दार्जिलिङ, १२ सेप्टेम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) छाड़ेर अजय एड्वर्डलाई समर्थन जनाउनेहरूका सङ्ख्या प्रतिदिन बाक्लिँदै गइरहेको छ।
पछिल्ला केही दिनदेखि समर्थन कार्यक्रमले निरन्तरता पाइरहेको छ।
यसैक्रममा आज लेबुङभेल्ली समष्टिका गोरामुमो अध्यक्ष राजु सुब्बाले पनि पार्टीबाट राजीनामा दिएर अजय एड्वर्डलाई समर्थन जनाए।
सुब्बा एचपीडब्ल्यूयूका केन्द्रीय कार्यकारी समितिका सदस्य पनि थिए।
यसैगरी गोरामुमो सिंहमारी-तकभर समष्टिका अध्यक्ष प्रतिम सुब्बाले पनि पार्टीबाट राजीनामा दिएर एड्वर्डलाई समर्थन जनाएका छन्।
अर्कोतिर, लप्चु-पेशोक समष्टिअन्तर्गत लामाहट्टा वार्ड नम्बर १४ रहेको गोरामुमो शाखा कमिटीका सबै पदाधिकारीले गोरामुमो छाड़ेका छन्।
उनीहरूले अजय एड्वर्डलाई समर्थन जनाउनका लागि गोरामुमो छाड़ेका हुन्।
सामेल हुनेहरू सबैले अजय एड्वर्डको कार्य र सेवालाई हेरेर समर्थन जनाएको बताएका छन्।
यति मात्र होइन, आज अजय एड्वर्डलाई समर्थन जनाउनका लागि विभिन्न स्थानमा धेरै मानिस दार्जिलिङ आएका थिए।