फेरि आश्वासन, अब अर्को वार्ता नोभेम्बरमा

0
977

दार्जिलिङ, १२ अक्टोबरः गोर्खा जातिका मुद्दासम्बन्धमा आज केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा सम्पन्न वार्ता सफल भएको दार्जिलिङका सांसद राजु बिष्टले दावी गरेका छन्।

अर्कोतिर अब दोस्रो वार्ता तिहारपछि नोभेम्बर महिनाको दोस्रो साता हुने बिष्टले बताएका छन्।

उनका अनुसार गृहमन्त्रीले गोर्खा जातिको माग पूरा गर्न भारत सरकारले इमानदारपूर्वक प्रयास गरी हल गर्ने आश्वासन दिएका छन्।

यति मात्र होइन, बिष्टले आजका दिनलाई भारतीय गोर्खाहरूका लागि ऐतिहासिक बताएका छन्।

उनका अनुसार ऐतिहासिक यस अर्थमा कि  प्रथमपटक कुनै आन्दोलन र बन्द नगरी गृहमन्त्रीसँग एक घण्टाभन्दा बढ़ी समय वार्ता गर्न सम्भव बन्यो।

“यो वार्ता धेरै ऐतिहासिक थियो। वार्ता सफल रह्यो”, उनले थपे, “हामीले हाम्रो माग गृहमन्त्रीसमक्ष राखेका छौँ। गृहमन्त्रीले पनि आश्वासन दिएका छन्- हाम्रो जुन माग छ; त्यसका लागि भारत सरकार इमानदारपूर्वक प्रयास गर्नेछ। साथै हल गर्नेछ।”

उनले आजको त्रिपक्षीय वार्ता केन्द्र सरकार, बङ्गाल सरकारका प्रतिनिधि र गोर्खा जातिका प्रतिनिधिहरूबिच भएको थियो।

बङ्गाल सरकारको तर्फबाट रेसिडेन्सियल कमीश्नर उपस्थित थियो। केन्द्र सरकारको तर्फबाट गृहमन्त्री अमित शाहलगायत गृह राज्यमन्त्री नित्यानन्द राय, अल्पसङ्ख्यक मामिला राज्यमन्त्री जोन बारला तथा गोर्खा जातिका प्रतिनिधिका रूपमा सांसद राजु बिष्ट, डुवर्स कालचिनीका विधायक विशाल लामा, खरसाङका विधायक बीपी बजगाइँ, दार्जिलिङका विधायक नीरज जिम्बालगायत भाजपाका घटक दलहरू क्रमैले क्रामाकपा अध्यक्ष आरबी राई, गोरामुमो अध्यक्ष मन घिसिङ, गोरानिमो प्रमुख दावा पाख्रिन, गोर्खा लीग प्रताप गुटका कार्यकारी अध्यक्ष प्रताप खाती, सुमेटि मोर्चा प्रमुख विकास राई र भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान उपस्थित थिए।

वार्ताअवधि गृहमन्त्रीले स्पष्ट रूपमा आफूहरू गोर्खाको साथमा रहेको र न्याय दिने वचनबद्धता जाहेर गरेको राजु बिष्टको दावी छ।

अर्कोतिर, गोर्खा जातिको जुन ऐतिहासिक दस्तावेज छ, त्यसका कारण पनि गोर्खा जातिका ११ जातगोष्ठीले जनजातिको मान्यता पाउनु अधिकार रहेको सांसदले बताएका छन्।

यसैगरी सङ्कल्प-पत्रमा वाचा गरिएको स्थायी राजनीतिक समाधान (पीपीएस)-का लागि भाजपा प्रतिबद्ध रहेको र आजको वार्ता यसै विषयमा भएको पनि सांसद राजु बिष्टले बताएका छन्। तर वार्तामा भएका सबै कुरा भने मिडियाअघि सार्वजनिक गर्न नमिल्ने उनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here