वार्ताको पत्र नआए मलाई जलाउँदा हुन्छः जिम्बा

0
1218

दार्जिलिङ, १२ सेप्टेम्बरः त्रिपक्षीय वार्ताको पत्र चाँडै आउने ठोकुवा गरेका दार्जिलिङका भाजपा विधायक नीरज जिम्बाले भने-“वार्ताको पत्र नआए मलाई नै जलाउँदा हुन्छ। म यसका लागि तयार छु। यो मेरो राजनीतिक प्रतिबद्धता हो।”

वार्ताको पत्र आजका दिनसम्म नआएकाले भारती गुट गोर्खा लीगले आज (आइतबार) पनि सांसद राजुको पुतलामा जुत्ताको माला निकालेर विरोध प्रदर्शन गऱ्यो। यो प्रदर्शन स्थानीय हर्मिटेजस्थित सांसदको कार्यालयसम्म पुग्यो। त्यहाँ अघिबाटै उपस्थित विधायक जिम्बा, गोरामुमो नेता सन्दीप लिम्बू, ऋषि थापा र अन्य धेरै कार्यकर्ता उपस्थित थिए।

दुवै समूहबिच चर्को तर्कातर्की पनि भयो।

तर्कातर्कीमा विधायकले भाषाको मर्यादासमेत भुलेका थिए।

यसैबिच जिम्बाले एसपी शर्मा र विक्रमादि राईलाई सयपत्रीको माला लगाइदिँदै ‘कुकुर तिहार नसम्झिदिने’ भन्दै सांसदको कार्यालयभित्र गएर कुरा गर्ने अपील गरेका थिए, तर मिडियाहरूलाई साथमा लिएर मात्र भित्र पस्ने अडान राखे। केही अप्रिय घटना हुनसक्ने आशङ्का गर्दै मिडियालाई पनि साथमै लिएर भित्र पस्ने एसपी शर्माहरूका भनाइ थियो। जिम्बाले न  मिडियालाई साथ लिएर भित्र पस्ने एसपी शर्माहरूका कुरा माने न त खुल्ला बहसको चुनौतीलाई स्वीकार गरे।

“यहाँ हामी बसेर बहस गर्दा गोर्खाल्यान्ड हुन्छ”, उल्टै जिम्बाले प्रश्न गरे। यति मात्र होइन दार्जिलिङमा बहस गर्दा जोकर भइने विधायकको भनाइ थियो।

यसैबिच, एसपी शर्माहरूले तयार पारेर लगेका दुईवटा प्रश्नलाई जिम्बाले स्वीकार गरे, जसमा लेखिएको थियो-१२ अगस्त बितेर आज १२ सेप्टेम्बर भयो, खोई पत्र? सांसद, विधायक र केन्द्रीय गृहमन्त्रीको आश्वासन किन सधैँ खोक्रो मात्रै भयो?

यी दुवै प्रश्न सांसदसमक्ष पुऱ्याउने वचन दिँदै जिम्बाले भने, “सांसद राजु बिष्टले आफ्ना काम गरिरहेका छन्। काम हुनमा केही समय अवश्यै लाग्न सक्छ। तर वार्ताका लागि पत्र पनि आउनेछ अनि वार्ता पनि हुनेछ। मिति भन्न सकिँदैन।”

साथै विधायकले एसपी शर्माहरूलाई बङ्गालतर्फ फर्किएर आन्दोलन गर्ने पनि अपील गरे, किनभने गोर्खाल्याण्डको विरोध गर्ने बङ्गाल हो।

यसपछि एसपी शर्माले आफ्ना कुरा राखेका थिए।

उनले भने, “दिल्लीबाट सांसदले भनेका कुराको मर्यादा राख्ने हामीले आशा गरेका थियौँ। यसैले वार्ताको मिति तय नभएसम्म गोर्खालीगको यो कार्यक्रम जारी रहन्छ भन्ने कुरा हामीले अघिबाटै भनिसकेका छौँ।”

बङ्गालतर्फ फर्किएर आन्दोलन गर्ने कुराको जवाब दिँदै शर्माले थपे, “एउटा राज्यले अर्को राज्य दिन सक्तैन भन्ने कुरा हामीलाई राम्रोसित थाह छ। यसैले जुन गाउँ जाने आवश्यकता नै छैन, त्यो गाउँ जाने बाटो किन सोधिरहने? छुट्टै राज्य दिने ठाउँ नै लोकसभा हो र यसका लागि सांसदको माध्यमबाट चाप दिने कार्य मात्रै गरिएको हो।“

उल्लेखनीय छ, केन्द्रिय गृहमन्त्री अमित शाहले १२ अगस्तभित्र पीपीएस विषयमाथि त्रिपक्षीय वार्ता गर्नका लागि पत्र पठाउने अनि सेप्टेम्बरको प्रथम साताभित्र वार्ता हुने आश्वासन दिएका थिए।

यसबारे सांसद राजु बिष्टले दिल्लीबाट घोषणा गरेका थिए, तर १२ अगस्तसम्म पनि वार्ताका लागि पत्र नआएपछि नै गोर्खा लीग भारती गुटले सांसद बिष्टको विरोध गर्न शुरू गरेको हो, जसलाई अर्को साता आइतबार पनि जारी राख्ने शर्माले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here