दार्जीलिङ, १३ मार्चः केही दिनअघि भारतीय जनता पार्टीमा सामेल भएकी शारदा राई सुब्बाले क्षेत्रीय पार्टीका उम्मेदवारलाई भोट दिनु आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै मूर्खता हुने बताएकी छन्।
हिजो दार्जीलिङ टाउन मण्डल कमिटी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
“गोर्खा जातिका दुइवटा मुद्दा भाजपाको सङ्कल्प-पत्रमा छ। त्यो मुद्दाबाहेक अरू कुनै कुराले पनि अब गोर्खा जातिलाई पार लगाउन सक्दैन”, सुब्बाले थपिन्, “यो मुद्दाको छिनोफानो कलकत्ताको पार्टीले गर्न सक्दैन। कलकत्ताको पार्टीलाई जिताउनका लागि क्षेत्रीय उम्मेदवार भोट दिनु आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तो मूर्खता हुनेछ।”
उनका अनुसार जीटीएको चौकीसम्मका लागि सोच्ने राजनीतिकै कारण २०१७-को आन्दोलन विफल भएको हो। यस्तै राजनीतिका कारण शिर झुकाएर कलकत्तामा आत्मसमर्पण गरे।
“अब फेरि जीटीए ताकेरै भोट दिएमा स्थायी राजनीतिक समाधानजस्तो मुद्दा सधैँका लागि हराउनेछ”, शारदा राई सुब्बाले भनिन्।
दार्जीलिङ नगरपालिकाका ३२ वटै वार्डका पार्टी कार्यकर्ताहरूलाई लिएर बसिएको सभामा विक्रम मुखियालाई दार्जीलिङ टाउन भाजपा युवा मोर्चा सभापति, श्रीमती निलिमा थापालाई महिला मोर्चा सभानेत्री र अजय शङ्करलाई अनुसूचित जाति मोर्चाका सभापति चयन गरियो।