शहीद जीवन गुरुङलाई विमलले दिए श्रद्धाञ्जली, भने – राष्ट्र प्रेम गोर्खाको धर्म

0
4706
शहीद जीवन गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 13 दिसम्बर : शुक्रवार जम्मू-कश्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा आतङ्की हमलामा परी शहीद भएका लोअर लामाहट्टा सिग्रीताम बस्ती निवासी जीवन गुरुङप्रति गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले श्रद्धाञ्जली अर्पण गरेका छन्। शनिवार एक प्रेस विज्ञप्ति जारी गरी उनले शहीद जीवन गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्नका साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

गुरुङले विज्ञप्तिमा लेखेका छन्, “राष्ट्र प्रेम गोर्खाको धर्म हो। राष्ट्र सुरक्षा गोर्खाको कर्तव्य हो। गोर्खाले एकातिर आफ्नो देशको सुरक्षामा प्राणको आहुति दिइरहेको छ अनि अर्कोतिर आफ्नै देशभित्र चारकुने आँगनका लागि, माटोका लागि अनन्त सङ्घर्ष गरिरहेको छ। मानौं गोर्खा भनेको सङ्घर्ष र आहुतिको अर्को नाम हो।” उनले आफू नेटवर्क क्षेत्रदेखि टाढ़ामा रहेकोले यो दुःखद खबर आइतवार मात्र थाहा पाएको पनि बताएका छन्।

“शहीद जीवन गुरुङको परिवारले यो दुःखको घड़ीमा सहन शक्ति प्राप्त गरून् भन्दै म गोर्खा जनमुक्ति मोर्चा र देशका सम्पूर्ण गोर्खाको पक्षमा हार्दिक समवेदना प्रकट गर्दछु साथै शहीदको आत्माले चिर-शान्ति प्राप्त गरून् भनी प्रार्थना पनि गर्दछु”, विज्ञप्तिमा उनले थप लेखेका छन्, “कतै हामी देशको सीमानामा देशका लागि शहीद बनिरहेका छौं। कतै हामी देशभित्रै माटोका लागि पुलिसको गोलीले पनि शहीद नै बनिरहेका छौं। म ईश्वरसमक्ष प्रार्थना गर्दछु, यी दुवै प्रकारका शहीदले न्याय प्राप्त गर्न सकून्। उनीहरूले वैकुण्ठवास गरून्।”

उल्लेखनीय छ, शहीद जीवन गुरुङको पार्थिव शरीर आइतवार सेनाको विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुर्‍याइएको थियो भने त्यसपछि सड़क मार्ग हुँदै लामाहट्टा लगियो। भोलि सैनिक सम्मानसहित अन्तिम संस्कार गरिनेछ। यसअवसरमा सेनाका उच्चाधिकारीलगायत अन्य उपस्थित रहने जानकारी पाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here