गोरामुमोले गोर्खा जातिको भलाइ कहिले चिताउँदैन : सन्दीप छेत्री

0
1606
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सन्दीप छेत्री र अन्य।

दार्जीलिङ, 13 मार्च : विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -का नेता नीरज जिम्बाको बयानलाई तीखो शब्दमा निन्दा गरेको छ। साथै मोर्चाले जिम्बाले आफ्नो पार्टी गोरामुमोको इतिहास हेर्ने सुझाउ दिएको छ।

मङ्गलबार नीरज जिम्बाले तृणमूल उम्मेदवार अमरसिंह राईमाथि दिएको बयानमाथि तीखो शब्दमा निन्दा गर्दै  गोजमुमो दार्जीलिङ महकुमा समितिका प्रवक्ता सन्दीप छेत्रीले  बुधवार यस्तो सुझाउ दिएका हुन्।

उल्लेखनीय छ, विनयपन्थी गोजमुमोका विधायक अमरसिंह राई तृणमूल कङ्ग्रेसको उम्मेदवार बनेपछि जिम्बाले गोरामुमोको पक्षमा प्रतिक्रिया व्यक्त गर्दै राईलाई ‘रङ बनेर बाघ बनेको स्याल’-को संज्ञा दिँदै ‘भूमिपुत्र नामका ‘छली’ अमरसिंह राईलाई पराजित गर्ने दार्जीलिङ पहाड़वासीलाई आह्वान गरेका थिए।

गोरामुमो नेता जिम्बाको यो बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै छेत्रीले भने, “गोरामुमोले आफ्नो इतिहास बिर्सिएको छ। तृणमूल कङ्ग्रेसले सन् 2014-मा भाइचुङ भोटियालाई दार्जीलिङ लोकसभा क्षेत्रबाट उम्मेदवार बनाउँदा गोरामुमोले समर्थन गरेको थियो। साथै नगरपालिका चुनाउमा पनि गोरामुमोले तृणमूल कङ्ग्रेसलाई समर्थन गरेको हो। गोरामुमोले आफ्नो इतिहास हेर्ने म सुझाउ दिन्छु।”

उनले थपे भने, “सन् 2017 को आन्दोलनमा शान्ति र लोकतन्त्रको बहालीको माग गर्दै राज्य सरकारलाई चिट्ठी लेख्ने गोरामुमो नै हो।”

छेत्रीले गोरामुमोलाई ‘कोइला’-सँग तुलना गर्दै कोइलालाई जति नै धुँदा पनि कालो  नै रहेझैं गोरामुमो पनि त्यस्तै रहने बताए।

“आफ्नै सुरुवालको ‘इजर’ फुस्केको छ भन्दैमा गोरामुमोले अरुलाई ‘इजर कस’ भन्न सक्दैन”, सन्दीप छेत्रीले भने। विगतमा गोरामुमोले कङ्ग्रेसका इन्दरजीत खुल्लर र माकपालाई पनि बाइपास गरेर सांसद बनाइ पठाएको स्मरण गराए।

उनले भने, “गोरामुमोले हामीमाथि टिकाटिप्पणी गर्दा कुनै फरक पर्दैन। गोरामुमो हाम्रा लागि कुनै फ्याक्टर होइन। अहिले पहाड़को राजनीतिमा हेर्नु हो भने गोरामुमो अस्ताइसकेको घाम हो।  2007 मा नै हामीले गोरामुमोलाई  लगभग तुरिदिएका हौं। गोरामुमो अलिअलि निभ्नअघि टिपटिप बल्दै गरेको जस्तो हो। साँपको टाउको कुच्चाएर मार्दा पनि केही क्षण पुच्छार हल्लाउने गर्छ। अहिले गोरामुमोले पनि पुच्छार हल्लाउने गर्दैछ।”

विनयपन्थी गोजमुमोका नेता छेत्रीले गोरामुमोले कहिले गोर्खा जातिको भलाइ नचिताएको आरोप लगाए।

“गोर्खा जातिले जहिलै पनि कुनै माग गर्थ्यो, त्यो मागलाई गोरामुमोले ध्वस्त बनाउने काम गर्‍यो”, छेत्रीले आरोप लगाए, “जीटीएको चौकीमा राल चुहाएर सन् 2017 -को आन्दोलन चरममा हुँदा गोरामुमोले राज्य सरकारलाई चिट्ठी लेखेको हो। चिट्ठी लेख्ने अरू कोही होइन, गोरामुमो हो।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here