दार्जीलिङ, 12 सेप्टेम्बरः गोर्खा रङ्गमञ्च भवनको शीर्ष (टुप्पो)-बाट आजभन्दा 6 वर्षअघि हटाइएको गोर्खा सिपाहीको मूर्तिलाई विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आउँदो 2 अक्टोबरका दिन राष्ट्रपिता महात्मा गान्धीको जन्म जयन्तीको अवसर पारेर पुनः त्यसै स्थानमा स्थापना गर्ने घोषणा गरेको छ, जसलाई हाल यस भवनको शीर्ष (टुप्पो)-मा अवस्थित गोर्खे माइती र चेलीको मूर्तिको मध्य भागमा स्थापना गर्ने योजना बनाएको पार्टी अध्यक्ष विनय तामाङले आज बताए।
स्मरण गराइन्छ, वर्ष 2014-मा जीटीएका तत्कालीन अध्यक्ष विमल गुरुङको निर्देशमा नै यस भवनको टुप्पोबाट गोर्खा सिपाहीको मूर्ति हटाइएको थियो, जुन मूर्ति सुवास घिसिङले दागोपापको कार्यभार सम्हाल्दा यहाँ स्थापना गरेका थिए। तर, 2014-मा विमल गुरुङले यो मूर्ति हटाउँदा व्यापक विरोध भएको थियो।
आज तकभर चौथो विभागस्थित एक सार्वजनिक भवनमा पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नै पार्टी अध्यक्ष तामाङले दार्जीलिङ पहाड़का चारैवटा नगरपालिकाका वार्ड-वार्डहरूबीच सफाइ प्रतियोगिता शुरू गरिएको पनि घोषणा गरे।
जुन वार्ड सबैभन्दा स्वच्छ हुनेछ, ती वार्डहरूलाई प्रथम, दोस्रो र तेस्रो पुरस्कारस्वरूप 20 हजार, 15 हजार र 10 रुपियाँ दिने पनि उनले बताए।
विनयका अनुसार जुन पुरस्कार राशि आगामी 27 सेप्टेम्बर विश्व पर्यटन दिवसको अवसर पारेर प्रदान गरिनेछ।
यसैबीच, उनले गत वर्ष चुनाउको समय दिएको वचनअनुसार, दार्जीलिङ पहाड़का जनतालाई उनीहरू बस्दै आएको जमिनको मालिकाना अधिकार दिलाउने दिशामा तीव्र गतिले काम भइरहेको पनि बताए।
उनले भने, गत 22 ‘‘अगस्तको दिन सौरेनीमा गोजमुमोको एक सभा भएको थियो, त्यस जसमा 6 वटा मुद्दामाथि विशेष काम गर्ने प्रस्ताव ग्रहण गरिएको थियो, जसमध्ये एउटा हो-पर्जा-पट्टा। हामीले यहाँका जनतालाई जमिनको मालिकाना अधिकार दिलाउने सङ्कल्प गरेका छौं। यसैले जिल्ला प्रशासनको निर्देशमा दार्जीलिङ र कालेबुङ जिल्लाका कतिपय स्थानमा सर्वेक्षण पनि शुरू भएको छ।’’
तामाङले हाल चुङथुङ, पान्दाम चियाबगान, गोरुबथान साथै कालेबुङका अन्य कतिपय स्थानमा पनि सर्वेक्षण भइरहेको जानकारी गराए।
‘‘हामीले यथार्थमा राजनीति गरिरहेका छौं, जे हुने सम्भव छ, त्यसका लागि मात्रै जनतालाई वचन दिइरहेका छौं। झूटो आश्वासन दिएर जनतालाई मूर्ख बनाउऩे काम गरेका छैनौं’’, विनयले थपे, ‘‘गोर्खाल्याण्ड हामी सबैको चाहना हो। सबैले नै गोर्खाल्याण्डको माग गरिरहेका छन्। तर केन्द्र सरकारले गोर्खाल्याण्ड दिए अनि यहाँका प्रत्येक जनताको जमिनको कागज पत्र मागे, के देखाउने? यसैले पर्जा-पट्टा पनि गोर्खाल्याण्डको पूर्वाधार नै हो। अहिले चियाबगानतिर सानो सार्वजनिक भवन बनाउन पनि जिल्लापालबाट अनुमति लिनुपर्ने अवस्था छ।’’
अहिले आफूहरूले राज्य सरकारसित कुटनैतिक सम्बन्ध बनाइरहेकाले पनि राज्यबाट हुनसक्ने धेरै काम गर्न सक्ने उनले दावी गरे।
यसका साथै आउँदा केही दिनभित्रै आफू फेरि कलकत्ता जाने र कलकत्ता भ्रमणावधि पछिल्लो मार्च महिनादेखि दार्जीलिङ पहाड़मा हुनपर्ने थाँतीमा रहेका कामहरू गराउनका लागि नै पहल गर्ने बताए।
यसैबीच, तामाङले दार्जीलिङ पहाड़मा 6 वटा विधानसभा आसन हुनुपर्ने, पहाड़ी क्षेत्रमा एउटा संसदीय आसन हुनपर्ने पार्टीको अर्को मुख्य मुद्दा रहेको बताउँदै यसका लागि चुनाउ आयोगसमक्ष पत्राचार पनि गर्न थालिएको बताए।