शहीद थापाको सम्मानमा दोकानपाट बन्द, भोलि पार्थिव शरीर बाघडुग्रा ल्याइपुऱ्याइने

0
984
शहीद थापाका परिवारसँग भेट गर्न पुगेका मेयर अशोक भट्टाचार्य।

सिलगढ़ी, 12 अक्टोबर : शुक्रवार पाकिस्तानी सेनाद्वारा गरिएको गोलीबारीमा शहीद भएका नाइक सुवास थापाको सम्मानमा शनिवार अप्पर बाघडुग्राका सम्पूर्ण दोकानपाटलगायत वाणिज्यिक संस्थानहरू बन्द राखियो।

3/5 गोर्खा राइफल्सका नाइक पदमा रहेका 25 वर्षे लक्का जवान सुवास थापा हिजो पाक सेनाको गोलीबारीमा गम्भीर घाइते भए। पछि उधमपुरस्थित सेनाको अस्पतालमा उपचारको क्रममा उनको निधन भयो।

जानकारीका अनुसार युद्धविरामको उल्लङ्घन गर्दै पाक सेनाले रजौरी जिल्लाको नौशेरा सेक्टरमा भारतीय सेनाको अग्रिम चौकीलाई लक्षित गरी सखारै 5:50 बजेदेखि 7:30 बजेसम्म गोलीबारी गरेको थियो। यसै गोलीबारीमा सुवासलगायत  दुई जवान घाइते भएका थिए।

अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा शहीद बनेको खबर फैलिएलगत्तै गाउँ शोकमा डुबेको छ। परिवारका सदस्यहरू रोएर बेहाल बनेका छन्। शनिवार शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्न राजनीतिक नेताहरूलगायत अन्य मानिसहरू थापाको घरमा पुगेका थिए।

यसैबीच, शहीद सुवासका पिता टेक बहादुर थापाले आफ्ना छोरो शहीद भएको खबर हिजो बिहानै पाएको बताए।

उनले भने, ‘हिजो बिहान मेरो छोरो शहीद बनेको खबर पाए। यो खबरले अवाक बनेँ। छोरो गुमाउनु आमा-बाबाका लागि अत्यन्त ठूलो पीड़ा हो। तर मलाई गर्व छ, मेरो छोरोले देशका लागि आफ्नो जीवन बलिदान दिएका छन्।छोरोको सर्वोच्च बलिदानमा गर्व महसुस गरिरहे तापनि पुत्र वियोगले उनको गला अवरूद्ध बनेको थियो।

25 वर्ष मात्र पुगेका सुवास दुई छोरामध्ये कान्छा छोरा थिए। उनी 2011 सालमा भारतीय सेनामा भर्ती भएका थिए। जानकारीका अनुसार सुवासले आफ्नी आमा पद्मा थापालाई आउँदो नोभेम्बर महिनामा घर आउने बताएका थिए।

नोभेम्बर महिना पर्खेर बसेकी आमा पद्मा थापा रोएर बेहाल बनेकी छन्। छोरोको मृत्यु पीड़ा खप्न नसकेकी उनलाई बाघडुग्रास्थित 158 बेस अस्पतालमा भर्ना गरिएको छ। प्रेसर धेरै घटेको र तनाउले उनी धेरै कमजोर बनेको बताइएको छ।

अर्कोतिर, शहीद सुवास थापाको पार्थिव शरीर भोलि अपराह्न 2:25 बजे नयाँ दिल्लीबाट विशेष विमानमार्फत् बाघडुग्रा हवाईअड्डा ल्याइपुर्‍याइनेछ। यसबारे सोही पल्टनका पूर्व हवल्दार बाबु थापाले जानकारी गराएका छन्।

यसैबीच, आज कङ्ग्रेस विधायक शङ्कर मालाकार, सिलगढ़ी नगरनिगमका मेयर एवं सिलगढ़ीका विधायक अशोक भट्टाचार्यलगायत अन्य राजनीतिक नेताहरू शहीद सुवास थापाको घरमा पुगेका थिए। यसअवधि उनीहरूले शहीदका परिवारलाई भेट गरी शोक समवेदना प्रकट गरे। अर्कोतिर, आजै शहीद सुवास थापाको सम्मानमा बाघडुग्रा तथा यसका वरिपरिका सयौं मानिसहरूले अप्पर बाघडुग्रादेखि एयरपोर्ट मोड़सम्म ममबत्ती र्‍याली निकालेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।

यसैगरी भोलि अर्थात् आइतवार शहीद थापाको सम्मानमा बाघडुग्राका सम्पूर्ण दोकानपाट तथा व्यापारिक संस्थानहरू दुई घण्टा बन्द राखिने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here