दार्जीलिङ, 12 नोभेम्बर: विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले तिहार सकिनसाथ तकभरमा एक विराट् जनसभा गर्ने घोषणा गरेको छ।
आज पार्टी अध्यक्ष विनय तामाङले तिहार सकिएपछि तकभरमा एक जनसभाको आयोजना गर्ने तय गरिएको बताउँदै आफूले हरियो झण्डा नदेखाएसम्म विमल गुरुङको पहाड़मा आगमन हुनै नसक्ने पनि ठोकुवा गरे।
एक पत्रकार सम्मेलनको आयोजन गरी उनले तिहारपछि दार्जीलिङ महकुमामा पर्ने 17 वटा समष्टिका पार्टी कार्यकर्ताहरूलाई सामेल गराइ जनसभा गरिने भएको जनाए।
यद्यपि, अहिले नै यसको मिति भने तय नभएको विनयको भनाइ छ।
एक प्रश्नको उत्तरमा तामाङले भने, “पछिल्लो 21 अक्टोबरका दिन विमल गुरुङ कलकत्तामा देखिएका थिए अनि उनले त्यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरेका थिए। त्यसपछि दार्जीलिङ पहाड़मा विमल गुरुङपन्थी गोजमुमोका समर्थकहरू धेरै उत्तेजित बनिरहेका छन्, धेरै उताउलो गरिरहेका छन्। तर, बेसी उताउलो गरे आफैलाई हानि पुग्नेछ। यसैले सबैले मिलेर दार्जीलिङ पहाड़लाई शान्त बनाइ राख्नुपर्छ।’’
उनका अनुसार दार्जीलिङ पहाड़मा विगत 3 वर्षदेखि शान्ति थियो, कुनै झमेला भएको थिएन। तर, अहिले बिस्तारै पहाड़मा अशान्तिको माहोल बनिरहेको छ।
यस विषयमाथि राज्य सरकार साथै पुलिस प्रशासनले ध्यान दिनुपर्ने पनि तामाङले बताएका छन्।
“विमल गुरुङ आउने खबरले मात्रै पहाड़मा अशान्ति फैलिरहेको छ भने उनी यहाँ आए अशान्ति अझै बढ़ेर जानसक्ने प्रबल सम्भावना छ। यसैले पहाड़लाई शान्त राख्नका लागि प्रशासनले विशेष ध्यान दिनुपर्छ’’, उनले भने।
विमलपन्थी गोजमुमो अध्यक्ष विमल गुरुङ पहाड़मा आउनै नसक्ने किटान गर्दै विनयले भने, “जबसम्म मैले हरियो झण्डा देखाउँदिनँ, तबसम्म विमल गुरुङ दार्जीलिङ आउन सक्तैनन्।’’
यसैबीच, तामाङले राज्य सरकारद्वारा पुलिसमा गोर्खा बटालियनको स्थापना गर्ने र यस बटालियनमा एक हजार गोर्खा युवाको भर्ना गर्नेबारे लिएको निर्णयको स्वागत जनाएका छन्।
साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाको हितमा धेरै काम गरिरहेको दावी गरे।
यसैगरी राज्यमा स्थापना गरिने गोर्खा बटालियनका कारण यहाँको बेरोजगार समस्या पनि केही हदसम्म समाधान हुने उनले आशा व्यक्त गरे।