पहाड़वासीले भाजपालाई भोट दिएका होइनन्’, विनयले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here