केन्द्रिय मन्त्री अनन्त कुमार (22 जुलाई 1959 -11 नोभेम्बर 2018 )। |
बेङ्ग्लुरु, 12 नोभेम्बर : केन्द्रिय मन्त्री अनन्त कुमार अब हामीबीच सशरीर रहेनन्।
लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीड़ित मन्त्री अनन्त कुमारको आइतवार अबेर राति बेङ्ग्लुरुको एक निजी अस्पतालमा मृत्यु निधन भयो।
उनको अन्तिम संस्कार पूर्ण राजकीय सम्मानसँग मङ्गलवार गरिनेछ। केन्द्रिय मन्त्री कुमारको सम्मानमा देशभरि सोमवार राष्ट्रिय ध्वज आधा झुकाउने गृह मन्त्रालयले घोषणा गरेको छ।
बेङ्ग्लुरुको शङ्करा अस्पतालका निदेशक नागराजका अनुसार अनन्त कुमार (59) -को निधन आइतवार अबेर राति 2 बजे भएको हो। त्यससमय उनकी पत्नी तेजस्विनी र दुवै छोरी अस्पतालमा नै उपस्थित थिए।
अनन्त कुमारका निधनमा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहसमेत अन्य सबै नेताले शोक व्यक्त गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) –को कर्नाटक एकाइका अनुसार केन्द्रिय संसदीय कार्य मन्त्री अनन्त कुमारको अन्तिम संस्कार मङ्गलवार अपरान्ह 1 बजे गरिनेछ। भाजपाका प्रदेश महासचिव एन. रवि कुमारले बताएअनुसार कुमारको पार्थिव शरीर सोमवार दिनभरि बसवानागढ़ीस्थित उनको निजी आवासमा राखिनेछ।
मङ्गलवार बिहान 8 बजे अनन्त कुमारको पार्थिव शरीरलाई मल्लेश्वरमस्थित भाजपाको प्रदेश कार्यालय, जगन्नाथ भवन लगिनेछ, जहाँ पार्टी कार्यकर्ता एवं उनका समर्थकहरूले दिवङ्गत कुमारलाई श्रद्धाञ्जली दिनेछन्।
त्यसपछि कुमारको पार्थिव शरीरलाई नेशनल कलेज ग्राउण्ड लगिनेछ, जहाँ आम मानिसहरूले उनलाई श्रद्धाञ्जली दिनसक्नेछन्। कुमारको अन्तिम संस्कार अपरान्ह बजे चामराजापेट श्मशान घाटमा गरिनेछ।
अमेरिका र इङ्ग्ल्याण्डमा उपचार गराइ उनी केही दिन अघि मात्र बेङ्ग्लुरु फर्केका थिए। पछि उनको उपचार स्थानीय शङ्करा अस्पतालमा भइरहेको थियो। भाजपा सूत्रका अनुसार कुमारको शवलाई श्रद्धाञ्जली दिनका लागि नेशनल कलेज ग्राउण्डमा राखिनेछ।
अस्पताल सूत्रका अनुसार उनी पछिल्ला केही दिनदेखि सघन निगरानी कक्ष (आईसीयू) –मा कृत्रिम जीवन रक्षक प्रणालीमा थिए। कुमारको निधनमा शोक प्रकट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, “म आफ्ना महत्त्वपूर्ण साथी एवं मित्रको निधनले अत्यन्त दुःखी छु।”
मोदीले एक अन्य ट्वीटमा भनेका छन्, “अनन्त कुमार जी सक्षम प्रशासक थिए, जसले धेरै मन्त्रालयको जिम्मेवारी सम्हाले। र भाजपा सङ्गठनका लागि एक धरोहर थिए। उनले पार्टीलाई कर्नाटक र विशेषगरी बेङ्ग्लुरुको छेउछाउका क्षेत्रहरूमा बलियो बनाउनका लागि कठोर परिश्रम गरे। उनी आफ्ना क्षेत्रका जनताका लागि सुलभ रहन्थे।”
प्रधानमन्त्रीले अनन्त कुमारकी पत्नी डा. तेजश्विनीसँग कुराकानी गरी आफ्नो समवेदना प्रकट गरे। उनले भने, “यो दुःखको घड़ीमा मेरो समवेदना उनका सम्पूर्ण परिवार, मित्र र समर्थकहरूप्रति छ। ओम शान्ति।”
उल्लेखनीय छ, सन् 1996 –देखि दक्षिणी बेङ्गलुरुको लोकसभा सीटबाट प्रतिनिधित्व गर्ने उनीसँग वर्तमानमा दुईवटा महत्त्वपूर्ण मन्त्रालय थियो। उनी केन्द्रको नरेन्द्र मोदी सरकारका प्रभावशाली नेतामध्ये एक थिए।
अनन्त कुमारलाई सन् 2014-मा रसायन एवं उर्वरक मन्त्रालयको जिम्मा सुम्पिएको थियो। जुलाई, 2016 मा उनलाई संसदीय कार्यमन्त्री पनि बनाइयो। 22 जुलाई, 1959 –मा बेङ्ग्लुरुमा जन्मेका अनन्त कुमारले केएस आर्ट्स कलेजबाट स्नातकसम्मको शिक्षा आर्जन गर्नका साथै जेएसएस ल कलेजबाट उनले एलएलबीको अध्ययन गरेका थिए।