दार्जिलिङ, १२ नोभेम्बरः जीटीए चुनाउ माग गरिरहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-ले चुनाउको तयारी शुरू गर्दै आज २१ सदस्यीय चुनाउ संयोजन कमिटी गठन गरेको छ।
यो कमिटी आज गठन गरिएको हो।
कमिटीमा दार्जिलिङबाट तिलक चन्द रोका, डीके प्रधान, एसएन प्रधान, विजय राई, मुनिन्द्र लामा, गीता छेत्री बिनीता खम्बु राई र दावा लामा, खरसाङबाट समीर दीप ब्लोन, रतन थापा, आशा मुखिया लामा र लक्ष्मण राई कालेबुङबाट सीबी गुरुङ, रुदेन सादा लेप्चा तारा लोहार तथा मिरिकबाट विष्णु गोले र फुबी राई रहेका छन्।
“अहिले जुन जीटीए व्यवस्था छ, त्यो त चल्नु पऱ्यो नि”, अनित थापाले भने, “यो व्यवस्थामा अझ राम्रोसँग हामीले अघि बढ़ाएर लानुपर्छ।”
उनले परोक्ष रूपले फेरि एकपटक विमल गुरुङमाथि कटाक्ष गरे। “जसले मन परेन भन्दैछन्, उसैले थापेको व्यवस्था हो यो”, थापाले थपे, “मन परेन भने थाप्नै हुँदैन नि।”
उनका अनुसार एउटा व्यवस्था बनिएपछि जनताले आशा गरेका हुन्छन्। जनताले आशा भरोसा गरेपछि चुनावी राजनीतिमा जानैपर्ने अनित थापाको भनाइ छ। अर्कोतिर उनले जीटीए क्षेत्रका ४५ वटै समष्टिमा चुनाउ कमिटी गठन गर्ने पनि बताएका छन्।