भाजपा सरकारले केही नदिनका लागि त्रिपक्षीय वार्ता गर्छः अनित

0
866

कालेबुङ, १२ अगस्तः आउँदो सेप्टेम्बर महिनाको पहिलो सातामा हुने भनिएको त्रिपक्षीय वार्तामार्फत् भाजपा सरकारले केही दिन्छ भन्ने कुरामा अनित थापालाई ठ्याम्मै विश्वास छैन।

उनका अनुसार भाजपाले केही नदिनका लागि त्रिपक्षीय वार्ता गर्छ। दिनका लागि त्रिपक्षीय वार्ता गरिरहँदैन। किनभने लद्दाखलाई केन्द्रशासित प्रदेश बनाउँदा त्रिपक्षीय वार्ता गरेन।

अर्कोतिर, उनले विमल-विनयको बैठकलाई आफूले ध्यानै नदिएको र आफूलाई पहाड़को चिन्ता रहेको बताए। साथै राजनीतिक मञ्च विमल गुरुङलाई कहिले नभेट्ने दावी पनि दोहोऱ्याए।

“त्यो भेटलाई मैले हेरेकै छैन। म पहाड़को भविष्यको चिन्ता छ। आउने नानीहरूका रोजगारका चिन्ता छ। मलाई मेरो पहाड राम्रो बनाउनु छ। मैले त्यतितिर ध्यान दिए भने मेरो ध्यान भङ्ग हुनेछ। म लगातार काम नै गरिरहन्छु”, कर्मी सभापछि पत्रकारहरूसँग बोल्दै उनले भने।

यसैबिच एक प्रश्नको उत्तरमा थापाले नयाँ पार्टीको गठन समय काल र परिस्थितिले निर्धारण गर्ने र अहिले नै यसबारे ठोस निर्णय नभइहालेको पनि बताएका छन्।

यति मात्र होइन अनित थापाले जीटीएको मनोनित कुर्सीमा नजाने टेकमा आफू अडिग रहेको दोहोऱ्याए। साथै चुनाउ भए मात्र जीटीएको कुर्सीमा जाने बताए।

उल्लेखनीय छ, आजै कालेबुङ पुगेका थापाले पार्टी नेतृत्व र कार्यकर्ताहरूसँग कर्मी सभा गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here