कसैको घर जलाऊ भनेर मैले आदेश दिएको प्रमाणित गरे म राजनीति छोड़िदिन्छु: विमल

0
1340

मिरिक, १३ अप्रेलः पछिल्ला केही दिनयता विनयपन्थी मोर्चाका महासचिव अनित थापाले चुनावी जनसभाहरूमा ‘तपाईंहरूको भोट पहाड़ जलाउने/भत्काउनेलाई कि पहाड़ बनाउनेलाई’ भन्ने बयानलाई घरी घरी दोहोऱ्याइरहेका छन्। दुई दिनअघि अर्थात् ११ अप्रेलका दिन चेञ्च फर मिरिक, सेभ मिरिक-कार्यक्रमलाई पनि सम्बोधन गर्दै उनले यो बयानलाई दोहोऱ्याएका थिए।

आज मिरिकको जनसभाबाट थापाको यस्तो बयानमाथि विमल गुरुङले तीखो प्रतिक्रिया दिएका छन्। “२००७ देखि यता मैले गणतान्त्रिक आन्दोलन गरेर आएको हुँ। गणतान्त्रिक आन्दोलनमा मैले कसैको घर जलाऊ भनेर कसैलाई आदेश/निर्देश दिएको छु/ यस्तो भनेको छु म राजनीति छोड़िदिन्छु। मैले यस्तो कहिले पनि चाहिन”, गुरुङले थपे, “विमल गुरुङले जनान्दोलन तयार गर्दा कसैको घर जलाउने/ भत्काउने र कसैलाई मार्ने काम गरेनन्। जसले पनि तपाईंहरूका घर आँगनमा आएर यस्तो कुरा गर्दैछन्, उसले आफैलाई पनि राम्रोसँग सोध्न र बुझ्नपर्छ।”

विमलले थपे, “आज मदन तामाङको हत्याका आरोपीहरू विमल गुरुङको पार्टीको छ कि कुन पार्टीमा छ?, त्यो पहिला सोधीखोजी गर्नु अनि मात्र मलाई दोषारोपण गर्नु। जुन व्यक्तिले २०१७ मा मेरो छोरा-छोरीको भविष्य खाड़लमा हालिदिए, जुन व्यक्तिले शासन प्रणाली चलाउनका लागि कैयौँ भाइ-बहिनी, आमा-बाबाको घर डढ़ाइदिए/आगो सल्काइदिए, ती व्यक्तिहरूले आफ्नो स्वार्थका लागि केही हेरेका छैनन्।”

उनको आरोपका अनुसार अहिले पहाड़को जुन बिग्रिँदो अवस्था छ, त्यो विनय-अनितकै कारण भएको हो।

अर्कोतिर श्वास रहुञ्जेलसम्म कहिले पनि जातिलाई विश्वास नगर्ने दावीलाई विमल गुरुङले दोहोऱ्याएका छन्।

आज विमलपन्थी मोर्चा र हिल तृणमूल कङ्ग्रेसको संयुक्त तत्वावधानमा मिरिक बजारमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

जनसभा शुरू हुनअघि कृष्णनगरदेखि सभास्थलसम्म ऱ्याली निकालिएको थियो, जसमा सयौँ समर्थकहरूले भाग लिएका थिए।

सभालाई सम्बोधन गर्दै गुरुङले पहाड़का तीनवटै सिटमा आफ्नो पार्टीको जीत निश्चित रहेको पनि बताए। साथै उनले भाजपा, विनय तामाङ र अनित थापामाथि कटाक्ष गरे। साथै भाजपाले चुनाउ जित्नका लागि झूटा कुराहरू गरिरहेको पनि गुरुङले बताए।

गुरुङले मिरिकवासीलाई नर्बु जी. लामालाई भोट दिएर विजयी बनाउने अपील पनि गरे।

जनसभालाई सम्बोधन गर्दै हिल तृणमूल अध्यक्ष एलबी राईले पनि सम्बोधन गरेका थिए। यसअवसरमा विमलपन्थी मोर्चा र हिल तृणमूल कङ्ग्रेसका नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here