सिलगढ़ी, 12 मार्चः दार्जीलिङ पहाड़बाट गुण्डागर्दीलाई जरैबाट उखेल्नुपर्ने जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए)-का अध्यक्ष अनित थापाले बताएका छन्।
पछिल्लो 10 मार्चका दिन मल्ली बजारमा भएको गोलीकाण्डमा घाइते भएका पुरण मगर हेर्न बिहीवार सिलगढ़ीस्थित निवेदिता नर्सिङ होम पुगेका थापाले यस्तो बयान दिएका हुन्।
“म यस्तै गुण्डागर्दीकै विरोध गरेर अघि निस्केको हुँ। मेरा पार्टीका नेताले मात्र होइन, तर मेरा आफ्नै भाइले पनि यस्तो गरे सहन गर्दिनँ”, अनितले थपे, “म पहाड़बाट गुण्डागर्दीलाई जरासँगै मेटाउन चाहन्छु। जुन दिन घटनाबारे थाह पाए, त्यसैदेखि हाम्रो पार्टीका अध्यक्ष विनय तामाङसँग सल्लाह गरी पार्टीबाट निष्कासित गरिहाल्यौं।”
यसका साथै घटनाकै दिन आफूले तत्कालै पुलिस अधीक्षकलाई फोन गरी कुणाल प्रधान र साथीहरूलाई पक्राउ गरिहाल्नु पर्छ भनेर बात गरेको उनले बताए। थापाका अनुसार बुधवार पनि उनले पुलिस अधीक्षकसँग बात गरेका छन्।
“कुणाल प्रधान जहाँ पनि, खोजेर निकाल्नु पर्छ। मैले मेरो सोर्स पनि लगाइरहेको छु। यस्तो कुरामा मेरो भाइ हो भने पनि म समर्थन गर्दिनँ”, उनले थपे।
यसैबीच, पुलिस प्रशासनलाई यदि कुनै मानिससँग हात हतियार रहेको शङ्का रहेमा खुल्ला प्रकार छानबिन गर्नुपर्ने पनि जीटीए बीओएका अध्यक्ष एवं विनयपन्थी मोर्चाका महासचिव अनित थापाले बताए।
अर्कोतिर उनले मल्ली गोलीकाण्डलाई रेलवेका काममा नमिलेर दुई-तीनवटा समूहमा भएको झगड़ा हुनसक्ने बताए। किनभने अहिले हाइवे क्षेत्रमा रेलवेका विभिन्न काम चलिरहेको उनले बताए।
यसैगरी उनले घाइते पुरण मगरको स्वास्थ्यबारे जानकारी लिनका साथै परिवारसँग पनि कुराकानी गरेका थिए। साथै डाक्टरसँग पनि कुराकानी गरी थापाले पुरण मगरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।