सांसद बिष्ट झूटको खेती होइन, सत्यको खेताला बन्नुहोस्

0
1108

केशवराज पोखरेल

कोरोना सङ्क्रमणको कारण बेचैन भएको पहाड़का मानिसहरूलाई राजु बिष्टको विज्ञप्तिले हौसलाका शब्दहरू नभएर आलो घाउमा नुन छर्कने काम गर्दैछ। पहाड़मा राजनैतिक दलहरू संवेदनशील भएर काम गर्दैछन्, दिल्लीमा रहेका सांसद राजु बिष्टले विज्ञप्ति लेख्न छोड्दैनन्। विज्ञप्ति पनि पहाड़लाई सहायता पुऱ्याउने नभएर पहाड़लाई दोष दिने आइरहेको छ।

पीपीएसका लागि भोट जिताउने गठबन्धनलाई सम्हालेर एउटा साधारण स्टेयरिङ कमिटीसमेत बनाउन नसक्ने सांसदले, जति नै काम गर्दैछु भनेर धाक देखाए पनि अब उनी अविश्वसनीय भएका छन्। गोर्खाल्याण्डका लागि भोट मागेर दार्जीलिङ नगरपालिका हत्याउन खोज्ने भाजपालाई के को आधारमा विश्वास गर्नु?

सांसदले जीटीएजस्तो सानो, सुचारू ढङ्गमा चलिरहेको प्रशासनलाई बिथोल्न खोज्नु मौरीको गोलामा हात हाल्नुसरह जस्तो हो।

झूटा राजु बिष्ट

राजु बिष्टले कोरोनालाई लिएर राजनीति गर्नु नै भएको रहेछ। अब राजनीति कै कुरा गरौं। राजु बिष्टले गरेको झूटको खेती को पाँच बुँदे झलक:

1. राजु बिष्टले गोर्खाल्याण्ड ल्याउँछु भनेर सांसद भएका हुन। अहिले राजु बिष्टको मुखमा गोर्खाल्याण्ड शब्द नै हटेर गयो। पीपीएस शब्द चलाउनु हुन्छ। पीपीएस नै सही। तर, खोइ त्यो कसैले नबुझेको पीपीएस? दिल्ली पीपीएस लिनु गएको सांसद पहाड़मा पीपीई बाँड्न खोजेर हुन्छ?  झूट नम्बर 1.

2. लकडाउन शुरू हुनुअघि बिष्ट दिल्लीमा थिए, संसद सत्रमा भाग लिन। संसद सत्र सकिएपछि उत्तर बङ्गालका सात भाजपा सांसदमध्ये 6 जना सांसद आफ्नो संसदीय क्षेत्रमा आइपुगे। तर, हाम्रा सांसद बिष्ट दिल्लीमा नै हराउनु भयो। लकडाउन खुल्ने बितिक्कै आउनु भयो। तर किन? भाजपाको भर्चुअल ऱ्याली गर्न र बङ्गाल चुनाउको तयारीका लागि पो रहेछ। जनताका लागि आएको भनेर बोलेको झूट नम्बर 2.

2. टेस्ट ल्याब छैन भनेर बङ्गालको आलोचना गर्नुभयो। जीटीए क्षेत्रमा ल्याब ल्याइदिनुहोस भन्यौं। केन्द्रले दिएन भने पनि म मेरो गोजीबाट ल्याउँछु भन्नुभयो। खोइ ल्याब? भ्याक्सिन निस्कियो। घर घरमा भ्याक्सिन पुगेपछि ल्याब ल्याउने कि चुनाउमा फेरि झूट बोल्ने? झूट नम्बर 3.

4. आजसम्म तपाईंले गोर्खाल्याण्डको मुद्दा संसदमा उठाए भन्नु हुन्छ। हो हामीले पनि तपाईंको संसदको भाषण सुनेका हौं। तर, तपाईंको भाषण ठीक ठाउँमा थियो र जुन तपाईं मैले यो गरेको छु भनेर ढोल पिट्नु हुन्छ? तपाईंले पहाड़का जनताको आँखा छल्नु हुँदैछ बोलेर झूट नम्बर 4.

5. 100 भन्दा बढ़ी मन्त्रालयलाई पत्राचार गर्ने हाम्रो डाक बाबु सांसदको कतिवटा पत्र मन्त्रालयले खोलेर पढ्यो अनि त्यसमाथि काम गऱ्यो? काम हुँदैछ होइन काम कहाँ पुग्यो? बिष्टज्यु सांसद कम भाजपाको उत्तर बङ्गालका प्रवक्ता बढ़ी हुनुहुन्छ। सत्य कम सफेद झूट ज्यादा बोल्नु हुन्छ। झूटा सांसद नम्बर 5.

विगतका दुई टुरिस्ट सांसद काम लाग्ने त पटक्कै थिएनन्। यसपाली दाजुले मणिपुरबाट मगाएर ल्याएका नेपाली नै बोल्ने सांसदले गोर्खा हितमा केही गर्छ कि भनेको, उ त झन् पत्राचार, विज्ञप्ति, भेटवार्ता अनि बैठक बसेर ‘काम हुँदैछ’ भन्ने सांसद पो निस्कियो। सांसद महोदय वर्तमान पहाड़का लागिभन्दा पनि बङ्गाल चुनाउको काममा व्यस्त छन्। तपाईं उतै व्यस्त रहनुहोस् तर यहाँको कामको बाधा नबन्नु होस्। तपाईंको झूट र लाञ्छनाले हाम्रो स्वाभिमानमा ठेस पुग्छ।

झूट एकपल्ट बोल्न सकिएला, मानिसले पत्याउला। तर बारम्बार झूट बोल्नेको सत्य बोल्दा पनि मानिसले कुरा पत्याउँदैन। सांसद बिष्ट झूटको खेती होइन, सत्यको खेताला बन्नुहोस्।

(केशव राज पोखरेल विनयपन्थी गोजमुमोका केन्द्रिय समिति प्रवक्ता हुन्।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here