नयाँ भिडियो जारी गर्दै विमलले भने -गोर्खाल्याण्डलाई मास्न विनय-अनितले साम दाम दण्ड भेदको राजनीति गर्दैछन्

0
1181
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, १३ अप्रेल : पछिल्ला केही दिनयता लगातार भिडियो क्लिप जारी गरिरहेका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले शनिबार पुनः नयाँ भिडियो क्लिप जारी गरेका छन्।

बङ्गाल सरकारले गरिरहेको अन्याय-अत्याचार र डर धम्कीको उचित जवाफ दिन आगामी १८ अप्रेलको दिन सम्पूर्ण पहाड़वासीलाई भाजपा उम्मेद्वार राजु विष्टलाई भोट दिने अपील पनि उनले भिडियो क्लिपमा गरेका छन्।

‘आज पहाड़मा एकदमै अगणतान्त्रिक कार्य हुँदैछ’, उनले थपे, ‘१८ अप्रेलमा भोट सकेपछि पुलिस प्रशासन लगाएर कारबाही गर्ने धम्की जग्गा जग्गा, ठाउँ-ठाउँमा दिइँदैछ, तर यो सन्त्रासको राजनीति अब धेर दिन चल्दैन।’

विमलका अनुसार जातीय हित र अस्तित्व तथा पहाड़का ११ जातगोष्ठीलाई जनजातिको मान्यता, पहाड़को स्थायी राजनीतिक समाधान अनि चियाकमानको न्यूनतम रोज वृद्धि लागू आदि मुद्दाका लागि यसपटक पहाड़वासीले एकजुट भएर भाजपाका उम्मेद्वार राजु विष्टलाई  भोट हाल्न पर्नेछ।

उनले आजको दिनमा पहाड़वासी बङ्गाल सरकार र विनय-अनितको अगणतान्त्रिक राजनीतिकको कारण त्राही त्राही भएर बाँच्न परिरहेको पनि बताएका छन्। ‘तर जनताले यी सबै कुरा बुझिसकेका छन्। आगामी १८  अप्रेलको दिन यसको जवाफ जनताले पक्कै दिनेछन्। सबै कुरा स्पष्ट देखाइदिनेछन्’, गुरुङले शनिबार जारी भिडियो क्लिपमा भनेका छन्।

उनले थप भनेका छन्, ‘पुलिसको डर देखाएर, विभिन्न प्रकारको अड़चन सिर्जना गरेर, पैसामा किन्ने प्रयास गरेर, जाति र शहीदको रगतलाई बेचेर जुन राजनीति गरिँदैछ, ती सम्पूर्ण कुरालाई बुझेर पहाड़वासीले १८ अप्रेलको दिन ओठे जवाफ दिनपर्नेछ। किनभने अहिले दार्जीलिङ पहाड़को यस्तो अवस्था छ, त्यसले पहाड़वासीको गणतान्त्रिक अधिकार खोसेको छ। हाम्रा सम्पूर्ण आमा-बाबाहरू, कमान-बस्तीका शहर-बजारका सम्पूर्ण चियाकमान र सिन्कोना बगानका दाजु-भाइ दिदी-बहिनीहरूको इच्छा र आकांक्षालाई डावाडोल पारेर तृणमूल कङ्ग्रेस र विनय-अनित खेमाले राजनीति गरिरहेको छ।’

बिहीबार दार्जीलिङको चोकबजारबाट बङ्गालकी मुख्यमन्त्रीले पहाड़का सम्पूर्ण चियाकमानका श्रमिकहरूलाई बन्दाअवधिको क्षतिपूर्तिस्वरूप १५,००  रुपियाँ दिने जुन घोषणा गरिन्, त्यसलाई गुरुङले चुनाउ आचारसंहिताको उल्लङ्घन बताएका छन्।

गुरुङका अनुसार चुनाउ आउँदा मात्र दार्जीलिङ पहाड़का मानिसहरूका लागि बङ्गाल सरकार बोल्ने गर्छ। चुनाउ आउँदा मात्र बङ्गाल सरकारले विभिन्न कुरा गरिदिने आश्वासन दिन्छ। उनको आरोपका अनुसार तृणमूल कङ्ग्रेस र विनय-अनित गुटले बेरोजगार शिक्षित युवाहरूलाई राजनीतिक रूपमा प्रयोग गर्न डर धम्की र लोभ देखाइरहेको छ।

‘मैले जीटीए चलाउँदा कहिल्यै अगणतान्त्रिक कार्य गरिनँ। कसैलाई डर देखाउने र भेदभाव गर्ने काम गरिनँ। सबैलाई माया गरेर घरको परिवारको रूपमा काम गरे। हो मैलेलाई पुऱ्याउन सकिनहोला, सबैलाई चाहेजस्तो कुरा दिन सकिन होला। किनभने हिजोको राजनीतिमा बङ्गालको कालो कानूनले हामीलाई कहिले जीटीए सुचारु चलाउन दिएन’, गुरुङले थपे, ‘जसरी आज खुल्ला रूपमा गोर्खाल्याण्डलाई मासेर आज विनय र अनित खेमाले जुन साम दाम दण्ड भेदको राजनीति गर्दैछ, त्यो सम्पूर्ण गोर्खाको इच्छा र आकांक्षालाई दबाउनका लागि हो।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here