गोर्खाल्यान्डमाथि राष्ट्रिय विमर्श : गोएएसले गोर्खा नेसनल एसेम्ब्ली गर्ने

0
17

दार्जिलिङ, १२ नोभेम्बर : छुट्टै राज्य गोर्खाल्यान्डका लागि निरन्तर कार्य गर्दै आइरहेको गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले नयाँ दिल्लीमा गोर्खा नेसनल एसेम्ब्ली आयोजना गर्ने निधो गरेको छ ।

आज दार्जिलिङको प्रेस गिल्डमा पत्रकार सम्मेलनअवधि गोर्खाल्यान्ड एक्टिभिस्ट समूहका मुख्य संयोजक किशोर प्रधान र कोषाध्यक्ष विन्द्‌या डुक्पाले यसबारे जानकारी गराएका हुन् ।

उनीहरूका अनुसार यो एसेम्ब्ली २२ र २३ नोभेम्बरका दिन आयोजना गरिनेछ, जसमा सर्वभारतीय स्तरका गोर्खाहरूका सङ्घ-संस्थाका प्रतिनिधिहरूलाई निम्त्याएर छुट्टै राज्य गोर्खाल्यान्ड गठन विषयमा विमर्श गरिनेछ ।

यस कार्यक्रमलाई सफल बनाउन गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले सर्वभारतीय गोर्खाहरूबाट आर्थिक र बौद्धिक सहभागिताको अपेक्षा राखेका छन् ।

 “प्रत्येक वर्ष नै संसदको हरेक सत्रमा गोर्खाल्यान्ड गठनको मागमा हामीले नयाँ दिल्लीमा धर्ना प्रदर्शन गर्दै आइरहेका छौँ । यस वर्ष पनि हामीले वर्षाकालीन सत्रमा गोर्खाल्यान्डको मागमा दिल्लीमा धर्ना प्रदर्शन कार्य गरी आयौँ”, विन्द्‌या डुक्पाले भनिन्, “दिसम्बर महिनामा शीतकालीन सत्र सुरु हुँदैछ । यसपटक हामीले हाम्रो कार्यक्रममा केही परिवर्तन गरी गोर्खाल्यान्ड गठनका लागि केन्द्र सरकारमाथि थप चाप दिन गोर्खा नेसनल एसेम्ब्ली गर्ने निधो गरेका छौँ ।”

डुक्पाका अनुसार गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले स्थापनाकालदेखि नै सर्वभारतीय स्तरका गोर्खाहरूका सङ्घ- संस्थाका प्रतिनिधिहरूलाई भेला गरी राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्ने सोच र उद्देश्य राखेको, त्यही सोच र उद्देश्यको प्रतिफल हो, २२ र २३नोभेम्बरको गोर्खा नेसनल एसेम्ब्ली ।

यसैबिच, गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले दुई दिनअघि नयाँ दिल्लीमा भएको बम विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।

उल्लेखनीय छ, गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले स्थापनाकालदेखि नै निरन्तर कार्यक्रम गरी छुट्टै राज्य गोर्खाल्यान्ड गठनको मागलाई चर्को बनाउँदै आइरहेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here