गान्तोक, १३ मार्चः सिक्किम विधान चुनाउको मिति जति जति नजिकिँदै जाँदैछ, उति उति दल परिवर्तनका घटना पनि बाक्लिँदैछ।
नयाँ घटनाक्रम अनुसार हिजो राज्यको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-बाट राजीनामा दिएका पूर्व मन्त्री गिरीशचन्द्र राई आज भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भएका छन्।
उनीसँगै कबी-लुङ्चोकका पूर्व विधायक उगेन नेडुप भोटिया लगायत अन्य पनि भाजपामा सामेल भएका छन्।
भाजपाले भनेको छ – आज पार्टीमा सामेल हुनेहरूका सङ्ख्या ४९८ रहेको छ।
आज सिङ्ताममा आयोजित एक कार्यक्रमबिच भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापा र सिक्किम राज्य प्रभारी दिलीप जयसवालका हातबाट उनीहरूले भाजपाको झण्डा समाएका हुन्।