दार्जिलिङ, १२ सेप्टेम्बरः रिम्बिक-लोधोमा समष्टिको काङ्केबुङमा आज वाहन दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको मर्मान्तिक घटना प्रकाशमा आएको छ।
यो दुर्घटना आज अपराह्न करिब ४.३० बजे भएको बताइएको छ।
लोधोमा थानाका अनुसार बालुवा लिएर काङ्केबुङतर्फबाट डब्ल्यूबी ७३ डी १८६२ नम्बरको पिकअप वाहन दुर्घटना हुँदा ३१ वर्षीय कविता लकान्द्री र उनका ९ वर्षीय छोरो रिकेश विश्वकर्मको घटनास्थलमै मृत्यु भएको हो।
अर्कोतिर, वाहनका चालक मुन्ना गुप्ता गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि दार्जिलिङ पठाइएको बताइएको छ।
स्थानीय मानिसहरूका अनुसार सडकको दुरवस्थाका कारण यो दुर्घटना भएको हो।
सडकमा बनेका ठूल्ठूला खाल्डोका कारण उकालो चढ्न नसकेर ब्याक हुँदा उक्त पिकअप वाहन मूल सडकबाट तल झरेको स्थानीय मानिसहरूका भनाइ छ।
उकालो बाटो त्यैमाथि ठूल्ठूला खाडल; सडकको दुरवस्थाका कारण चालक र यात्रुहरूले जोखिम उठाएर यात्रा गरिरहेका छन्।
उल्लेखनीय छ, काङ्केबुङ जाने यो मूल सडकको अवस्था हाल बेहाल बनेको छ।
केही महिना अघि मात्र निर्माणकार्य पूरा भएको यस सडकमा अलकत्रा उप्किएर ठाउँ ठाउँमा खाड़ल बनेका छन्।
एक साता अघि नै स्थानीय मानिसहरूले सडकको निर्माणकार्यको गुणस्तरमाथि प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।