कथाकार गुप्त प्रधानको निधन

0
1227

दार्जिलिङ, १२ अक्टोबर : मूर्धन्य कथाकार गुप्त प्रधान अब हामीमाझ सशरीर रहेनन् । उनको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको जानकारी प्राप्त भएको छ । उनी पछिल्ला केही वर्षयता बिरामी थिए । कथाकार प्रधानको जन्म १९४५ को ४ जुलाईका दिनका दिन ब्लुमफिल्ड दार्जिलिङमा भएको थियो ।

मान्छे मान्छेकै बस्ती कथाले सर्वाधिक चर्चित कथाकार गुप्त प्रधानले २०१५ मा समयका प्रतिबिम्बहरू कथा सङ्ग्रहमा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए ।

उनका प्रकाशित अन्य कृतिहरूमा विस्थापन (सहउपन्यास- १९७७), मान्छे मान्छेकै बस्तीभित्र (कथा सङ्ग्रह – १९८०), अक्षरै अक्षरको शहर (कथा सङ्ग्रह – १९९३), विराम चिह्नहरू (कथा सङ्ग्रह – २००२), जूनका अनुहारहरू (कथा सङ्ग्रह – २०२०), देश-विदेशका कथाहरू ( अनूदित कथा सङ्ग्रह – १९९१), केही विषयहरू केही विशेषताहरू (लेख सङ्ग्रह – २००८), केही दस्तावेज केही विचार ( लेख सङ्ग्रह – २०१६), धूमिल पृष्ठहरू (२००६) आदि प्रकाशित छन् ।

कथाका चर्चित यी स्रष्टा साहित्य अकादमी पुरस्कारबाहेक स्रष्टा पुरस्कार (गेजिङ), दियालो पुरस्कार (दार्जिलिङ), पारसमणि पुरस्कार कालेबुङ, अरुगि पुरस्कार खरसाङ, साहित्य सम्मेलन पुरस्कार दार्जिलिङले सम्मानित भएका थिए।

नेपाली साहित्यको श्रीवृद्धिमा उनको पुऱ्याएको उल्लेखनीय योगदानको कदर गर्दै विकास कार्कीको सम्पादनमा मेदिनीपुर सलुवाबाट प्रकाशित परदेशी पत्रिकाले मार्च २०२० मा परदेशी गुप्त प्रधान अभिनन्दन ग्रन्थ प्रकाशित गरी सम्मान जनाइएको छ ।

यी मूर्धन्य कथाकार गुप्त प्रधानको निधनले नेपाली साहित्य जगत् शोकमा डुबेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here