दार्जीलिङ, 12 नोभेम्बरः केन्द्रले दार्जीलिङको स्थायी राजनीतिक समाधानका लागि चाँड़ै बैठक डाक्ने दाबी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले गरेको छ।
मङ्गलवार दार्जीलिङको प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले यस्तो दाबी गरेका हुन्।
उल्लेखनीय छ, केही दिनअघि पार्टी अध्यक्ष मन घिसिङ र उनी दिल्ली गएका थिए। त्यसबेला दिल्लीमा दार्जीलिङको मुद्दाबारे यहाँका सांसद राजु विष्टसँग चर्चा-परिचर्चा गर्ने बताइएको थियो।
यसै सन्दर्भमा आज दिल्लीमा भएको भेटवार्ताबारे बोल्दै एडवर्डले पहाड़का विभिन्न राजनीतिक दलहरूलाई दार्जीलिङको स्थायी राजनीतिक समाधानबारे केन्द्रले चाँड़ै बैठक बोलाउने दाबी गर्दै उक्त प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले बोलाउने आशा गरेका हुन्।
“गोरामुमो साथै दार्जीलिङ पहाड़का अन्य राजनीतिक पार्टीहरूले दार्जीलिङको स्थायी राजनीतिक समाधानका लागि नै गत लोकसभा चुनाउमा भाजपालाई समर्थन जनाएका थिए। यसबारे भाजपाले आफ्नो चुनावी घोषणा-पत्रमा पनि उल्लेख गरेको थियो”, उनले थपे, “यसै विषय लिएर कुराकानी गर्न अनि भाजपाले दार्जीलिङको स्थायी राजनैतिक समाधान गर्न के-कस्तो पहल गरिरहेको छ भन्नेबारे बुझ्नका लागि नै पार्टी अध्यक्ष मन घिसिङ र म केही दिनअघि दिल्ली गएका थियौं अनि हामीले सांसद राजु विष्टसित भेट गर्यौं।”
एड्वर्डका अनुसार यस भेटवार्ताअवधि राजु विष्टले दार्जीलिङको स्थायी राजनीतिक समाधानका लागि लगाताररूपले केन्द्रिय गृहमन्त्री अमित शाहसित कुराकानी र पत्राचार गरिरहेको प्रमाण प्रस्तुत गरेका थिए। यसबाट गोरामुमोले हर्ष प्रकट गरेको उनको भनाइ छ।
यति मात्रै होइन, यसै विषय लिएर शीघ्रै प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहले दार्जीलिङका भाजपाका घटक दलहरूलाई शीघ्रै वार्ताका लागि बोलाउने गोरामुमोले आशा गरेको उनले थप बताएका छन्।
“दार्जीलिङको स्थायी राजनीतिक समाधानका लागि केन्द्र सरकारले त्रिपक्षीय वार्ता गर्छ वा द्विपक्षीय, त्यो केन्द्र सरकारले नै ठीक गर्नसक्छ। तर यस विषय लिएर शीघ्रै वार्ता गर्नसक्ने प्रबल सम्भावना छ”, उनले थपे।
एक प्रश्नको उत्तरमा उनले भने, “गोरामुमोले स्थायी राजनीतिक समाधान भनेको नै छुट्टै राज्य गोर्खाल्याण्ड हो। तरै पनि बङ्गालबाट छुट्टै कुनै पनि व्यवस्थालाई गोरामुमोले स्वीकार गर्नेछ। चाहे त्यो युनियन टेरिटोरी होस् वा छुट्टै राज्य। देशको वर्तमान केन्द्र सरकारले जम्मू-कश्मीरबाट 370 धारा हटाएर आफ्नो इच्छाशक्ति देखाइसकेको छ भने राम मन्दिरको मुद्दामा पनि आफ्नो कटिबद्धता देखाइसकेको छ। यसैले अब पालो गोर्खा जातिको समस्या समाधानको आएको छ।”
यसैबीच, उनले गत लोकसभा चुनाउमा भाजपाले आफ्नो घोषणा पत्रमा गोर्खा जातिका लागि उल्लेख गरेका मुद्दाहरूमध्ये एउटा मुद्दालाई यसपालिको संसद सत्रमा प्रस्तुत गर्ने तयारी गरिरहेको पनि थाह लागेको जानकारी गराए।
स्मरण रहोस्, भारतीय जनता पार्टीले गत लोकसभा चुनाउमा जारी गरेको आफ्नो चुनावी घोषणा पत्रमा दार्जीलिङका लागि स्थायी राजनीतिक समाधान गर्ने र 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिलाउनेबारे आश्वासन दिइएको थियो।
उनले दिल्लीमा सांसद राजु विष्टसित भेटघाट गरेपछि सन्तुष्ट बनेको बताउँदै विष्टसितको बैठक अति नै फलप्रद भएको थियो।
यसैले सम्भवतः आगामी 14 नोभेम्बरको दिन गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-को एक प्रतिनिधि टोली पनि सांसद विष्टसित भेट गर्न दिल्ली जाने भएको एड्वर्डले जानकारी गराए।
यो टोलीले सांसद विष्टसित चियाकमान र चियाश्रमिकहरूका विविध समस्या समाधानका लागि कुरा गर्ने भएको छ।
यसैबीच उनले दार्जीलिङको स्थायी राजनीतिक समाधानप्रति जोड़ दिँदै भने, “दार्जीलिङ पहाड़का जनताले गत लोकसभा चुनाउमा भाजपाप्रति जुन जनसमर्थन देखाएका छन्, त्यसको अवश्यै कदर हुने भएको छ, सांसद राजु विष्टसित भएको वार्तालापबाट यो स्पष्ट भएको छ।”