विनयपन्थी मोर्चाको भूतपूर्व सैनिक सङ्गठन गठन

0
913

दार्जीलिङ, 13 मार्चः विनय तामाङपन्थी गोजमुमोले शुक्रवार भातृ सङ्गठनको रूपमा भूतपूर्व सैनिक सङ्गठन गठन गर्ने घोषणा गरेको छ, जुन सङ्गठनको केन्द्रिय समिति चाँड़ै गठन गरिने बताइएको छ।

समितिका लागि सेवानिवृत्त कर्नल केशव राईलाई संयोजकको पदमा नियुक्त गरिएको आज गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले घोषणा गरे।

भूतपूर्व सैनिक सङ्गठन हालसम्म विनय तामाङपन्थी गोजमुमोले गठन गरेको थिएन, तर आज भूतपूर्व सैनिक सङ्गठन गठनको घोषणासँगै विनयपन्थी मोर्चामा भ्रातृ सङ्गठनको सङ्ख्या 24 पुगेको छ, जसमा खुशी व्यक्त गर्दै तामाङले आजदेखि विनय तामाङपन्थी गोजमुमो पूर्ण बनेको पनि बताए।

आज 112 जना भूतपूर्व सैनिकको उपस्थितिमा आयोजन गरिएको एक सभाबीचै तामाङले गोजमुमोको भूतपूर्व सैनिक सङ्गठनको पनि गठन भएको घोषणा गरेका हुन्।

स्थानीय एक होटलमा आयोजित सभामा उपस्थित भूतपूर्व सैनिकहरूलाई सम्बोधन गर्दै उनले भने, “गोजमुमोमा आजसम्म 23 वटा भ्रातृ सङ्गठन थिए, तरै पनि यो पार्टी अधुरो नै थियो। तर, आज भूतपूर्व सैनिक सङ्गठनको गठनपछि यो पार्टी पूर्ण बनेको छ।”

यसैबीच, तामाङले भूतपूर्व सैनिक सङ्गठनमा संयोजक नियुक्त भएका कर्नल राईलाई जीटीए अध्यक्ष अनित थापाको कार्यकारी सल्लाहकार कमिटीमा पनि राख्न पनि अपील गरेका छन्।

उनले सभालाई सम्बोधन गर्दै थप भने, “हाल गोजमुमोको मूल उद्देश्य र लक्ष्य भूमिहीनहरूलाई जमिनको मालिकाना अधिकार दिलाउनु हो, जसका लागि पार्टीले राज्य सरकारसँग कूटनीतिक रूपमा सम्बन्ध कायम गरी उचित कार्य गरिरहेको छ। तर अन्य पार्टीका नेताहरूले अझैसम्म पनि दिल्ली गएर गोर्खाल्याण्डकै लागि ज्ञापन दिने कार्य गरिरहेका छन्।”

उनले भने, “हामीले छुट्टै राज्य गोर्खाल्याण्डको माग गरेको अनि यसका लागि ज्ञापन दिएको 80-को दशकदेखि हो। तर, आजसम्म पनि यसै मागका लागि ज्ञापन दिने कार्य जारी रहेको छ। हामीले यसै मागका लागि भाजपालाई सहयोग गर्‍यौं, तीनपल्ट संसद चुनाउमा सांसद चयन गरी पठायौं, तर यसको फल केही पाउन सकिएको छैन। दिनेहरू मुट्ठी बन्द गरेर बसेका छन्। यसैले हामीले यथार्थको राजनीति गरिरहेका छौं, जसको सहयोगमा दार्जीलिङ पहाड़मा धेरै विकासका कार्यहरू पनि भइरहेका छन्।”

यसका साथै विनयले 11 वटा जातलाई जनजातिको मर्यादासम्म दिन नचाहने पार्टीले छुट्टै  राज्य गोर्खाल्याण्ड दिन्छ? भन्ने प्रश्न गर्दै भाजपामाथि कटाक्ष गरे।

यस सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै भूतपूर्व सैनिक सङ्गठनका संयोजक कर्नल राईले विनय तामाङपन्थी गोजमुमोमा बसेर भूतपूर्व सैनिक परिवारहरूका लागि पनि धेरै कार्य गर्न सकिने बताए।

उनले भने, “आजको बैठकमा हामी 112 जना भूतपूर्व सैनिक यहाँ भेला भएका थियौं। तर, आगामी दिनमा धेरै भूतपूर्व सैनिक हामीसित जोड़िनेछन्। किनभने, हिजोसम्म हामी आफै अन्योलमा थियौं, यसैले आजको बैठकमा आउन चाहने धेरैलाई हामीले रोकेर राख्न बाध्य बन्यौं।”

तर आजको बैठकमा पार्टीको सोच-विचार स्पष्ट भएपछि यसै मञ्चमा बसेर जाति र पहाड़का लागि धेरै कार्य गर्न सकिने आशा देखिएको पनि उनले बताए।

 गत वर्षसम्म जिल्ला सैनिक बोर्डका अध्यक्ष पदमा रहेका कर्नल राईले हाल दार्जीलिङ र कालेबुङ जिल्लामा 30 हजार जति भूतपूर्व सैनिक रहेको पनि जानकारी गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here