खरसाङ, 13 जनवरी : ईसाई लेखकहरूद्वारा गठित स्रष्टा सङ्गमले आदि पत्रकार गङ्गा प्रसाद प्रधानमा स्मरणमा र्याली तथा साहित्यिक/संवर्द्धना कार्यक्रम आयोजन गर्यो। यो कार्यक्रम सिक्किमको रम्फूमा आयोजन गरिएको थियो।
दुई दिनसम्म चलेको साहित्यिक कार्यक्रमको दोस्रो दिन पादरी गङ्गा प्रसाद प्रधानको स्मरणमा र्याली निकालिएको थियो। यो र्याली रम्फूको ईपी भवनबाट शुरु भएको थियो भने रम्फू बजार परिक्रमा गरी कार्यक्रमस्थलमा आएर टुङ्गिएको थियो। र्यालीमा सिक्किम, दार्जीलिङ, कालेबुङ, सिलगढ़ीलगायत डुवर्सका स्रष्टाहरू उपस्थित थिए।
यो र्याली टुङ्गिएपछि ईपी भवनमा नै पादरी गङ्गा स्मृति कार्यक्रम आयोजन गरियो, जुन कार्यक्रम पास्टर कालेप गजमेरको प्रार्थना र एल्डर पत्रुस गुरुङको स्वागत सम्भाषणपछि शुरु भएको थियो। यसैअवसरमा पादरी गङ्गा प्रसाद प्रधानको जीवनी र उनको योगदानमाथि पहिलोपल्ट पुस्तक लेख्ने वरिष्ठ साहित्यकार सलोन कार्थकलाई उनको सम्पूर्ण साहित्यिक योगदानको कदर गर्दै संवर्द्धना जनाइयो।
साहित्यकार सलोन कार्थकलाई कार्यक्रमका प्रमुख अतिथि डा. एडोन रोङगोङ्ग, विशिष्ट अतिथिद्वय डा. बीडी राई र डा. छत्र सुब्बा पावल तथा कार्यक्रमका अध्यक्ष क्यामुना प्रधानको बाहुलीबाट खदार्पण, शाल ओढ़ाएर संवर्द्धना-पत्र अर्पण गरी संवर्द्धना जनाइएको थियो। उनलाई अर्पण गरिएको संवर्द्धना पत्र कथाकार सन्ध्या आचार्यले पठन गरेकी थिइन् भने जीवनी स्रष्टा सङ्गमका सचिव हनोक थापाले पठन गरे।
कार्यक्रममा संवर्द्धित साहित्यकार सलोन कार्थकले पादरी गङ्गा प्रसाद प्रधानको योगदान वार्ता प्रस्तुत गरेका थिए। आफ्नो वार्ता राख्दै साहित्यकार कार्थकले भने, “गोर्खा जातिको अस्तित्व र पहिचानमाथि अघिबाट नै पादरी गङ्गा प्रसाद प्रधानले अघिबाटै सोचेर चेतना दिने कार्य गरेका थिए। उनी निष्ठावान पत्रकार, सम्पादक, पाठ्य पुस्तक लेखक, विज्ञापनदाता, प्रकाशक, संवाददाता पनि थिए।”
पत्रकारिता विषयको पढ़ाइमा गोर्खे खबर कागतलाई पनि विषय सूचीमा राख्न सकिने उनको भनाइ थियो। आफ्नो कुरालाई जोड़ दिन उनले गोर्खे खबर कागतमा त्यसताक प्रकाशित केही समाचारलाई उदाहरणको रूपमा पढ़ेर सुनाए।
कार्यक्रममा पादरीद्वारा लिखित गीत प्रस्तुत गरिएको थियो भने उनको जीवनीमाथि लेखिएको गीतमा आसना र भीमले नृत्य प्रस्तुत गरे। साथै यसअवसरमा गायिका प्रिसकिला सुवार र नानीहरूले गीत प्रस्तुत गरे।
कार्यक्रममा मुख्य अतिथि डा. एडोन रोङगोङ्गले पादरी गङ्गाप्रसाद प्रधान जातिलाई माया गर्ने र शिक्षाको माध्यमबाट जातिको उत्थान गर्न चाहने व्यक्ति रहेको बताए। कार्यक्रमलाई हनोक थापाले सञ्चालन गरेका थिए भने धन्यबाद ज्ञापन इम्मानुएल गिफ्टले राखेका थिए।
यसैगरी पहिलो दिन कथाकार क्यामुना प्रधानको कथा सङ्ग्रह फ्लाइओभर र हनोक थापाद्वारा सम्पादित दृष्टि पत्रिकाको लोकार्पण, स्रष्टा स्व. गहर उदासीलाई संवर्द्धना, वार्तालगायत रचना पाठ कार्यक्रम राखिएको थियो। पहिलो दिनको कार्यक्रमलाई वरिष्ठ साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए।