32 घर गोरामुमो समर्थक विनयपन्थी मोर्चामा सामेलः अनित थापाले भने- म झूटको राजनीति गर्दिनँ

0
1156

खरसाङ, 12 अगस्तः लङ्भ्यु चियाबारीका 32 घर गोरामुमो समर्थक आज विनयपन्थी गोजमुमोमा सामेल भएका छन्।

सामेल हुनेहरूमा धेरजसो लङ्भ्युस्थित गोदामधुरानिवासी थिए भने केही अन्य गाउँका थिए। खरसाङमा लङ्भ्युलाई गोरामुमोको गढ़ मानिने गरिन्थ्यो, किनभने यस चियाबारीमा गोरामुमो समर्थकहरू धेरै थिए। तर, आज 32 घर समर्थक विनयपन्थी मोर्चामा सामेल भएपछि गोरामुमोमा ठूलो पैह्रो गएको छ।

पार्टी महासचिव एवं जीटीए बीओएका अध्यक्ष अनित थापाको उपस्थितिमा उनीहरू सामेल भएका हुन्। सामेली कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले कहिल्यै झूटको राजनीति नगरेको र अरूले पनि गर्न नहुने बताए।

यसका साथै उनले पार्टीभित्र ‘नयाँ’ र ‘पुरानो’ भन्ने प्रथालाई त्यागेर सबै मिलेर अघि बढ़्नुपर्ने सुझाउँदै नवसामेली सदस्य सबैलाई आफ्नो पार्टीमा स्वागत जनाए।

थापाले गोर्खाल्याण्ड माग्नु गल्ती नरहेको तर गोर्खाल्याण्ड माग्ने तरिका गलत भएकाले आफूहरू अलग भएको पनि पुनः दोहोऱ्याए।

यसैगरी उनले आफू गोर्खाल्याण्डको झोला भिरेर कहिले पनि जनताको अघि भोट माग्न नजाने स्पष्ट पार्दै यस अघिका नेताहरूले गोर्खाल्याण्डलाई केवल राजनीति रोटी सेक्नका लागि मात्र प्रयोग गरेको बताए।

‘‘म झूटको राजनीति गर्दिनँ। र अरूले पनि नगरून्। झूटको राजनीति गरेर जनतालाई भ्रममा हालेर राजनीति गर्ने नेताहरू हामीले विगतमा धेरै देख्यौं’’, अनित थापाले थपे, ‘‘तर अब जनताले पनि बुझ्ने समय आएको छ। आफ्नै घर आँगनकालाई जितायौं भने उ एकदिन काम लाग्छ। टाढ़ाकालाई जितायौं भने भविष्यमा पश्चताप गर्नु मात्र हुनेछ।’’

अर्कोतिर अनित थापाले छुट्टै राज्य गोर्खाल्याण्डको माग राजनीतिक दलको सट्टा  विज्ञ व्यक्तिहरू मिलेर अराजनैतिक सङ्गठनमार्फत् माग्नुपर्ने बताए।

यसैगरी विगतमा भएका गोर्खाल्याण्ड आन्दोलनहरूले बेरोजगार जन्माउने काम मात्र गरेको पनि उनले बताए। यसअवसरमा श्रमिक सङ्गठन नेता प्रणाम रसाइली, युवा मोर्चा केन्द्रिय समिति सदस्य सञ्जीव छेत्रीलगायत अन्य स्थानीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here