कुणाल प्रधानकी पत्नीको दाबी- ‘मेरा पतिलाई चलाएको गोलीले दुई निर्दोष मानिसलाई लागेको हो’

0
1372
रिमा प्रधान।

कालेबुङ, १२ मार्चः पछिल्लो १० मार्चका दिन मल्ली बजारमा भएको गोलीकाण्डलाई कुणाल प्रधानकी पत्नी रिमा प्रधानले पूर्वनियोजित (प्रि-प्लान) बताएकी छन्।

घटनाको दुई दिनपछि आज एक भिडियो जारी गरी आफ्ना पतिलाई अरूले नै हिर्काएको गोलीले दुईजना निर्दोषलाई गोली लागेको रिमा प्रधानले दाबी गरेकी छन्।

उनको दाबीका अनुसार त्यसदिन आफ्ना पतिलाई नारी मोर्चाको सभामा बोलाइएकै कारण मल्ली गएका हुन्।

सभा सकेर निस्किँदा होलीको रङ दलेर बसेका केटाहरूले उल्टै आफ्ना पतिमाथि हमला गरेको प्रधानको दाबी छ।

उनको दाबीका अनुसार ती केटाहरूले खुकुरी, रडहरू बोकेर दागा धरेर त्यहाँ बसेका थिए।

‘‘मेरा पति भाग्दा अचानक गोली कहाँबाट चल्यो, खासमा त्यो गोली कुणाल प्रधानलाई चलाएको हो। तर उनलाई नलागेर दुईजना निर्दोष मानिसलाई लाग्यो’’, पत्नी रिमा प्रधानको दाबी छ।

आफ्नो दाबीलाई पुष्टि गर्नका लागि उनले उक्त गोलीकाण्डमा घाइते भएका पेम्पा तामाङको बयानलाई अघि सारेकी छन्।

भिडियो घाइते पेम्पा तामाङले आफूलाई लागेको गोली कहाँबाट र कसले चलाएको त्यो देखिनँ भनेको प्रधानको दाबी छ।

‘‘तब कसरी भन्नसक्छ, त्यो गोली कुणाल प्रधानले नै चलाएको हो? आखिर कुणाल प्रधान त्यहाँ छँदै छैन। कुणाल प्रधान भागिरहेका छन्’’, उनले थप भनेकी छन्, ‘’अर्कोतिर गाड़ीको भिडियो छ। त्यो गाड़ीमा कोही छैनन्। गाड़ी तोड़फोड़ गरिएको छ। तर गाड़ीभित्र हतियार देखाइरहेको छ। गाड़ीमा हतियार थियो भने मल्लीका ती दुईजनालाई चाहिँ कुन हतियारले लागेको हो?’’

यसका साथै गाड़ीमा भएका हातहतियार आफ्ना पतिको होइन भन्ने उनको दाबी छ।

अर्कोतिर, कुणाल प्रधानकी पत्नी रिमा प्रधानले घटनाको जाँच गरी सत्य कुरा अघि ल्याउनका लागि पुलिस प्रशासनसमक्ष गुहार लगाएकी छन्। साथै उनले उक्त घटनापछि आफ्ना पति बेपत्ता बनेको बताउँदा सत्य कुरा अघि ल्याउनका लागि गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङसँग पनि अनुरोध गरेकी छन्।

१० मार्चका दिन अपराह्न ४ बजे मल्ली बजारमा भएको गोलीकाण्डमा मुख्य आरोपीको रूपमा कालेबुङ नगरपालिका वार्ड नम्बर-१ का नगरपार्षद् कुणाल प्रधान मानिएका छन्।

अर्कोतिर, त्यसदिन फाइरिङ गर्दै कुणाल प्रधान भागिरहेको मल्ली बजारको एक घरमा रहेको सीसीटिभी फुटेजमा कैद भएका छन्, जुन सीसीटिभी फुटेज सोशल मिडियामा भाइरल छ। यसप्रति भने रिमा प्रधानले कुनै प्रकारको स्पष्टीकरण दिएकी छैनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here