सिलगढ़ी, १३ अप्रेल : भाजपाले धर्मलाई अघि लगाएर राजनीतिक फाइदा उठाउन खोजिरहेको राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले आरोप लगाएकी छन्।
यसका साथै उनले भाजपा कार्यकर्ताहरूले राम नवमीमा अस्त्र र्याली निकालेको भन्दै यस्तो र्यालीको तीखो शब्दमा निन्दा गरिन्।
तृणमूल सुप्रिमो ममताले शनिबार सिलगढ़ीस्थित बाघाजतिन पार्कमा आयोजित चुनावी जनसभालाई सम्बोधन गरिरहेकी थिइन्। यसअवसरमा दार्जीलिङ लोकसभा सीटका तृणमूल उम्मेदवार अमरसिंह राई पनि उपस्थित थिए।
“धर्मको प्रयोग गरी भाजपाले गलत रूपमा राजनीतिक फाइदा उठाइरहेको छ। जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको छ। भाजपाले धर्मलाई बङ्गालका मानिसहरूलाई विभाजन ल्याउने साधनको रूपमा प्रयोग गरिरहेको छ’’, ममताले थपिन्, “हामी यस्तो संस्कृतिलाई बङ्गालमा कहिल्यै स्वीकार गर्दैनौं। साथै हामी धर्मको नाममा हिंसालाई कहिले समर्थन गर्दैनौं, यस्तो घृणित राजनीतिको सधैँ प्रतिकार गर्छौं। यस्ता राजनीतिविरुद्ध लड़्नेछौं।”
लगभग एकघण्टा लामो आफ्नो सम्बोधनमा उनले माकपा र कङ्ग्रेसलाई भोट हालेर आफ्नो मताधिकार व्यर्थै खेरो नफ्याँक्ने सिलगढ़ीवासीलाई सुझाइन्। उनका अनुसार जनताले माकपा र कङ्ग्रेसलाई भोट हाल्नु भनेको आफ्नो बहुमूल्य भोट त्यसै खेरो फ्याँक्नु हो।
ममताले यी दुई दल राज्यको विकासमा अर्घेलो बनेको आरोप पनि लगाइन्।
ममताले राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)-लाई बङ्गालमा लागू हुन नदिने पनि स्पष्ट पारिन्। यसअवसरमा उनले सिलगढ़ीवासीलाई तृणमूल उम्मेदवार अमरसिंह राईको पक्षमा मतदान गरी विजयी बनाउने अपील पनि गरिन्।
“हामीले दार्जीलिङका अमरसिंह राईलाई भूमिपुत्र उम्मेदवार दार्जीलिङ लोकसभा सीटबाट खड़ा गरेका छौं”, तृणमूल सुप्रिमोले थपिन्, “तर भाजपाले दार्जीलिङका लागि मणिपुरबाट भाड़ामा उम्मेदवार ल्यायो। यसले स्पष्ट हुन्छ, भाजपाले दार्जीलिङबाट एकैजना उम्मेदवार पनि पाउन सकेन।”