दार्जिलिङ, १२ अगस्तः हिजो पत्ताबुङ गेस्ट हाउसमा विनय तामाङसँगको बैठकलाई विमल गुरुङले सौजन्यमूलक भेटवार्ता बताएका छन्। साथै विनय तामाङसँगै एकै मञ्चमा देखिने सम्भावना अहिलेघरी नरहेको तर राजनीतिमा सबै मिलेर कार्य आवश्यक रहेको बताए।
गुरुङले आज पत्रकारहरूसँग कुराकानी गर्दै हिजो विनय तामाङसँग पहाड़को स्थिति सुधारका लागि आगामी दिनमा के कस्ता कार्य गर्नसकिन्छ भन्ने विषयमा चर्चा भएका पनि जानकारी गराए।
“यो चार वर्षको अन्तरालमा पहाड़को स्थिति कसरी कमजोर भएको छ, त्यो स्थितिलाई सुधार गरी राम्रो बनाउनुपर्ने भन्ने विषयमा हामीबिच अलिकति भए पनि चर्चा भएको छ”, विमलले थपे, “किनभने पहाड़को स्थिति, तराई-डुवर्सको स्थितिलाई हेरेरै हामीले काम गर्नुपर्छ भन्ने हामीले सोचेका छौँ।”
गुरुङले अहिले विनयसँग मञ्च साझा भन्दा ठूलो कुरा अहिले पहाड़को वर्तमान स्थितिलाई राम्रो बनाउनु महत्त्वपूर्ण रहेको बताए।