दार्जीलिङ, 13 मार्चः मल्ली गोलीकाण्डलाई लिएर गोरामुमोले विनय तामाङपन्थी गोजमुमोमाथि तीखो शब्दमा कटाक्ष गरेको छ।
आज गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका महासचिव सन्दीप लिम्बूले पत्रकारहरूलाई सम्बोधन गर्दै विनयपन्थी मोर्चामाथि कटाक्ष गरेका हुन्।
यसका साथै उनले मल्ली गोलीकाण्डका मुख्य आरोपीलाई पक्राउ गरी कठोर सजाय दिनुपर्ने कालेबुङका पुलिस अधीक्षक र जिल्ला प्रशासनसमक्ष माग गरेका छन्।
यति मात्र होइन, कालेबुङ पुलिसले मल्लीवासीलाई सुरक्षा दिनुपर्ने माग पनि उनले गरेका छन्। ताकि आउँदा दिन यस्ता घटनाहरू त्यहाँ नघटोस्।
गोरामुमो पार्टीको तर्फबाट मल्ली गोलीकाण्डको घोर विरोध जनाउँदै उनले भने, “मुख्य आरोपीलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कानुनी कारबाही गरेर पहाड़मा गुण्डाराज होइन तर, लोकतन्त्र बाँचेको छ भन्ने स्पष्ट सन्देश जनतालाई दिनुपर्छ।”
यसैगरी, गोरामुमो ब्राञ्च कमिटीका महासचिवले अबउसो गोरामुमोले पहाड़मा कुनै पनि राजनीतिक दललाई गुण्डाराज चलाउन नदिने दाबी गरे।
यसअवसरमा लिम्बूले विनयपन्थी मोर्चाको ‘नयाँ सोच, नयाँ विचार’-को नारामाथि कटाक्ष गर्दै भने, “जुन राजनीतिक दलले हाम्रो नयाँ सोच र नयाँ विचार देखेर पहाड़का जनताले हामीलाई समर्थन गर्दैछ भनी ढोल पिटिरहेको थियो, त्यो कुरा झूटो र आडम्बरी रहेको कुरा मल्लीको घटनाले उदाङ्गो पारेको छ।”
उनले थपे, “म जीटीए चिफ अनित थापा र गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङलाई प्रश्न गर्न चाहन्छु-के तपाईंहरूको नयाँ सोच र नयाँ विचार भनेको जनतालाई गोली पड़्काउने हो? तपाईंहरूले दार्जीलिङ पहाड़मा परिवर्तन ल्याउँछु भनेको यस्तै हो?”
महासचिव लिम्बूले उक्त गोलीकाण्डका मुख्य आरोपी गोजमुमो दोस्रो खेमासँग संलग्न व्यक्ति हुनु र घटनाको एक घण्टाभित्र जुन प्रकारले ती व्यक्तिलाई निष्कासित गरियो, त्यसमा गोरामुमोलाई षड़यन्त्र भएको गन्ध आइरहेको पनि बताए।
यसैबीच, राजनीतिक पार्टीले जनताका सुरक्षा लागि राजनीति गर्नुपर्ने बताउँदै मल्लीकाण्डले गोरामुमोको ब्ल्याकमेलिङ राजनीतिलाई समेत उदाङ्गो पारेको उनको दाबी छ।
“आज गोजमुमो दोस्रो खेमाले राजनीति होइन तर, ब्ल्याकमेलिङ गरिरहेको छ। बाटो बनाइदिन्छु, यो बनाइदिन्छु, त्यो बनाइदिन्छु भनेर जनतालाई प्रलोभन देखाएर ढाकछोप गर्ने कार्य गर्दै थियो, आज त्यो उदाङ्गो भएको छ’’, उनले भने।
अर्कोतिर, सन्दीप लिम्बूले राजु विष्ट र नीरज जिम्बालाई दिएको जनमत सही रहेको तथा राजु विष्टले दार्जीलिङ पहाड़का लागि कार्य गरिरहेको बताए।
यसका साथै उनले गोरामुमो पार्टी आज पनि पहाड़को स्थायी राजनीतिक समाधानको कटिबद्ध रहेको दाबी पनि गरे।
उल्लेखनीय छ, आज गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको एक सभा बसिएको थियो। दार्जीलिङ महकुमाअधीनस्थ 13 वटा समष्टि कमिटीका प्रतिनिधिहरूलाई लिएर बसिएको उक्त बैठकमा लिगल सेल गठन गरिएको पनि लिम्बूले जानकारीका गराएका छन्।
उनका अनुसार गोरामुमो पार्टी र यसका समर्थकहरूमाथि आइपर्ने कानुनी समस्याहरूको समाधानका लागि लिगल सेल गठन गरिएको हो।
ब्राञ्च अध्यक्ष अजय एड्वर्डको अध्यक्षतामा बसिएको सभामा महासचिव सन्दीप लिम्बू, एमजे सुब्बा र कार्यकारी अध्यक्ष किशोर गुरुङको पनि विशेष उपस्थिति रहेको बताइएको छ।