दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधान भाजपाले गर्नेछः शाह

0
1439

दार्जीलिङ, १३ अप्रेल केन्द्रीय गृहमन्त्री अमित शाहले संविधानको आधारमा नै स्थायी राजनैतिक समाधान गर्ने योजना बनाएको आज दार्जीलिङबाट घोषणा गरे।

दार्जीलिङ पहाड़का तीनवटा विधानसभा आसनबाट खड़ा भएका भाजपा उम्मेदवार क्रमैले निरज जिम्बा, शुभ प्रधान अनि बीपी बजगाइँका लागि चुनाउ प्रचार गर्न आज दार्जीलिङ आइपुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले राज्यमा भाजपाको सरकार गठन भएको एक सप्ताहभित्र विगतमा भएका विभिन्न आन्दोलनको कारण दर्ता भएका सबै मुद्दा फिर्ता गर्ने पनि वचन दिए।

यति मात्रै होइन, उनले स्थायी राजनैतिक समाधानका लागि केन्द्र र राज्यका भाजपा सरकार मिलेर ठोस कार्य गर्ने बताउँदै यसका लागि कुनै आन्दोलन गर्न नपर्ने पनि बताए।

आज हेलिकप्टर सेवामार्फत दार्जीलिङको लेबोङ आइपुगेका शाहले लेबोङस्थित गोर्खा स्टेडियममा जनतालाई सम्बोधन गरे अनि करिब ३३ मिनटको भाषण प्रस्तुत गरेपछि उनी त्यहाँबाटै पुनः सिलगढ़ीतर्फ प्रस्थान गरे।

यहाँ आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै शाहले गोर्खा जाति र भाजपाको गठबन्धन भगवानले बनाएको दावी गर्दै यसलाई अझै दह्रो बनाउन आफू दार्जीलिङ पहाड़ आएको पनि बताए।

उनले हिजो कालेबुङमा चुनाउ प्रचार गरेपछि साँझपख सिलगढ़ीमा पनि प्रचार अभियान चलाएका थिए, जसपछि आज मध्याह्न १२ बजीतिर उनी दार्जीलिङ आइपुगेका थिए।

जनसभामा उपस्थित भाजपा साथै भाजपाका सहयोगी पार्टीहरूका समर्थकहरूलाई सम्बोधन गर्दै भने, “केन्द्र सरकारले गोर्खा जातिका ११ वटा जातगोष्ठीलाई अनुसूचित जनजातिको मर्यादा दिने प्रयास गरिरहेको छ, तर यसका लागि भएका बैठकहरूमा दिदी (ममता ब्यानर्जी) नै आउँदिनन्। अब राज्यबाट उनलाई हटाइयो भने यो समस्या पनि समाधान भएर जानेछ।”

एनआरसी (नेशनल रेजिस्टर अफ् सिटिजन्स)-को सन्दर्भ निकाल्दै गृहमन्त्री अमित शाहले भने, “राज्यमा एनआरसी लागू भएकै छैन, केवल यहाँका जनतालाई डर देखाएर भोट बटुल्नका लागि ममता ब्यानर्जीले यसप्रकारको अफवाह फैलाइरहेकी छन्। भविष्यमा एनआरसी लागू भएकै खण्डमा पनि गोर्खा यसबाट प्रभावित हुनैछैन। किनभने, गोर्खा अनुप्रवेशकारी हुनैसक्तैन। उनीहरू यहाँका खाँट्टी रेथाने हुन् अनि एनआरसीले उनीहरूलाई कुनै प्रभाव पार्नेछैन। नेपालीबाट आएका नेपाली होस् वा यहाँका रैथाने गोर्खा होस्, एनआरसीले उनीहरू कसैलाई पनि प्रभाव पार्दैन।”

यसरी नै उनले दार्जीलिङ पहाड़मा पञ्चायत चुनाउ नभएको धेरै वर्ष भइसकेको सम्बन्धमा पनि भने, “विगतमा जम्मू-कश्मीरमा पनि पञ्चायत चुनाउ हुँदैन थियो। तर, धारा ३७० हटिएपछि त्यहाँ पञ्चायत चुनाउ हुन थालेको छ। यसैले राज्यमा भाजपाको सरकार आएपछि दार्जीलिङ पहाड़मा पनि पञ्चायत चुनाउ हुनेछ।”

यसरी नै उनले दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिमा धाँधली भएको आरोप लगाउँदै राज्यमा भाजपाको सरकार गठन भएपछि एसआईटी गठन गरेर दोषीहरूलाई सजाय दिने चेताउनी दिए अनि सन् 1850-मा स्थापना भएको देशकै दोस्रो दार्जीलिङ नगरपालिकालाई नगरनिगम बनाउने पनि आश्‍वासन दिए। शाहले भने, “देशमा प्रथम नगरपालिका मद्रासमा स्थापना भएको थियो, त्यसपछि सन् 1850-मा दार्जीलिङ नगरपालिका बनिएको हो। देशमा नै प्रथमपल्ट बिजुली बत्तीको सुविधा पाउने दार्जीलिङ बिस्तारै विकासबाट पछि पर्न थालेको हो। यसैले राज्यमा भाजपाको सरकार गठन गर्नमा सहयोग गर्नुहोस्, दार्जीलिङ पहाड़का सम्पूर्ण समस्याको समाधान भएर जानेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here